+
+
Shares

कलंकी ग्याङफाइट : सर्वोच्चको नजिर टेक्दै २१ जनाविरुद्ध ज्यान मुद्दा

अदालतमा ६ जनाविरुद्ध मात्रै लगिएको र आक्रमण गर्नेलाई मात्रै पहिचान गरेर मुद्दा चलाइएको थियो । तर आक्रमण नगरेको बताउँदै बयान दिएकाहरूविरुद्ध पनि मुद्दा चलाइएको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ वैशाख ७ गते १९:४०

७ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कलंकी खड्कागाउँमा अभय भनिने अबेबहादुर तामाङ हत्या प्रकरणमा २१ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको छ ।

प्रहरी वृत्त कालिमाटीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत शुक्रबार २१ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो ।

अभय हत्यामा २१ जनालाई प्रतिवादी बनाउँदै कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको छ । मुद्दा दायर हुनेहरूमा काठमाडौंको स्युचाटार घर भएका २५ वर्षीय अजित बुढाथोकी, खड्कागाउँका २४ वर्षीय रोहित खड्का, दक्षिणकाली नगरपालिका–१ बोनस घर भएका २० वर्षीय डेबिट घले, मकवानपुर घर भएका २४ वर्षीय विनय वाइवा लामा, नुवाकोट घर भएका २० वर्षीय अनुज महर्जन, धादिङका २१ वर्षीय सुजन तामाङ, चन्द्रागिरीका २५ वर्षीय राज अर्याल, चन्द्रागिरीकै २१ वर्षीय निश्चल थापामगर, धादिङका २३ वर्षीय हर्के भनिने २३ वर्षीय प्रदिप श्रेष्ठ, सुनसरीका २१ वर्षीय सुशान भनिने सुसन श्रेष्ठ छन् ।

त्यसैगरी उदयपुरका २१ वर्षीय साङ्गे तामाङ, मकवानपुरका १८ वर्षीय सुरज गोले भनिने निराजन गोले, तनहुँका १८ वर्षीय गौतम कमर जोगी, धादिङका २३ वर्षीय विनय आले मगर, सर्लाहीका १९ वर्षीय निश्चल ब्लोन, सिन्धुलीका १९ वर्षीय डेनियल भनिने दानिएल विश्वकर्मा, उदयपुरका २१ वर्षीय खेमराज मगर, पर्साका २१ वर्षीय आशिष श्रेष्ठ, गोरखाका २३ वर्षीय रन्जित श्रेष्ठ, नवलपसारी पूर्वका २० वर्षीय प्रबिन झेडी भनिने प्रमिन झ्याढी र संखुवासभाका २२ वर्षीय प्रवेश भनिने प्रगेश गुरुङ छन् ।

जाहेरीमा उल्लेख गरिएका दुई व्यक्तिको भने यकिन वतन नुलेको र खेलेका बखत पुन पुरक जाहेरीमा मुद्दा चलाएने अभियोगपत्रमा उल्लेख गरिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा उनीहरुको बयान भइरहेको छ । बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि साधारण तारेख वा धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार पठाउने भन्ने आदेश आउने छ ।

उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १७७ को अनुसारको कसुरको मुद्दा दगाइएको छ । दफा १७७ मा कसैको ज्यान मार्ने नियतले काम गर्न नहुने उल्लेख छ । ज्यान मारेमा जन्मकैदको सजाय हुने उल्लेख छ ।

कुटपिटमा संलग्न नरहेको बताइए पनि उनीहरूविरुद्ध भने मुद्दा चलाइएको छ । यसका लागि सरकारी वकिल कार्यालयले सर्वोच्च अदालतको नजिरलाई उदाहरणको रुपमा प्रस्तुत गरेको छ ।

यो समूहले ११ चैतको राति साढे ७ बजेतिर दोलखा मेलुङ गाउँपालिका–४ घर भइ नैकाप डेरा गरी बस्दै आएका २३ वर्षीय अभयको हत्या गरेको आरोप छ । धारिलो हतियारहरू खुकुरी, रड, पाइप, बाँसका भाटा, ढुंगा, मुक्काले समेत प्रहार गरेर हत्या गरेको आरोप छ ।

यो समूहको आक्रमणबाट गम्भीर घाइते भएका उनको कलंकीकै शहीद ममोरियल अस्पताल मृत्यु भएको थियो ।

अभयकै समूहका २३ वर्षीय सन्दीप भुजेल, हटौंडा घर भई नैकाप बस्ने २२ वर्षीय चक्रे भनिने पवन तामाङ र चन्द्रागिरि नगरपालिका–१४ बस्ने २२ वर्षीय पासाङ शेर्पा घाइते भएका थिए । उपचार पछि उनीहरु भने डिस्चार्ज भएका थिए ।

सर्वोच्चको नजिर टेक्दै मुद्दा

यसअघिको केही घटनमा भने प्रहरीले ठूलो संख्यामा व्यक्ति पक्राउ परे पनि स्क्रिनिङ गरेर मात्रै मुद्दा चलाउँदै आएको थियो । १२ चैत २०८० मा ललितपुरको ढोलाहिटीमा होलीकै राति भएको झडपमा दुई जनाको मृत्यु भएको थियो । त्यतिबेला पाँचथर घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र सुनसरी घर भई ढोलाहिटी बस्ने ३० वर्षीय पुजन राईको मृत्यु भएको थियो ।

उक्त घटनामा प्रहरीले सुरुमा १८ जनालाई पक्राउ गरेको थियो । झडपको समयमा उनीहरू घटनास्थलमै रहेकाले पनि दुई समूहका व्यक्ति रहेको खुलेको थियो । पछि अदालतमा मुद्दा लैजाने क्रममा ६ जनाविरुद्ध मात्रै लगिएको थियो । आक्रमण गर्नेलाई मात्रै पहिचान गरेर मुद्दा चलाइएको थियो ।

तर यो घटनामा आक्रमण नगरेको बताउँदै बयान दिएकाहरूविरुद्ध पनि मुद्दा चलाइएको छ । प्रतिवादी बनाइएकामध्ये निराजन गोले, गौतम कुमर जोशी, विनय आलेमगर, निश्चल ब्लोन, डेनियल विश्वकर्मा, खेमराज मगर, आशिष श्रेष्ठ, रन्जित श्रेष्ठ, प्रमिन झ्याडी, प्रगेश गुरुङ गरी १० जनाले मृतकलाई कुनै कुटपिट तथा आक्रमण नगरेको दाबी गर्दै बयान दिएका थिए ।

कुटपिटमा संलग्न नरहेको बताइए पनि उनीहरूविरुद्ध भने मुद्दा चलाइएको छ । यसका लागि सरकारी वकिल कार्यालयले सर्वोच्च अदालतको नजिरलाई उदाहरणको रुपमा प्रस्तुत गरेको छ ।

अदालतमा दायर भएको अभियोगपत्रमा उल्लेख गरिएको छ, ‘प्रतिवादीहरूले गुट बनाइ संयुक्त रुपमा गरेको वारदातलाई संयुक्त वारदात भनिन्छ । यसमा कसले बढी कुट्यो, कसले कम कुट्यो, कसको प्रहार प्राण घातक भयो अथवा कसले कट्दै कुटेन कि जस्ता कुरा प्रासंगिक हुँदैनन् । ज्यान लिने अथवा सांघातिक कुटपिट गर्ने मनसाय भइ समूहमा बसी एक अर्कालाई उकासी हौसाई अथवा हातै हाली कुटपिट गरेमा सबै प्रतिवादी समान रुपमा सहभागी भएको मनिन्छ ।’

सर्वोच्च अदालतबाट प्रकाशित नेपाल कानुन पत्रिका २०७१ अंक ९ नि. न ९२४९ मा उल्लेख भएको भन्दै यसैलाई नजिरको रुपमा प्रस्तुत गर्दै २१ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको छ ।

चार प्रतिवादी चोरी, लागु औषध र अभद्र मुद्दाका दोषी

कर्तव्य ज्यानको कसुरमा प्रतिवादी बनाइएका २१ जनामध्ये चार जना भने यसअघि विभिन्न मुद्दामा दोषी ठहर भएका व्यक्ति रहेको खुलेको छ । प्रतिवादी सुजन तामाङ यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र मुद्दाको कसुरमा दोषी ठहर भएका व्यक्ति रहेको खुलेको छ ।

अर्का प्रतिवादी विनय लामा भनिने विनय वाइवा लामा १३ असोज २०७७ मा लागु औषधको कसुरमा दोषी ठहर भएका व्यक्ति हुन् । प्रतिवादी अजित केसी पनि १६ मंसिर २०७८ मा चोरीको कसुुरमा दोषी ठहर भएका व्यक्ति रहेको पाइएको छ ।

साङ्गे तामाङ भने ९ साउन २०८१ मा अभद्र व्यवहारको कसुरमा दोषी ठहर भएका व्यक्ति रहेको पाइएको छ ।

मुलुकी फौजदारी अपराध संहिताको दफा ४४ को उपदफा २ अनुसार उनीहरुलाई थप सजाय मागदाबी गर्नुपर्ने हुन्छ । तर उनीहरुविरुद्ध जन्मकैदको सजाय मागदाबी गरिएकाले थप सजाय भने मागदाबी गरिएको छैन ।

पहिले एकै समूह, दुष्मनी बढेपछि दुई समूह अनि हत्या

दुई समूहको ग्याङफाइट भए पनि पहिलो यो एकै समूह रहेको पाइएको छ । प्रहरीका अनुसार यो समूहका मुख्य व्यक्ति रोहित खड्का हुन् । उनी र्‍याबिटका नामले चिनिन्छन् । होलीको अघिल्लो दिन यो समूहका निश्चल मगर र हाल मारिएका अभयबीच विवाद भएपछि दुष्मनी बढ्दै गएको प्रहरीको दाबी छ ।

त्यसपछि एउटा समूहको नेतृत्व अभयले र अर्को समूहको नेतृत्व र्‍याबिट (रोहित)ले गरेको अनुसन्धान अधिकारी बताउँछन् । विवाद भएपछि अभयले निश्चललाई थप्पड हानेको बताइएको छ ।

होलीको अघिल्लो दिनको विवादबाट सुरु भएको झगडाले तेस्रो दिनमा आइपुग्दा अर्को झगडाको रुप लिएको थियो । त्यसपछि यो दुई समूह भौतिक रुपमा आक्रमणमा उत्रिन थालेको थियो ।

विवाद र दुष्मनी बढीपछि एकले अर्कालाई जहाँ भेट्यो त्यही कुट्नेसम्मको अवस्थामा पुगेका उनीहरूबीच ग्याङफाइटसम्म भएको थियो ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?