
७ वैशाख, काठमाडौं । हिमाली क्षेत्रको महत्त्वपूर्ण घरपालुवा जनावर याकको संख्या निरन्तर घटिरहेको छ । तर, संरक्षणमा भने सरकार बल्ल तातेको छ ।
संरक्षित जनावरका रूपमा रहेको याक संरक्षणमा सरकारले औपचारिक कार्यक्रम गरेको पहिलो पटक हो । यस अघिकी कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला साहले पटक–पटक हिमाली क्षेत्रको याक, भेडा, च्याङ्ग्रा संरक्षण र विकासका लागि सरकारले काम गरिरहेको बताउँदै आएकी थिइन् ।
उनी मन्त्रीबाट हटेपछि आएका कृषिमन्त्री रामनाथ अधिकारीले पनि याक संरक्षण र विकासको कुरा छाडेनन् । त्यसपछि सरकारले गत असोज ३ मा प्रत्येक वर्ष वैशाख ७ लाई ‘राष्ट्रिय याक दिवस’ का रूपमा मनाउने निर्णय गर्यो ।
मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार आज आइतबार पहिलो पटक कृषि मन्त्रालयले याक दिवस मनाएको हो ।
निरन्तर घट्दै याक
सरकारले पहलकदमी लिएर संरक्षणमा चासो देखाउनुको कारण याकको संख्या निरन्तर ओरालो लाग्नु पनि हो । कृषि मन्त्रालयले निकालेको कृषि तथा पशुपन्छी डायरीका अनुसार पछिल्लो कृषि तथ्यांक २०८० अगाडि लगातार याक संख्या तीव्र रूपमा घटिरहेको हो । आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० बीचमा मात्रै १२ हजारभन्दा धेरै संख्यामा याक घटेको छ ।
२०७७/७८ मा ६५ हजार संख्यामा रहेका याक गत वर्षसम्म ५३ हजारमा सीमित छ । पशु सेवा विभागको तथ्यांक अनुसार २०७७/७८ मा ६५ हजार ४ सय ६ याक थिए भने २ हजार ८ सय ४५ वटा चोरी भई घटेर २०७८/७९ मा ६२ हजार ५ सय ६१ थिए ।
यस्तै २०७९/८० मा ५३ हजार १ सय ९५ वटा याक, नाक तथा चौरी रहेको तथ्यांक छ ।
किन घटिरहेको छ याक ?
मन्त्रालयका अधिकारीहरूले याक दिवसमा दिएको जानकारी अनुसार नेपालमा याक, नाक तथा चाँैरी संख्या घटेको पाइएको छ । यसो हुनुमा भौगोलिक स्थिति, भौगोलिक चुनौती, युवा पुस्ता बसाइँसराइ, चरण क्षेत्र अभाव, जंगली जनावरको आक्रमण लगायत कारण हुन सक्ने कृषि मन्त्रालयले जनाएको छ ।
‘पछिल्लो समय याक, चौँरी चराउने युवा नै छैनन् । त्यसमाथि भौगोलिक चुनौती पनि उस्तै छ । कहिले हिमपहिरो, कहिले जंगली जनावरले मार्ने, कहिले लड्ने यस्तो भइरहेको छ । त्यसकारण पनि याक, चौँरी घट्दै गएको हो,’ कृषिमन्त्री अधिकारी भन्छन् ।
के गर्दैछ मन्त्रालय ?
कृषिमन्त्री अधिकारीले याक पालनले हिमाली समुदायको आयआर्जन, खाद्य र पोषण सुरक्षा, प्राङ्गारिक खेती तथा वातावरणीय सन्तुलनमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको बताए ।
प्रथम राष्ट्रिय याक दिवसका अवसरमा कृषि मन्त्रालयले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले याक/चौँरी पालनको संरक्षण र प्रवद्र्धनका लागि संगठित प्रयास आवश्यक रहेको भन्दै याकचौँरी संरक्षण र दिगो उपयोग मार्फत हिमाली क्षेत्रको खाद्य सुरक्षा, जलवायु अनुकूलन, जैविक विविधता संरक्षण र ग्रामीण जीवनशैली सशक्तीकरण नै अबकोे साझा लक्ष्य रहेको उल्लेख गरे ।
मन्त्री अधिकारीले हिमाली जनजीवनको अविभाज्य अंग बनेका याकचौँरी संरक्षण, सुधार र व्यावसायिक रूपान्तरण मार्फत नवजीवन दिनु साझा उत्तरदायित्व रहेकोमा जोड दिए ।
उनले याक संरक्षण एवं प्रवद्र्धनका लागि सोलुखुम्बु स्याङ्बोचेमा याक आनुवंशिक स्रोत केन्द्र सञ्चालनमा ल्याइएको उल्लेख गरे । मन्त्रालयका अनुसार उक्त केन्द्रले याकको शुद्ध नश्ल संरक्षण, आनुवंशिक सुधार, प्रविधि विस्तार र प्रसारमा महत्त्वपूर्ण कामको सुरुवात गरिरहेको दाबी गरे ।
किसान भन्छन्– ‘याक जोगाउनै मुस्किल’
‘याक/चौँरी प्रवर्द्धन : हिमाली जीवन, संस्कृति र पर्यावरण संरक्षण’ भन्ने मूलनारा साथ पहिलो पटक मनाइएको राष्ट्रिय याक दिवसका अवसरमा याक पालक किसानलाई पनि सम्मान गरिएको छ ।
सम्मानित र अन्य याकपालक किसानले आइतबार आयोजित कार्यक्रममा याकलाई जोगाउनै मुस्किल भएको बताएका थिए ।
‘अहिले हिमनदी, नदीहरूको माथि झोलुङ्गे पुल हालिएको छ । मान्छेलाई त धेरै सहज नै भएको छ, तर याक झोलुङ्गे पुलमा हिँड्न डराउँछ । याकका लागि उचित हुने खालको पुल, बाटो आवश्यक छ,’ ती किसानले भने ।
सरकारले याक र चौँरी उत्पादनमा अन्तर्राष्ट्रिय बजारीकरण गर्न भुमिका खेल्नुपर्ने बताए । ‘याक किसानले कहिलेकाहीँ खर्च धान्नै गाह्रो छ, चर्न गएका चौँरी कहिले फर्किंदै फर्किंदैनन् । यस्तो कुरा सरकारले बुझ्न आवश्यक छ,’ किसानले भने ।
याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा उल्लेख गरेको छ । नेपालमा मात्र उत्पादन हुने विश्वप्रसिद्ध याक चिज ओमेगा–३ फयाट्टी एसिडको स्रोत रहेको, याकको दही प्रसिद्ध दुग्ध परिकारका रूपमा रहेको, याकको दूधबाट बनेको छुर्पी हिमाली क्षेत्रका किसानको आम्दानीको प्रमुख स्रोतको रूपमा रहेको र हिमाली क्षेत्रको सभ्यताका रूपमा समेत याक रहेकोमा संरक्षणकर्मीले जोगाउन जोड दिएका छन् ।
याकको छाला र पुच्छरबाट बन्ने वस्तु निर्यातको प्रचुर सम्भावना बोकेका उत्पादन हुन् । याक पर्यटन प्रवद्र्धनमा पनि आकर्षणको केन्द्र बन्ने सम्भावना छ । याकमार्फत सामान ढुवानीदेखि खेतबारी जोत्नेसम्मका काम हुँदै आएका छन् ।
प्रतिक्रिया 4