
८ वैशाख, काठमाडौं । सोमबार बिहान झिसमिसेमै पूर्वी नेपालको पवित्र धार्मिक स्थल पाथीभराबाट एक दर्दनाक खबर आयो ।
ताप्लेजुङ सदरमुकामबाट दर्शनार्थी लिएर पाथीभरातर्फ जाँदै गरेको मे १ भ ३०११ नम्बरको बोलेरो जिप फुङलिङ नगरपालिका–१० सेवारो चोक भन्ने स्थानमा लत्रिएको बिजुलीको तारमा अल्झिएर आगलागीको शिकार बन्यो ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी भीमबहादुर दाहालका अनुसार दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् ।
मृत्यु हुनेमा ललितपुर महानगरपालिका–१० बस्ने सविना आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापा भद्रपुर नगरपालिका १५ बस्ने ७० वर्षीय विनोद पौडेल, विनोद पौडेलकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र चालक ताप्लेजुङ फुङलिङ–१० बस्ने अन्दाजी ४२ वर्षीय दुर्गा भट्टराई छन् । विनोद र सरिता सविनाका बुबाआमा हुन् ।
घाइते हुनेमा ललितपुर महानगरपालिका–१० बस्ने ४५ वर्षीया सबिना आचार्य र उनको १० वर्षीय छोरा भविमय आचार्य छन् । उनीहरूलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
झट्ट हेर्दा यो दुर्घटना लत्रिएको बिजुलीको तारका कारण भएको देखिन्छ । तर, दुर्घटनास्थलको तस्वीर नियालेर हेर्दा जिप हिलाम्य सडकमा फसेको छ । मृतकको शव हिलोमा गडेको अवस्थामा देखिन्छ ।
जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाका अनुसार जिप बिहान ३ बजेतिर हिँडेको देखिन्छ । त्यस समय बाटोमा हुस्सु लाग्छ । एक त कच्ची सडक, त्यसमाथि पानी परेपछि सडक हिलाम्य अवस्थामा छ । खाल्डो छलेर अगाडि बढ्ने क्रममा जिप बिजुलीको तारमा अल्झन पुगेको देखिन्छ ।
हजारौं यात्रु, वषौंदेखि अलपत्र १० किलोमिटर सडक
फुङलिङदेखि सुकेटार विमानस्थलसम्मको सडक कालोपत्र छ । सुकेटारदेखि काफ्लेपाटीसम्मको सडक खण्डमा ट्र्याक खुलेको डेढ दशक पुगिसकेको छ । त्यसअघि यात्रु सुकेटारबाटै पैदल यात्रा गरी पाथीभरा माताको दर्शनमा जाने गर्थे ।
सडक ट्र्याक खुलेपछि यात्रा केही सहज बनेको थियो । तर, ट्र््याक खुलेको लामो समयसम्म सडक स्तरोन्नति र कालोपत्र गर्न नसक्दा यात्रुलाई सास्ती दोहोरिएको मात्र छैन, दुर्घटना निरन्तर बढ्दो क्रममा छ ।
जिसस ताप्लेजुङ प्रमुख लामा ठेकेदारको बेवास्ताका कारण सडक अलपत्र रहेको बताउँछन् । ‘राज्यले पनि जति प्राथमिकता दिएर काम गराउनुपर्ने हो, त्यो गरेको देखिएन,’ उनी भन्छन्, ‘निर्माण कम्पनीले पनि काम नगर्दा धेरै सास्ती भएको छ ।’
सुकेटार–काफ्लेपाटी सडक कालोपत्र गर्न कन्टेक प्रालिले ठेक्का पाएको छ । यो सडक खण्ड ७ मिटर चौडाइ सहित कालोपत्र गर्ने योजना छ । आयोजनासँग पुस २०७८ मा सम्झौता भएको थियो ।
निर्माण कम्पनीसँगको सम्झौता अनुसार काम भएको भए असार २०८० मै आयोजनाको काम सक्नुपर्ने थियो । तर, अहिलेसम्म सडक कालोपत्र भएको छैन ।
सडक विभाग अन्तर्गत तमोर करिडोर (सुभाङखोला–दोभान–ओलाङचुङ्गोला) सडक योजनाका प्रमख अमिन्द्र खड्काका अनुसार लामो समयसम्म अलपत्र रहेको आयोजनाले यस वर्षबाट भने गति लिएको छ ।
‘देउराली भन्ने स्थानसम्म चालु आवमै ग्राभेल गरिसक्ने योजना छ,’ उनले भने, ‘बाँकी काम आगामी आवमा सक्ने गरी हामीले कामलाई रफ्तार दिएका छौं ।’
अहिले निर्माण कम्पनीले उपकरणहरू सडकमा राखेर आपतकालीन अवस्थामा सडक सुचारु गर्ने कामसमेत गरिरहेको भन्दै सोमबार पानी परेका कारण सडक बढी हिलाम्य भएको उनले बताए ।
‘पहिलाको तुलनामा सडक धेरै राम्रो भएको छ,’ उनले अनलाइनखबरसँग भने, ‘आगामी वर्ष पिच नै सक्ने गरी हामीले काम गरिरहेका छौं ।’ यस वर्ष ६ करोड रुपैयाँसम्मको दायित्व सिर्जना भएको उनले बताए ।
अहिले हरेक वर्ष ३ लाखभन्दा धेरै यात्रु पाथीभरा दर्शनमा पुग्ने गर्छन् । स्थानीय स्तरमा चल्ने जिप तथा व्यक्तिगत लैजाने सवारीसाधन मार्फत यात्रु पाथीभरा पुग्ने गर्छन् ।
हिउँद याममा धुलो र वर्षायाममा हिलोका कारण पाथीभरा जाने यात्रुले सास्ती बेहोर्नु परेको छ । पछिल्लो समय सरकार, स्थानीय र अन्य सरोकारवाला पाथीभरा क्षेत्रमा केबुलकार चाहिन्छ–चाहिँदैन भन्ने बहस र विवादमा छन् । तर, अत्यावश्यक सडक निर्माण र स्तरोन्नति भने प्राथमिकतामा छैन ।
योगेशको टिप्पणी : तारले दुर्घटना बढायो
सोमबारको दुर्घटनास्थल एमाले सचिव योगेश भट्टराईले संसदीय चुनाव जितेको क्षेत्रमा पर्छ । जनप्रतिनिधिका रूपमा यहाँ राज्यको अक्षमतालाई उनले निगरानी र खबरदारी गर्न सक्थे । यसमा उनी पनि चुकेका छन् ।
दुर्घटनापछि सोमबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै ताप्लेजुङमा बिजुलीका तार र पोलका कारण पटक–पटक दुर्घटना दोहोरिएको बताएका छन् ।
उनले सडकको दुरावस्थाबारे भने बोलेका छैनन् । विद्युत् प्रसारण लाइन, पोल तथा अन्य उपकरणको गुणस्तरीयतामा ध्यान दिन प्राधिकरणको ध्यानाकर्षण भने गराएका छन् ।
प्रतिक्रिया 4