
८ वैशाख, काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. विश्वनाथ पौडेलले आइतबार फेसबुक स्टाटस लेखे, ‘६ वर्ष लगाएर बनेको ६ किलोमिटर सडक उद्घाटन गर्न ६ जना भीआईपी । सडक कसले बनाएको भनेर जस लिन हानाथाप । भन्नूस्, हामीले कसरी ‘रियाक्ट’ गर्न उपयुक्त होला ?’
चितवन– १ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडेका पौडेलले संकेत गरेको घटना ५ वैशाखको हो । त्यस दिन भरतपुरको गोन्द्राकदेखि पुल्चोक–नारायणगढसम्मको ६ लेन सडक उद्घाटन तामझामसहित गरिएको थियो ।
यो सडकखण्ड उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित ६ जना उच्चपदस्थ सहभागी भएका थिए । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, भौतिक योजना तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मुख्यमन्त्री बहादुरसिंह लामा र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल सहभागी भए ।
कार्यक्रममा प्रदेश मन्त्रीहरू, संघीय तथा प्रदेश सांसदहरू, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मालगायत थिए ।
संघीय, प्रदेश र स्थानीय सरकारले निकै महत्वका साथ उद्घाटन गरेको ६ लेनको ६ किलोमिटर सडक बनाउन लागेको समय हेर्ने हो भने लाजमर्दो देखिन्छ । यो आयोजना निर्धारित समयभन्दा दोब्बर बढी समय लगाएर सम्पन्न गरिएको हो ।
यो आयोजना कसले बनाएको भनेर अहिले सामाजिक सञ्जालमा बहस भइरहेको छ । जस लिन भइरहेको हानाथापलाई राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेलले व्यङ्ग्य गरेका हुन् ।
भरतपुरमा निर्माण गरिएको ६ लेनको यो सडक एसियन मापदण्डको हाइवे अन्तर्गत स्ट्यान्डर्डमा तयार गरिएको हो । जसको लम्बाइ ६.०८ किलोमिटर छ । आयोजनाको ठेक्का २६ असोज २०७७ मा लागेको हो । सम्झौताअनुसार आयोजना त्यसको २८ महिनाभित्र सकिनुपर्ने थियो । तर त्यसको ठ्याक्कै दोब्बर अर्थात् ५६ महिनापछि आयोजनाको उद्घाटन भएको हो ।
आयोजना निर्धारित समयमा नसकिएपछि आयोजनाको म्याद तीनपटकसम्म थपिएको थियो । तर उद्घाटन गर्ने बेलामा यो आयोजना कसले बनाएको भनेर जस लिन हानाथाप छ ।
आयोजनाको लागत १ अर्ब १२ करोड रहेको छ । जसलाई सगुन कन्स्ट्रक्सन प्रा.लि.ले निर्माण गरेको हो । अहिले निर्माण व्यवसायीले करिब तीन करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताइएको छ । निर्माण कम्पनीले साइट क्लियरेन्स, कोभिड, आर्थिक अभावमा थप समय लागेको तर्क गरेको छ ।
यो सडक यसअघि दुई लेनमा थियो । सवारीको अधिक चापले दुर्घटनाको जोखिम उच्च रहेको भन्दै सरकारले स्तरोन्नतिको योजना बनाएको हो । निर्माणका क्रममा भरतपुर ओरालोको उचाइ ६० सेन्टिमिटरदेखि १.२ मिटरसम्म घटाइएको छ । सडकको बीच भागबाट दायाँबायाँ २५÷२५ मिटर फराकिलो रहेको यस सडकमा विद्युत् लाइन भूमिगत गरिएको छ ।
चौबीसकोठीदेखि भरतपुर ओरालोसम्मको सडकको पानी पुंगीखोलामा र चौबीसकोठीदेखि बसपार्कसम्मको पानी केरुङ्गा घोलमा लैजाने गरी नाली तयार गरिएको छ । निर्माण सकिएको ५ वर्षसम्म सडक बिग्रिए मर्मतको काम ठेकेदारले नै गर्ने सम्झौता गरिएको छ ।
यस सडकमा १० एमएमको डीबीएम, ४ एमएमको अस्पाल्ट पिच गरिएको छ । सडकको दायाँबायाँ ११.५÷११.५ मिटरको पिच र त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन पिच रहेको आयोजनाले जनाएको छ । नालीभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन रहेको छ । सर्भिस लेनमा पनि दोहोरो सवारी चल्न सक्ने भएकोले ८ लेन भन्न मिल्ने बताइएको छ । ३ देखि ५ मिटरसम्म फुटपाथ राखिएको छ ।
बीचको मेडियनमा दुबो र फूलका बिरुवा तथा सर्भिस लेन र मेन लेनको बीचमा पनि फूलका बिरुवा राखेर ब्युटिफिकेसन गरिएको छ । दुवै साइडमा ६ सय सडक बत्ती राखिएको छ । सडकमा ट्राफिक चिह्न, जेब्राक्रस लगायत लाइनिङ समेत राखिएको छ । अब ट्राफिक लाइट राख्ने तयारी छ ।
शिलान्यास र उद्घाटनमा ओली संयोग
यो सडकको शिलान्यास र उद्घाटनमा संयोगवशः प्रधानमन्त्री केपी शर्मा ओली जोडिएका छन् । १७ माघ २०७७ मा तत्कालीन प्रधानमन्त्रीका रूपमा ओलीले आयोजना उद्घाटन गरेका थिए । शिलान्यास गरिएकै स्थानमा ५ वैशाख २०८२ मा उद्घाटन समारोह आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले यो आयोजना उद्घाटनलाई चुनावी प्रचारका रूपमा नलिन आग्रह गरे । उनले अहिले चुनाव नलागेको र चुनाव प्रचार प्रसार गर्नुपर्ने आवश्यकता पनि नरहेको बताए । उनले भने, ‘सधैं राजनीति मात्रै, सधैं चुनाव मात्र होइन, विकासमा ध्यान दिऊँ ।’ भरतपुरकी मेयर दाहालले समेत उस्तै भाषा दोहोर्याइन् । उनले विकास र निर्माणको काममा कसैले पनि राजनीति गर्न नहुने बताइन् ।
त्यस्तै उपप्रधानमन्त्री सिंहले अहिले सरकारले पूर्वाधार निर्माणमा जोड दिइरहेको बताए । ‘व्यवस्था बदलियो अवस्था बदलिएन भन्ने भाष्य बनाउन खोजिएको छ,’ उनले भने, ‘व्यवस्थासँगै जनताको अवस्थामा पनि परिवर्तन आएको छ ।’
जनताले चाहेको आयोजना तीन तहको सरकारको संयोजनमा अघि बढाउँदा सफल हुने रहेछ भन्ने उदाहरण यो ६ लेनको सडक भएको उनको भनाइ थियो ।
प्रतिक्रिया 4