
कुकुरलाई रुखमा झुन्ड्याएर निर्मम तरिकाले यातना दिई हत्या गर्ने कार्यमा संलग्न रोल्पाका ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा एक जना नाबालक छन् ।
फौजदारी कानुनको पशुपंक्षी सम्बन्धी कसुर अनुसार नै कुकुरलाई मार्ने व्यक्तिहरूलाई कारबाही गरिने सुलिचौर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अरुण तामाङले बताए । ‘उनीहरूलाई म्याद थप गर्नको लागि अदालत लगिँदैछ’ उनी भन्छन् ‘हिंसामा संलग्न दुई जना १८ वर्ष भन्दा माथिका व्यक्तिले आफूहरूले कुकुरलाई झुन्ड्याएर मारेको स्वीकार गरेका छन् ।’
तामाङका अनुसार त्यसमध्ये ११ वर्षका बालकले हिंसामा कुनै संलग्नता नरहेको बताएका छन् ।
कुकुरलाई रुखमा झुण्ड्याएर हत्या गर्नेहरूले कुकुरले टोकेपछि मारेको बताएका छन् । तर, स्थानीयहरूसँग बुझ्दा भने कुकुर एकदमै शान्त स्वभावको र कसैलाई नटोक्ने किसिमको रहेको पाइएको पशु अधिकारकर्मी इरफान खान बताउँछन् ।
उनी भन्छन् ‘कुकुरले टोकेर उसको हत्या गरिएको भन्दा पनि सामाजिक सञ्जालमा भिडियो हालेर भाइरल हुनका लागि कुकुरको हत्या गरिएको देखिन्छ’ खान भन्छन्, ‘कुकुरमाथि हुने अधिकांश हिंसामा पक्राउ पर्नेहरूले यस्तै जवाफ दिएर उम्कने गरेको उनको भनाइ छ ।
‘कुकुरलाई यातना दिएर वा मारेर पक्राउ परेकाहरू सबैले कुकुरले टोकेर मारेको भनी जवाफ दिने गरेका छन्’ खान भन्छन्, ‘कुकुरले आरोप खण्डन गर्न सक्दैन, उसका लागि बोलिदिने पनि कोही हुँदैन । कुकुरलाई जे दोष लगाए पनि हुन्छ ’
कतिपय ठाउँमा त कुकुरले भुकेको आरोपमा पनि कुकुरलाई मारिएको उनी बताउँछन् ।
कुकुरमाथि भएका जति पनि हिंसा छन्, त्यसमा आरोपितहरूले कुकुरमाथि नै दोष दिएर उम्किएको खान जिकीर गर्छन् । ‘कुकुरले टोकेको थियो भनेपछि सजिलै छुटकारा पाउने भएकाले यस्तो हिंसा रोकिएको छैन’ खान भन्छन्, ‘कुकुरमाथि मान्छेले अनेक किसिमको अत्याचार गरिरहेका छन्, यातना दिएर मारिरहेका छन् । तैपनि पीडकमाथि खासै सजायँ भएको पाइँदैन ।’
कुकुर त हो नि भनेर यस्ता कृत्यलाई सामान्यकरण गरिने उनी बताउँछन् । ‘ठूलाबडा भनिने, बुद्धिजीवि भनिनेहरू पनि कुकुरको कुरामा पनि के बोल्नु भन्ने गर्छन्’ खान भन्छन्, ‘त्यो अवोध प्राणीले कहिले न्याय पाउने ? उसका लागि कसले बोलिदिने ? कमजोर र निरीह हुँदैमा अत्याचार सहेर बस्नुपर्ने ?’
कुकुरले टोकेको छ वा बहुलाएको छ भने पनि त्यसलाई निर्दयी ढंगले मार्न नहुने व्यवस्था रहेको अधिवक्ता पदमबहादुर श्रेष्ठ बताउँछन् । ‘कुकुर बहुलाएको छ वा कुकुरले टोकेको छ भने त्यसलाई व्यवस्थापन गर्ने विधि र प्रक्रिया छन्’ श्रेष्ठ भन्छन्, ‘आफूखुसी र जथाभावी मार्दै हिँड्न पाइँदैन । त्यस्ता व्यक्तिमाथि कानुनी कारबाही हुन्छ ।’
यदि कुकुरलाई हत्या गर्ने व्यक्ति १८ वर्ष भन्दा कम उमेरका छन् नै भने पनि त्यो अपराध भएकाले उनीहरूलाई कसुर लाग्ने श्रेष्ठले बताए ।
पशु क्रूरता निवारण ऐन, २०७३ अनुसार पशुलाई क्रूर व्यवहार गर्ने, यातना दिने वा अनावश्यक पीडा दिने कार्यमा संलग्न व्यक्तिलाई ३ महिनासम्म कैद वा ५,००० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । पशुलाई क्रूरतापूर्वक हत्या गरेमा सजाय अझ कडा हुन सक्छ, जसमा जरिवाना र कैद दुवै लागू हुन सक्ने श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार यदि हत्यामा संलग्न व्यक्ति नाबालक हो भने उसलाई ३ महिना जेल सजायको बदलामा सुधार गृहमा राखिन्छ । बालिगलाई जेल सजाय नै हुन्छ । जरिवानाको हकमा नाबालक हो भने अभिभावकले जरिवानाको रकम तिर्नुपर्छ ।
प्रतिक्रिया 4