+
+
Shares
गौतमबुद्ध विमानस्थलको सकस :

आन्तरिक उडान र बेलहिया नाका बन्द गर्ने मेयर खाँको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ८ गते २०:०९

९ वैशाख, बुटवल । गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि दबाब दिन आन्तरिक उडान र बेलहिया नाका दुई हप्ता बन्द गर्ने चेतावनी सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले दिएका छन् । उनले यही विषय स्थानीय उद्योगी व्यवसायी र संघसंस्थासँग समेत उठाएका छन् ।

सोमबार नगरपालिकामा भएको छलफलमा नगर प्रमुख खाँले आन्तरिक उडान बन्द गरेर प्रधानमन्त्री र मन्त्रीहरूलाई सडक मार्गबाट घण्टौं यात्रा गर्न बाध्य बनाए मात्रै उनीहरूको दिमाग खुल्ने धारणा राखे ।

अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सुरुमा प्रधामन्त्री र सम्बन्धित मन्त्रालयमा डेलिगेसन, छलफल गरिने र बेवास्ता गरिए विभिन्न खालका आन्दोलनसहित दबाबमूलक कार्यक्रम गर्ने नगर प्रमुख खाँले बताए ।
‘हाम्रो भिजन विमानस्थल चलाउने हो, एक्सनमा आन्तरिक उडान र बेलहिया नाका रोक्ने हो,’नगर प्रमुख खाँले भने,‘आन्तरिक उडान बन्द गरौं, सबै प्लेन रोकौं, ट्राभल एजेन्टले १०-१५ दिन टिकट नकाट्ने यहाँबाट, प्रधानमन्त्री, मन्त्रीहरू गाडीबाट आउँछन्, बल्ल दिमाग खुल्छ ।’ एक हप्ता जति बेलहिया नाका र भन्सार बन्द गरे मात्र ‘बबाल’ हुने नगर प्रमुख खाँले उल्लेख गरे ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक अरु सबै मन्त्रीहरूले आफ्नो फोन रिसिभ गर्ने भन्दै नगरपालिकाको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल विमानस्थल चलाउने विषयमा कुरा गर्न काठमाडौं जान निजी क्षेत्र र संघ-संस्थालाई आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य महेन्द्रकुमार श्रेष्ठले काठमाडौं बाहिर अन्तर्राष्ट्रिय उडान सञ्चालन भएमा आफ्नो व्यवसायमा ह्रास आउने भएकाले कुनै व्यवसायिक समूहले केही दलका नेता, सरकारका जिम्मेवार निकायलाई आफ्नो प्रभावमा पारेको दाबी गरे ।

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन नदिने गिरोह काठमाडौंमा सक्रिय छ र यसका विरुद्ध संयुक्त आन्दोलनको खाँचो छ,’श्रेष्ठले भने ।

सिद्धार्थनगरकी उपप्रमुख उमा अधिकारीले विगतमा गरिएका दबाबमूलक कार्यक्रम सार्थक नभएकाले सिद्धार्थनगर नगरपालिकाको अगुवाइमा दबाबमूलक कार्यक्रम गर्नुपर्ने बताइन् ।

उद्घाटनको तीनवर्ष बित्न लाग्दासमेत गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय नियमित हुन नसकेपछि रुपन्देहीका स्थानीय सरकार, होटेल तथा पर्यटन व्यवसायीहरू निराश छन् ।

अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर तारे होटेलसहित पर्यटन व्यवसायमा भएको करिब एक खर्ब लगानीले प्रतिफल दिनुको साटो डुब्ने चिन्ता व्यवसायीमा छ ।

मंसिर पहिलो साता एक नेपाली र चार विदेशी वायुसेवा कम्पनी कतार एयरवेज, थाई एयर एसिया, फ्लाई दुबई, जजिराले उडान सुरु गरे पनि एक महिना नबित्दै ‘भिजिबिलिटी’ को समस्या र कतिपयले यात्रु अभावका कारण देखाउँदै उडान रोकेका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले भिजिबिलिटीको समस्या समाधान गर्न आईएलएसको विकल्पमा आरएनपीएआर प्रविधि लागु गरेपछि मार्च २९ अर्था् गत चैत १६ गतेसम्म विमानस्थलमा चहलपहल बढेको थियो । तर अप्रिल १ देखि फेरि अन्तर्राष्ट्रिय उडान रोकिएपछि व्यवसायीहरू फेरि निराश छन् ।

अहिले नेपाल एयरलाइन्सले मात्रै साताको तीन अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । विभिन्न बहानामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन नसकेपछि लुम्बिनी प्रदेशको निजी क्षेत्र आक्रोशित बनेको छ ।

वैदेशिक रोजगारीमा जान चाहने श्रमिकका लागि म्यानपावर कम्पनीका कार्यालयहरू र श्रम तथा स्वास्थ्य परीक्षण कार्यालयहरूको स्थापनाका लागि निजी क्षेत्रका तर्फबाट पटकपटक आग्रह गर्दा पनि सुनुवाइ हुन सकेको छैन।

भैरहवा विमानस्थलबाट चढ्ने यात्रु पर्याप्त हुन नदिन काठमाडौं केन्द्रित ठूला ट्राभल एजेन्सीले अन्तर्राष्ट्रिय हवाई टिकटमा कार्टेलिङ गरेका, एयरलाइन्स कम्पनीहरूले भैरहवामा सम्पर्क कार्यालय पनि नखोलेका र स्थानीय ट्राभल एजेन्सीलाई टिकट काट्न पोर्टल खुला नगरेकाले ९५ प्रतिशत टिकट काठमाडौंबाटै बिक्री हुँदा गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा चल्न नदिइएको टुर तथा ट्राभल व्यवसायी चन्द्र थापाको गुनासो छ ।

पर्यटन व्यवसायी सञ्जय बजिमय भैरहवाबाट उडान गर्ने सबै एयरलाइन्सको टिकट काउन्टर र सम्पर्क कार्यालय विमानस्थलमा हुनुपर्ने, अनलाइन ई–भिसा र इन्टरनेसनल डिजिटल डाइरेक्ट पेमेन्ट प्रणाली हुनुपर्ने बताउँछन् ।

ट्राभल व्यवसायी सागर अधिकारीले विमानस्थल दिगो सञ्चालन गर्न बौद्धमार्गी बाहुल्य देशबाट भैरहवामा सिधा उडान हुनुपर्ने बताउँछन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार जजिरा एयरलाइन्स, फ्लाई दुबई र थाई एयर एसियाले ‘समर शेड्युल’ तय नगरेका कारण उडान बन्द भएको हो । जजिरा एयरलाइन्सले मे महिनाबाट उडान सुरु गर्ने आश्वासन दिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?