+
+
Shares

काठमाडौं आइपुगे भारतका विद्युत् मन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर काठमाडौं आएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ९ गते ९:२७
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विद्युत् मन्त्री मनोहरलाल खट्टर । । फोटो : विकास श्रेष्ठ/अनलाइनखबर

९ वैशाख, काठमाडौं । भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुई दिने भ्रमणका लागि आज नेपाल आएका छन् ।

उनलाई ऊर्जा मन्त्रालय र काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरुले स्वागत गरेका थिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर केहीबेर अघि काठमाडौं आइपुगेका हुन् ।  ३० माघ २०८१ मा भारत भ्रमणका क्रममा मन्त्री खड्काले त्यहाँका विद्युत्‌मन्त्री खट्टरलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

ऊर्जामन्त्री खड्कासँगै भारतका विद्युत्‌मन्त्री खट्टरले आज भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन, २२०/३३ केभी बानेश्वर सबस्टेसन र २२०/१३३/३३ केभी बसन्तपुर सबस्टेसन संयुक्त रूपमा संखुवासभा तुम्लिङटार सबस्टेसनमा उद्घाटन गर्ने कार्यक्रम छ ।

खट्टरले आजै भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्र अवलोकन गर्नेछन् । दुई देशले संयुक्त रूपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माण कम्पनीको सम्झौतापत्रमा पनि हस्ताक्षर हुनेछ ।

त्यस्तै १० वैशाखमा भारतका विद्युत्मन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथ अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । सोही दिन उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेट गर्नेछन् ।

खट्टर सोही दिन साँझ पशुपतिनाथ दर्शन गरेर भारत फर्कने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?