कुनै परीक्षणका लागि रगत निकाल्दा वा बिराभी भई नसाबाट औषधि दिनु परेमा हात तथा पाखुराको नसामा सुई घोच्नु पर्ने हुन्छ । यस्तो बेला कतिपय व्यक्तिको रगत बग्ने नसा सजिलै भेटिँदैन । रगत बग्ने नसा फेला नपारेर स्वास्थ्यकर्मीहरूले दुई–चार ठाउँमै सुई घोच्दै निकाल्दै गरिरहेका हुन्छन् । अस्पताल जाने प्रायले यो देखेभोगेकै कुरा हो ।
विशेष गरी बालबालिका र वृद्ध उमेरका व्यक्तिको रगत बग्ने नसा फेला पार्न कठिन हुने चिकित्सक, स्वास्थ्यकर्मी बताउँछन् ।
नसा खोज्न पटक–पटक घोच्दाको दुखाइले गर्दा बालबालिकाहरू चिल्लिएर रुने, कराउने गरिरहेका हुन्छन् । यस्तो अवस्थामा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई नै असहज भइरहेको हुन्छ ।
यो समस्याको समाधान नै नभएको भने होइन । नसा फेला पार्न कठिन पर्ने समस्या समाधान गर्नकै लागि वैज्ञानिकहरूले ‘भेन फाइन्डर’ नामको मेडिकल उपकरण आविष्कार छन् ।
के हो भेन फाइन्डर ?
भेन फाइन्डरको आविष्कार सन १९९० कै दशकमा भएको थियो । अमेरिकी बायोमेडिकल इन्जिनियर हर्बर्ट जेमनले सन १९९५ मा पहिलो पटक यो मेसिन आविष्कार गरेका थिए ।
यसमा इन्फ्रारेड इमेजिङ प्रविधि प्रयोग गरिएको हुन्छ । यो उपकरणले नजिकैको इन्फ्रारेड प्रकाश प्रयोग गरी छालाको स्क्यान गर्ने गर्छ । यस खालको प्रकाशलाई हाम्रो रगतमा रहेको हेमोग्लोबिनले सोस्छ । तर हाम्रो शरीरका अन्य तन्तुले सोस्न सक्दैन । यही कारणले यो उपकरणले स्क्यान गर्दा रगत बगिरहेका नसा र यी नसालाई ढाकेर रहेका अुन्य भागलाई फरक देखाउँछ ।
रक्तनलीहरू छालाको बाहिरी भागबाटै स्पष्ट देख्न सकिन्छ । यसपछि स्वास्थ्यकर्मीले सहजै रगत बग्ने नसा पत्ता लगाएर सुई त्यहाँ प्रवेश गराउन सक्छन् । नसा नभेटेर पटक–पटक प्रयास गरिरहनु आवश्यक हुँदैन ।
स्वास्थ्यकर्मीको काम छिटो, सजिलो बनाउने र बिरामीको पीडालाई कम गरी उपचार प्रक्रिया सहज बनाउन यो उपकरण उपयोगी देखिन्छ ।
बालबालिकाको उपचारमा यो उपरकणको उपयोगिताबारे गरिएको एक अध्ययन गरिएको थियो ।
‘नेशनल लाइब्रेरी अफ मेडिसिन’मा प्रकाशित यो अध्ययनले के भनेको छ त ?
बालबालिकाको उपचारका क्रममा ‘पेरिफेरल इन्ट्राभेनस क्यानुलेसन’(पीआईभीसी) स्थापनाका लागि कुनै बेला निकै गाह्रो हुने गर्छ । यस कारणले भेन फाइन्डर उपकरण बालबालिकाको आकस्मिक उपचार कक्ष, सघन उपचार कक्ष, तथा अपरेटिङ कक्षमा हुनु राम्रो हुने बताइएको छ ।
बच्चाको छालाको रङ, छालाभित्र बोसोको मात्रा जस्ता कुराले नसा फेला पार्न कठिन हुने गरेको यो अध्ययनले उल्लेख गरेको छ । पहिलो पटक उपचारका लागि आएका बालबालिका, नसामा रक्त प्रवाहको समस्या भएका बालबालिकाको हकमा समेत यो खालको समस्या देखिएको बताइएको छ ।
कतिपय अवस्थामा नसा पहिचानमा स्वास्थ्यकर्मीको विशेषज्ञता र अनुभवमा पनि भर पर्ने अध्ययनले भनेको छ ।
बालबालिकाको उपचारमा पीआईभीसी तयार गर्ने क्रममा सबै अवस्थामा भेन फाइन्डर उपकरण आवश्यक हुँदैन भन्ने निष्कर्ष यस अध्ययनको छ । यो उपकरण अलि महंगो समेत हुने भएकाले साना अस्पताल र क्लिनकहरूमा उपलब्ध गराउन कठिन हुने अध्ययनले भनेको छ ।
यदि पीआईभीसीका लागि गाह्रो हुने अवस्था छ भने आवश्यकता अनुसार विकल्पका रुपमा यो उपकरण प्रयोग गर्न अनुसन्धानकर्ताहरूले सुझाव दिएका छन् ।
भेन फाइन्डर नेपालमा खासै प्रयोगमा आएको देखिँदैन । धेरै वर्ष पहिले नै यो नेपाल आएर प्रयोग भइसकेको वायोमेडिकल इन्जिनियर हरिराम दुवाडीले बताए । तर यसको खासै प्रयोग भने नभएको दुवाडीको भनाइ छ ।
नेपालका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकसँग जानकारी लिँदा यस खालको उपकरण आफूले काम गर्ने अस्पतालमा प्रयोग नभएको जानकारी दिए ।
प्रतिक्रिया 4