
९ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शिक्षक–कर्मचारी सहभागिता नभए पनि कक्षा १२ को परीक्षा ११ वैशाख बिहाबारदेखि नै सञ्चालन गर्ने निर्णय गर्यो । मंगलबार बिहान बसेको बोर्ड बैठकले सबै संयन्त्र प्रयोग गरेर तोकिएकै समयमा परीक्षा गर्ने निर्णय गरेको हो ।
‘संघीय मामिला मन्त्रालय मार्फत स्थानीय निकायलाई भनिनेछ । जिल्लामा परीक्षा समन्वय समिति छ । शिक्षा इकाइ छ । प्रदेशमा बोर्डको कार्यालय छ । सबै मिलेर केन्द्राध्यक्ष खटाएर परीक्षा हुन्छ,’ परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ।
बोर्डको निर्णयमा भने नेपाल शिक्षक महासंघले असन्तुष्टि जनाएको छ । ‘बोर्डका अध्यक्ष महाश्रम शर्मा सरले दुई साता जति सार्दा क्यालेन्डर प्रभावित नहुने भन्नुभएको थियो । २१ दिनदेखि हामी आन्दोलनमा छौंं । बिहान आन्दोलनमा पुगेपछि कर्मचारी परिचालन गरेर परीक्षा गर्ने निर्णय सुन्यौं । शिक्षकबिना नै परीक्षा सञ्चालन र उत्तरपुस्तिका परीक्षण हुन्छ भने ठिकै छ । त्यो बोर्डको कुरा हो,’ महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।
शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेको महासंघले सरकारले दम्भ देखाएको टिप्प्णी गरेको छ । ‘सरकारले दम्भ देखायो । शिक्षक कर्मचारीलाई बाइपास गरेर परीक्षा सञ्चालन गर्छौं भन्नु भएको छ । कति सफल हुने रहेछ हामी पनि हेर्र्छौं,’ उनले भनिन्, ‘शिक्षकलाई अपमान गर्नुभएको छ । अपमानित हुने पालो उहाँहरूको पनि आउँछ ।’
परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षकहरूको अडान कायम छ । ‘शिक्षकका मागमा यसअघि भएका सहमति कार्यान्वयन गर्न भन्दा पनि सरकार आन्दोलनलाई दमन गर्ने षड्यन्त्रमा देखिएको छ । रित्तै घर फर्काउन खोजेको छ । यस्तोमा शिक्षकहरू केन्द्राध्यक्ष र निरीक्षक नबस्ने अडानमा यथावत छौं,’ सहअध्यक्ष पराजुलीले भनिन्, ‘जर्बजस्ती परीक्षा कसरी हुन्छ, हेर्छौं । शिक्षक कर्मचारीको सहमति सहयोगबिना शिक्षा क्षेत्र सञ्चालन गर्न मालिकलाई हाम्रो चुनौती छ ।’
महासंघ अन्तर्गत चार लाख शिक्षक–कर्मचारी छन् । अरु संयन्त्र प्रयोग गरेर परीक्षा गरे विद्यार्थीको उत्तरपुस्तिका परीक्षण नगर्ने घोषणा शिक्षक महासंघले गरेको छ । बोर्डले भने परीक्षा सञ्चालनमा सहयोग गर्न महासंघलाई आग्रह गरिरहेको छ ।
‘शिक्षकहरूलाई फर्किन आह्वान गरेका छौं । जानु हुन्छ होला । जानु भएन भने त्यसको विकल्प पनि सोचेका छौंं,’ परीक्षा नियन्त्रक शर्माले भने, ‘पालिकाका कर्मचारी, क्याम्पसका शिक्षक, निजीका शिक्षक पनि हुनुहुन्छ । जिल्लामा आवश्यकता हेरेर प्रमुख जिल्ला अधिकारीले सहज हुने गरी संयन्त्र प्रयोग गर्न सक्नु हुन्छ ।’
बाहिरी सुरक्षाको लागि प्रहरी परिचालनन हुने बोर्डले जनाएको छ । ‘शिक्षक केन्द्राध्यक्ष हुँदा पनि सुरक्षाको लागि प्रहरी परिचालन गरिने गरेको थियो,’ उनले भने ।
प्राज्ञहरू विद्यार्थीको परीक्षा प्रभावित हुनुमा सरकार र शिक्षक दुवै जिम्मेवार रहेको बताउँछन् ।
‘सरकारले शिक्षकको माग समयमा सम्बोधन गरेको भए यो स्थिति आउने थिएन । २०७५, २०७८, २०८० मा सम्झौता गर्नुपर्ने थिएन । यसबाट सरकारले आलटालका निम्ति मात्र सम्झौता गर्ने गरेको स्पष्ट हुन्छ । शिक्षक महासंघले पनि विद्यार्थीको परीक्षा नगर्ने भन्ने हुँदैन । उहाँहरू पनि चुक्नुभयो,’ शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले भने ।
यसपटक कक्षा १२ मा पाँच लाख ११ हजार विद्यार्थी सहभागी हुँदैछन् । परीक्षाका लागि १ हजार ५ सय ९०ा परीक्षा केन्द्र तोकिएका छन् । तर, अभिभावक तथा परीक्षार्थीमा परीक्षा होला नहोला भन्ने अन्योल कायम छ ।
यसअघि परीक्षा सञ्चालन अघि तालिम हुने गरेको थियो । महासंघले तालिम गोष्ठी पनि बहिष्कार गरेको छ । ‘आज ९ गते भयो । परीक्षाको दिन आउन दुई दिन बाँकी छ । यस्तो समयमा बोर्डले परीक्षा गर्ने निर्णय गर्यो । हामी असहयोग गर्छौं । शैक्षिक हड्ताल कायमै छ,’ शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले भने । शिक्षा ऐन जारी गर्न माग गर्दै २० चैतदेखि शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।
प्रतिक्रिया 4