
काठमाडौं । गायक तथा संगीतकार उज्ज्वल सागरको पहिलो लाइभ कन्सर्ट सम्पन्न भएको छ । शनिबार झम्सिखेलस्थित मोक्षबारमा कन्सर्ट आयोजना भएको थियो ।
करिब ३०० दर्शक सहभागी खचाखच हलमा उज्ज्वल र उनको ब्यान्डले १० वटा आफ्नै र दुईवटा अग्रज कलाकारको गीत गाएर मनोरञ्जन दिए ।
उनको ब्यान्डमा गायनमा उज्ज्वल सागर स्वयम थिए भने उनलाई एउटा गीतमा गायिका प्रवृत्ति राईले साथ दिइकी थिइन् । गितारमा नरेन मोक्तान र विश्व अधिकारी, ड्रम्समा रिदम बोगटी, बाँसुरीमा रुपेश शाक्य, किबोर्डमा निल घतानी, बेस गितारमा जय लामा दोङ, तबलामा आयुष धिताल र साउण्ड इन्जिनियरका रुपमा सविन शाक्य थिए ।
कार्यक्रम चलिरहँदा गायक तथा संगीतकार सुशान्त घिमिरे पनि उज्ज्वललाई हौसला दिन स्टेजसम्म गएका थिए । कार्यक्रममा उज्ज्वल सागर र ब्यान्डले सुनन, तिमी खुशी त छौ नि, सुनाखरी, दैलो, सन्नाटा, मिर्मिरे, छायाँ र धुन लगायतका आफ्ना गीत तथा बच्चु कैलाशको टाढा टाढा जानु छ साथी र मेल्वा देवीको सवारी मेरो रेलैमा गीतहरू पनि प्रस्तुत गरे ।
प्रतिक्रिया 4