+
+
Shares

मान्छेले किन यौनको बारेमा बढी सोच्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ९ गते १९:२०

एउटा रोचक भनाइ छ, ‘पुरुषहरूले हरेक सात सेकेन्डमा यौनको बारेमा सोच्छन् ।’ के यो सत्य हो ? यदि हो भने उनीहरूले घर परिवार, करियर, मनोरञ्जन, किनमेल, पढाइ आदिबारे आंशिक मात्रामा सोच्छन् ?

यस सम्बन्धमा बीबीसीमा एउटा लेख छापिएको छ । लेखमा केही विशेषज्ञ र उनीहरूको अध्ययनलाई आधार मानेर यही प्रश्नको फेरो खोज्ने यत्न गरिएको छ । र निचोडमा भनिएको छ, ‘पुरुषले दिनमा औसत १९ पटकसम्म यौनको विषयमा सोच्न सक्छन् ।’

यसैगरी साइकोलोजी टुडेमा यस्तै अर्को लेख छ । लेखमा भनिएको छ, ‘यौनको विषयमा महिलाले भन्दा बढी पुरुषले सोच्ने गर्छ भन्ने आम बुझाइ छ । तर, अध्ययनहरूमा के पाइएको छ भने यी दुई बीचको तुलनात्मक भिन्नता एकदमै कम छ । पुरुषले दिनमा औसत ८ पटक यौनको कुरा सोच्छन् भने महिलाले लगभग ६ पटक सोच्छन् ।

आखिर जे होस्, मान्छेले दिनभरमा कुनै न कुनै बेला यौनको कुरा मनमा खेलाउँछन् ।

मनोविश्लेषणका जनक भनिने सिग्मण्ड फ्रायडले भनेका छन्, ‘यौन चिन्तन एक स्वभाविक प्रक्रिया हो । यो अपरिहार्य पनि छ, किनभने यौन मान्छेको जैविक प्रकृति र सामाजिक–सांस्कृतिक प्रभावको संयोजन हो ।’

उनका अनुसार यौन शारीरिक कार्य मात्र नभई मानसिक एवं भावनात्मक प्रक्रिया पनि हो । यौन चिन्तन मान्छेको स्वभाविक अभिव्यक्ति हो, जुन अवचेतनमा गहिरो रुपमा जोडिएको हुन्छ । मान्छेको दिमागमा यौनका विषयमा कुराहरू आउनु कुनै अनौठो वा भिन्न कुरा होइन ।

जैविक दृष्टिकोणबाट यौन एक प्राकृतिक आवश्यकता हो, जसले प्रजातिको निरन्तरता सुनिश्चित गर्छ । टेस्टोस्टेरोन र इस्ट्रोजेन जस्ता हर्मोनले यौन इच्छालाई प्रेरित गर्छन्, जसले मानव मस्तिष्कमा यौन सम्बन्धी विचारहरू उत्पन्न गर्छ ।

मनोवैज्ञानिक दृष्टिकोणबाट, यौन चिन्तन अवचेतन मनको इच्छा र दमित भावनाहरूको परिणाम हो । फ्रायडको विचारमा, समाजले यौन सम्बन्धी इच्छाहरूलाई नियन्त्रित गर्न नियम र नैतिकताहरू लागू गर्छ, जसले गर्दा यी इच्छाहरू अवचेतनमा दबिन्छन् । यी दमित इच्छाहरू सपना वा रचनात्मक अभिव्यक्तिहरू मार्फत प्रकट हुन्छन् ।

सामाजिक र सांस्कृतिक कारकहरूले पनि यौन चिन्तनलाई प्रभावित गर्छन् । फ्रायडको समयमा यौन सम्बन्धी चर्चा सामाजिक रूपमा निषेधित थियो, जसले यौनलाई थप रहस्यमय र आकर्षक बनायो । आजको सन्दर्भमा मिडिया, विज्ञापन र पप संस्कृतिले मान्छेको मनमा यौन सम्बन्धी विचारहरूलाई बारम्बार उत्पन्न गर्छ ।

रचनात्मक क्षमता र उर्जाशील समय नष्ट गर्छ ?

मान्छेले यौनको विषयमा त सोच्ने नै भयो । तर, यसरी यौनको कुरा सोच्दा मान्छेको उर्जाशील समय र रचनात्मक क्षमता नष्ट हुन्छ त ?

फ्रायडको सिद्धान्तले यो प्रश्नको जवाफ जटिल तर रचनात्मक दृष्टिकोणबाट दिन्छ । फ्रायडका लागि यौन ऊर्जा केवल विनाशकारी होइन, बरु यो जीवनको रचनात्मक शक्ति हो। लियोनार्दो दा भिन्ची, विलियम शेक्सपियर वा पाब्लो पिकासो जस्ता कलाकारहरूले आफ्नो यौन ऊर्जालाई कला, साहित्य र नवप्रवर्तनमा परिणत गरेको फ्रायडले विश्वास गर्थे।

फ्रायडले यौन ऊर्जालाई पानीको धारासँग तुलना गरेका छन् । पानीको धारा सही दिशामा बग्छ भने, यसले खेतलाई सिञ्चित गर्छ, तर यदि यो नियन्त्रणबाहिर जान्छ भने, यसले बाढी निम्त्याउँछ ।

पक्कैपनि अस्वस्थ यौन विचारले मान्छेको उर्जा र रचना क्षमतालाई बाधा गर्छ । मान्छे अत्याधिक यौनको विषयमा सोच्छ र त्यसलाई दबाएर राख्छ भने त्यसले उसलाई मानसिक समस्यामा पार्छ । अतः रचनात्मक काम वा उर्जाशील समयमा आफूलाई केन्द्रित गर्न सक्दैन ।

सारमा के भन्न सकिन्छ भने, यौनको बारेमा सोच आउनु कुनै अनौठो वा अप्राकृतिक कुरा होइन । तर यसैमा मात्र बढी केन्द्रित हुँदा आफ्नो उर्जाशील समय भने नष्ट हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?