+
नेपाल सुपर लिग २०२५ :

एनएसएल क्वालिफायर टु : फाइनल पुग्न धनगढी र पोखरा प्रतिस्पर्धा गर्दै

२०८२ वैशाख  १० गते १०:४२ २०८२ वैशाख १० गते १०:४२
एनएसएल क्वालिफायर टु : फाइनल पुग्न धनगढी र पोखरा प्रतिस्पर्धा गर्दै

१० वैशाख, काठमाडौं । नेपाल सुपर लिग २०२५ अन्तर्गत क्वालिफायर टु मा आज धनगढी एफसी र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।

लिग चरणमा दोस्रो भएको धनगढी क्वालिफायर वानमा ललितपुर सिटी एफसीसँग २-१ ले पराजित भएपछि क्वालिफायर टु खेल्न लागेको हो । यस्तै लिगमा चौथो भएको पोखराले एलिमिनेटरमा लिगमा तेस्रो भएको एफसी चितवनलाई ३-० ले पराजित गर्दै क्वालिफायर टु मा स्थान बनाएको हो ।

जारी एनएसएलमा धनगढीको र पोखराको हालसम्मको प्रदर्शन विपरित खालको छ । लिग चरणमा सुरुवाती दुई खेल हारपनि त्यसपछि लगातार ५ खेलमा अपराजित रहेको पोखरा पछिल्लो दुई खेलमा जितसहित लयमा देखिएको छ ।

उता लिग चरणमा लगातार पाँच खेलमा अपराजित रहेको धनगढी भने पछिल्लो दुई खेलमा पराजित भएको थियो । लिगको अन्तिम खेलमा एफसी चितवनसँग पराजित भएको धनगढी क्वालिफायर वानमा ललितपुरसँग पराजित भएको थियो ।

पछिल्ला पाँच खेलमा अपराजित पोखराको मोमेन्टम राम्रो देखिएको छ । अर्कोतर्फ राम्रो सुरुवात गरेपनि पछिल्लो दुई खेलमा पराजित हुँदा धनगढीको मोमेन्टम गुमाएको छ ।

धनगढीका मुख्य प्रशिक्षक हुवाँ मानुएल मार्टिनेजले पहिलो क्वालिफायर हारेपनि अर्को अवसर रहेको र त्यसमा राम्रो प्रदर्शन गर्दै फाइनल पुग्ने लक्ष्य सुनाएको थिए । उनले ललितपुरसँग हारपछि फाइनल पुग्नका लागि आफूहरुसामु कठिन बाटो रहेको बताएका थिए ।

यस्तै धनगढीका कप्तान देवेन्द्र तामाङले पनि क्वालिफायर टु मा राम्रो नतिजा निकाल्दै फाइनल पुग्ने लक्ष्य सुनाएका थिए । क्वालिफायरमा वानमा रातो कार्ड पाएका धनगढीका विदेशी खेलाडी जोर्ग साइसेडो आजको खेलमा उपलब्ध हुने छैनन् ।

पछिल्लो खेलहरुमा राम्रो नतिजा निकालेको पोखराको टिम अहिले लयमा देखिएको छ र त्यही लय कायम राख्दै फाइनल पुग्ने लक्ष्यमा छ । एलिमिनेटर जितेपछि पोखराका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले टिममा लयमा आउन थालेको र अबको खेलहरुमा अझ राम्रो प्रदर्शन गर्दै उपाधि जित्ने अन्तिम लक्ष्य रहेको बताएका थिए ।

यस्तै पोखराका कप्तान नवयुग श्रेष्ठले अझै टफ खेलहरु बाँकी रहेकोले त्यसमै केन्द्रित भएर खेल्ने बताएका थिए । लिग चरणमा धनगढी र पोखराबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो ।

नेपाल सुपर लिग २०२५
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय