
९ वैशाख, काठमाडौं । सरकारले जुत्ता, चप्पल र औषधिमा एक साताभित्र अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) राख्न निर्देशन दिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जुत्ता उत्पादक संघ नेपाल र रसायन तथा मेडिकल आपूर्ति संघ नेपाललाई एक साताभित्र एमआरपी सहित लेबल लगाउन निर्देशन दिएको हो ।
विभागका महानिर्देशक कुमारप्रसाद दाहाल सहितको टोलीले मंगलबार यी दुई संघसँग छलफल गरेको थियो । उक्त छलफलमा सात दिनभित्र एमआरपी सहितको लेबल राख्ने सहमति भएको विभागका महानिर्देशक दाहालले बताए ।
उनका अनुसार गत चैतदेखि नै विभागले एमआरपी सहित लेबल लगाउन निर्देशन गरेको भए पनि जुत्ता चप्पल र औषधिजन्य वस्तु उत्पादक तथा आयातकर्ताले उक्त निर्देशन पालना नगरेको पाइएपछि विभागले उनीहरूसँग छलफल गरेको हो ।
९ वैशाखको मितिबाट ७ दिनभित्र अनिवार्य एमआरपी सहितको लेबल नराखे कारबाही गर्ने उनले बताए ।
नेपालको संविधानको धारा ४४ र उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ को उपदफा ३ बमोजिम उत्पादक आफूले उत्पादन गरेका वस्तु तथा आयात गरिएको वस्तु भए आयातकर्ताले बिक्री वितरण गरिने वस्तुमा सर्वसाधारणले बुझ्ने गरी नेपाली वा अंग्रेजी भाषामा अनिवार्य एमआरपी लेबल लगाउनुपर्ने कानुनी व्यवस्था छ ।
प्रतिक्रिया 4