
१० वैशाख, काठमाडौं । पत्रकार सुरेश रजक मृत भेटिएको घरबाट बाहिरिएका नकावधारी युवाको अझै पहिचान खुल्न सकेको छैन । घटना भएको करिब एक महिना बित्न लाग्दा समेत नकावधारी युवाको पहिचान हुन नसकेको हो ।
गत १५ चैतमा भएको राजावादी प्रदर्शनमा तीनकुनेस्थित एक घरमा प्रदर्शनकारीले आगो लगाउँदा पत्रकार रजकको मृत्यु भएको थियो । सोही घरको भर्याङबाट झर्दै गरेका एक युवाको भीडीओ समेत सार्वजनिक भएको थियो । एनी कुँवर नाम गरेकी युवतीको पछि-पछि अग्लो कदका एक युवा ओर्लिएको भीडीओमा देखिन्छ ।
हातमा राष्ट्रिय झण्डा बाँधेका र अनुहारमा नकाव लगाएका ती व्यक्ति को हुन् भन्नेबारे अहिलेसम्म पहिचान हुन नसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृत बताउँछन् । उक्त भीडीओ सार्वजनिक भएपछि एनी कुँवर समेत पक्राउ परेर अहिले हिरासतमा छिन् ।
पहिचान नखुलेका व्यक्तिको बारेमा प्रहरीले कुँवरसँग सोधपुछ गरे पनि उनले पनि आफूलाई थाहा नभएको बताएकी छिन् । ती युवाको पहिचान हुन नसक्दा उनी कानुनी दायरामा आउन सकेका छैनन् ।
त्यही घरमा आगो लगाएको आरोपमा पक्राउ परेका रामेछापको सुनापति गाउँपालिका–१ का २२ वर्षीय सरोज गौतम र अछामको पञ्चदेवल नगरपालिका घर भएका २० वर्षीय गोकर्ण शाहीविरुद्ध अहिले कर्तव्य ज्यानको कसुरमा समेत अनुसन्धान अघि बढाइएको छ । उनीहरु एटीएफ (अनवरत तत्पर फौज)का दुई कार्यकर्ता रहेको प्रहरीको भनाइ छ ।
उनीहरूले १५ चैतमा भएको प्रदर्शनमा प्रेमबहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवनमा आगो लगाएका थिए । सोही घरमा चढेर भीडीओ खिच्दै गरेका पत्रकार रजकको मृत्यु भएको थियो ।
तीनकुने प्रदर्शनमा पक्राउ परेकामध्ये अहिले परिसरको हिरासतमा ६४ जना छन् । अहिलेसम्म पक्राउ परेकामध्ये ८५ जनालाई अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको थियो । उनीहरूमध्ये २१ जनालाई भने हाजिरी जमानीमा रिहा गरेर अनुसन्धान गरिएको छ । तर हाजिरी जमानीमा छाडिएकाहरूलाई मुद्दा भने चलाइने प्रहरीले बताएको छ ।
राजा फर्काउने दाबी गर्दै १५ चैतमा दुर्गा प्रसाईंको नेतृत्वमा तीनकुनेमा प्रदर्शन भएको थियो । तर उक्त प्रदर्शन हिंसात्मक बन्यो । प्रदर्शनमा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जन र प्रदर्शनकारीले घरमा लगाएको आगोमा जलेर पत्रकार सुरेश रजकको मृत्यु भयो । व्यक्तिको घर जलाइए । पसल, मार्ट तोडफोड भए । निजी सम्पत्तिमा ठूलो क्षति भयो । सवारी साधन जलाइए । प्रहरीको बन्दुक लुटियो ।
प्रतिक्रिया 4