
१० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना सकिँदा ७ अर्ब बढी राजस्व उठाएको छ ।
काठमाडौं महानगरले ७ अर्ब २१ करोड ६२ लाख ८४ हजार २८ रुपैयाँ बराबर राजस्व संकलन गरेको हो । जबकि, गत आव २०८०/८१ मा ६ अर्ब ६५ करोड ५६ लाख ८१ हजार उठाएको थियो । जुन चालु आर्थिक वर्षभन्दा ५६ करोडले कम हो । यो वर्षको प्रक्षेपण १२ अर्ब ९० करोड ६३ लाख २५ हजार बराबर छ ।
घर बहाल करमा बढ्यो राजस्व
गत आवसम्म तुलना गर्दा घरबहाल करमा २५ करोड ५३ लाख २ हजार ४२ रुपैयाँ बढी संकलन भएको महानगरले जनाएको छ ।
२०८०/८१ मा १ अर्ब ८६ करोड १२ लाख ८२ हजार २ सय २९ रुपैयाँ संकलन भएको थियो । राजस्व विभाग प्रमुख दीपक अधिकारीका अनुसार यो शीर्षकमा चालु आव यही अवधिमा २ अर्ब ११ करोड ६५ लाख ८४ हजार २ सय ७२ बराबर राजस्व संकलन भएको छ ।
यस्तै सम्पत्ति करमा १५ करोड २२ लाख ४३ हजार १ सय ४५ रुपैयाँ बढी राजस्व संकलन भएको छ । गत आव सोही अवधिमा ७९ करोड ५२ लाख ८३ हजार ६६ संकलन भएकोमा यो वर्ष ९४ करोड ७५ लाख २६ हजार २ सय १२ संकलन भएको हो ।
त्यस्तै न्यायिक दस्तुरमा ८४ हजार ८ सय ५ रुपैयाँ, पर्यटन शुल्क १ करोड ६७ लाख ४० हजार ५ सय, भूमिकर/मालपोत कर १ लाख ९० हजार ८ सय ७०, सिफारिस दस्तुर ७१ लाख २८ हजार २ सय ६८, प्रशासनिक दण्ड, जरिबाना र दस्तुरमा ३९ लाख ५६ हजार ८ सय ८३ रुपैयाँ बढी जम्मा भएको छ ।
कर टोलीले बढायो राजस्व
राजस्व बढ्नुका कारणबारे जानकारी दिँदै अधिकारीले भने, ‘व्यवसाय कर टोली नियमित परिचालन गरेका छौं । १ लाख रुपैयाँभन्दा बढी कर तिर्दै आएका करदातालाई पत्र पठाएर कर तिर्न अनुरोध गरेका छौं ।’
उनले आन्तरिक राजस्व कार्यालयसँग समन्वय गरेर गएको वर्ष राजस्व कार्यालयमा घर बहाल कर तिरेका करदाताको विवरण महानगरपालिकाको विवरणमा समेटिएको बताए ।
घट्यो नक्सा पास दस्तुर
सहरमा भवन निर्माण गर्ने स्थान सकिँदै गएपछि नक्सा पास दस्तुर घट्न थालेको अधिकारीको भनाइ छ । यो शीर्षकमा गत वर्ष ४९ करोड ८२ लाख १० हजार ७ सय १० रुपैयाँ संकलन भएकोमा यो वर्ष २९ करोड ६४ लाख ७४ हजार ५ सय ३६ रुपैयाँ संकलन भएको छ । यो गत वर्षभन्दा २० करोड १७ लाख २६ हजार १ सय ७४ कम हो ।
अन्य प्रशासनिक सेवा शुल्कमा पनि यस वर्ष राजस्व घटेको छ । यो शीर्षकमा गत वर्षभन्दा २ करोड ६३ लाख ९६ हजार २ सय ९९ रुपैयाँ कम राजस्व उठेको छ ।
त्यस्तै हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको आय वृद्धि भएको छ । गत वर्ष यस अवधिमा १४ करोड ६ लाख ६३ हजार रुपैयाँ पर्यटन शुल्क संकलन गरेको कार्यक्रमले यस वर्ष १५ करोड ७४ लाख ३५ हजार रुपैयाँ संकलन गरेको छ ।
पर्यटन सेवा शुल्कसँगै अन्य सेवा शुल्क र अन्य प्रशासनिक सेवा शुल्क गरी कार्यक्रमबाट १५ करोड ७८ लाख ५३ हजार ५ सय रुपैयाँ संकलन भएको छ । गत वर्ष यस अवधिमा १४ करोड ९ लाख ६८ हजार रुपैयाँ संकलन भएको थियो ।
प्रतिक्रिया 4