+

गर्मी र वर्षायाममा सताउन सक्छ यी ७ स्वास्थ्य समस्याले

२०८२ वैशाख  ११ गते १५:४७ २०८२ वैशाख ११ गते १५:४७
Shares
गर्मी र वर्षायाममा सताउन सक्छ यी ७ स्वास्थ्य समस्याले

गर्मीको समय सुरु भएको छ । गर्मीसँगै वर्षा पनि सुरु हुँदैछ । यो समयलाई सरुवा रोगको मौसम पनि मानिन्छ । अब दूषित खाना र पानीसँग जोडिएका सरुवा रोगको जोखिम बढी हुन्छ । गर्मी र वर्षातको मौसम सुरु भएसँगै टाइफाइड ज्वरो, हेपाटाइटिस, स्क्रब टाइफस, लेप्टोस्पाइरोसिस, झाडापखाला, आउँ जस्ता रोग देखा पर्छन् ।

गर्मी सुरु हुने र पानी पर्ने भएसँगै लामखुट्टेको संख्या वृद्धि हुने र लामखुट्टेले सार्ने खालका औलो, डेंगी जस्ता संक्रमणहरू पनि देखिन्छन् । स्वास्थ्य समस्याहरू देखा नपर्दै हामी सचेत हुन सकियो भने त्यसबाट बच्न सकिन्छ ।

कुन सरुवा रोगबाट कसरी बच्ने ?

१‍.झाडापखाला/आउँ

गर्मी सँगसँगै वर्षात् पनि सुरु हुन्छ । पानीका स्रोतहरू दूषित हुने सम्भावना बढी हुन्छ । मान्छे तथा जनावरका दिसा–पिसाब साथै अन्य दूषित पानीका स्रोत दूषित हुँदा
र त्यस्ताे पानी हामीले सिधै पिउँदा झाडापखाला, आउँ जस्ता रोग देखा पर्छन् । मान्छे तथा जनावरको दिसामा पाइने ‘कोलिफर्म’ कीटाणुले आउँ मासी पर्न सक्छ । सडेका, गलेका, बासी तथा झिँगा भन्किएका जस्ता दूषित खानाबाट पनि झाडापखाला लाग्न सक्छ ।

लक्षणहरू

बारम्बार दिसा लाग्ने, पेट दुख्ने, बान्ता हुने, शरीर गल्ने जस्ता लक्षण देखिन्छन् । आउँको समस्या छ भने दिसा गर्दा रगत देखापर्ने, पूरै दिसा ननिस्किएको जस्तो महसुस हुने लक्षण पनि देखापर्छ ।

बच्ने उपाय

पिउने पानीलाई उमालेर वा फिल्टर गरेर प्रयोग गर्ने । पानीका मुहानहरू सफा राख्ने, ताजा खाना खाने, बासी खाना छ भने राम्ररी तताएर मात्रै खाने । खुल्ला ठाउँमा दिसा-पिसाब नगर्ने ।

झाडापखाला लागेपछि शरीरमा पानीको कमी हुने भएकाले पुनर्जलीय झोल बनाएर पटक-पटक पिउनुपर्छ । निरन्तर पखाला लागिरहेमा तुरुन्त स्वास्थ्य संस्थामा गएर उपचार  गर्नुपर्छ ।

अदुवा, लसुन र ज्वानोको प्रयोगले पाचन प्रणालीलाई बलियो बनाउँछ । एक गिलास पानीमा एक चम्चा ज्वानो भिजाएर पिउँदा पेट सफा हुन्छ।

२.टाइफाइड

टाइफाइड ‘साल्मोनेला टाइफी’ जीवाणुले हुने रोग हो, जुन दूषित पानी वा खानाबाट सर्छ । वर्षायाममा खानपानमा ध्यान नदिँदा यो रोगको सम्भावना बढ्छ।

लक्षणहरू

निरन्तर ज्वरो आउने, अत्याधिक पसिना आउने, जाडो हुने, थकान, पेट दुख्ने, खान रुचि नहुने, कब्जियत वा पखाला लाग्ने, वान्ता हुने हुन्छ । केही दिनपछि छातीको तल्लो भाग र पेटमा राता बिबिराहरू देखिन सक्छन् ।

बच्ने उपाय

स्वच्छ खानेकुरा खाने र स्वच्छ पानी पिउने गर्नुपर्छ । फलफूल र तरकारीलाई राम्ररी धोएर खानुपर्छ। शौचालय सफा राख्नुपर्छ । टाइफाइडविरुद्धको खोप लगाउने पनि यसबाट बच्ने उपाय हो । धेरै दिनसम्म ज्वरो आएमा स्वास्थ्य संस्थामा जाँच गराउनुपर्छ ।

३.डेंगी

डेंगी एडिस जातको पोथी लामखुट्टेले सार्ने गर्छ । पछिल्ला दिनमा यो रोग बढिरहेको देखिन्छ । प्रायगरी वर्षायाम सकिनै लाग्दा भदौ, असोजमा यसको प्रकोप धेरै देखिने गरेको छ । गत वर्षहरूमा नेपालका विभिन्न ठाउँमा यो प्रकोपकै रुपमा देखा परिरहेको छ।डेंगी नियन्त्रका लागि अहिलेदेखि सावधानी अपनाउन सुरु गर्नु आवश्यक छ ।

डेंगीका लक्षणहरू

उच्च ज्वरो आउने, जोर्नी तथा शरीर दुख्ने, टाउको दुख्ने, शरीरमा रातो दाग देखिने र गम्भीर अवस्थामा भएमा शरीरका विभिन्न भागबाट रक्तस्राव हुने समस्या पनि डेंगीले निम्त्याउँछ ।

बच्ने उपाय

लामखुट्टेको नियन्त्रण र लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगबाट बच्ने मुख्य उपाय हो । घर वरपर पानी जम्न नदिने।  ड्रम तथा अन्य भाँडाहरूमा लामो समयसम्म पानी जमाएर नराख्ने, राति सुत्दा झुलको प्रयोग गर्ने र लामखुट्टे भगाउने क्रिम लगाउने, साँझपख बाहिर हिँड्दा बाहुला भएको कपडा लगाउने ।

४. मलेरिया

औलो अर्थात मलेरिया पनि लामखुट्टेले सार्ने रोग हो । एनोफिलिस जातको लामखुट्टेले मलेरिया सार्ने गर्छ ।

लक्षण

मलेरियाको मुख्य लक्षण भनेको ज्वरो नै हो । अन्य लक्षणमा जाडो हुने, पसिना आउने, टाउको दुख्ने, वाक्वाकी र बान्ता हुने, हाडजाेर्नीहरू दुख्ने हुन्छ ।

कसरी बच्ने  ?

डेंगीमा जस्तै यसमा पनि लाम खुट्टेको टोकाइबाट बच्ने र लामखुट्टेको नियन्त्रणमा ध्यान दिनु आवश्यक छ । मलेरियाको शंका लागेमा समयमै स्वास्थ्य संस्था  गएर उपचार गराउनुपर्छ ।

५. हेपाटाइटिस

विभिन्न खालका हेपाटाइटिसहरुमध्ये हेपाटाइटिस ए र ई भाइरल संक्रमण दूषित पानी र खानाबाट सर्छ। यो संक्रमणले कलेजोलाई असर गर्छ र जन्डिसको समस्या निम्त्याउँछ।

लक्षणहरू

छाला पँहेलो हुने, पहेँलो छाला, आँखा पहेँलो हुने, पिसाब गाढा पहेँलो हुने, थकान र भोक नलाग्ने समावेश छन्।

बच्ने उपाय

बाहिरको खाना र बासी खाना नखाने। फलफूल र तरकारीलाई राम्ररी धोएर खाने। मदिरा सेवन नगर्ने । हामीले पिउने पानीको शुद्धतामा ध्यान दिने । प्रशस्त झोल कुरा खाने ।

६.लेप्टोस्पाइरोसिस

यो लेप्टोस्पाइरा नामक जीवाणुले गर्दा लाग्ने रोग हो । संक्रमित पशु तथा मुसाबाट समेत यो सर्ने गर्छ । विशेष गरी जनावरहरूको दिसा-पिसाबहरू मान्छेले पिउने पानीमा मिसिएर वा कुनै माध्यमबाट मानिसको नाक, आँखा वा मुखमा  जीवाणु प्रवेश गर्दा लेप्टोस्पाइरोसिस संक्रमण हुन्छ ।

लक्षणहरू

ज्वरो आउने, टाउको दुख्ने र मांसपेशी दुखाइ हुने, शरीर गल्ने लक्षण देखिन्छ । गम्भीर अवस्थामा मिर्गौला र कलेजो बिग्रेको, मेनिन्जाइटिस वा श्वासप्रश्वासको समस्या देखिने र बिरामीको मृत्यु पनि हुन सक्छ ।

कसरी बच्ने ?

पानी उमालेर तथा शुद्धिकरण गरेर मात्र पिउनुपर्छ । काँचै खाने तरकारी तथा फलफूलहरू सफा पानीले पखालेर मात्रै खाने । जनावरको फोहोर सफा गर्दा तथा हिलोमा काम गर्दा जुत्ता पञ्जा लगाएर काम गर्ने । माटोमा काम गरेपछि राम्रोसँग साबुन पानीले हातखुट्टा धुनुपर्छ ।

७.सर्पदंश

विशेषतः तराईमा गर्मीमा हुने अर्को ठूलो समस्या हो सर्पदंशकाे समस्या । स्वास्थ्य समस्याहरूको कुरा गर्दा सर्पदंशको कुरालाई खासै ध्यान दिएको देखिँदैन । सर्पको टोकाइले हरेक वर्ष धेरैले ज्यान गुमाउने गरेका छन् । हाम्रो अस्पताल (टेकु अस्पताल) मा सर्पदंशका बिरामी आउन थालिसकेका छन् ।

गर्मी लागेसँगै सर्पहरू जमिनको सतहमा आउने हुन्छ । मान्छेहरू पनि गर्मी लागेपछि नै खेती लगाउनुपर्ने, घाँस काट्नु पर्ने अवस्था हुन्छ । जताजतै झरपातले ढाक्ने हुँदा सर्प त्यसमा लुकिरहेका हुन्छन् । यस्तोमा सर्पले टोक्ने सम्भावना धेरै हुन्छ । सर्पको टोकाइबाट बन्ने उपायहरू अपनाउन जरुरी छ ।

कसरी बच्ने ?

सर्पको टोकाइबाट बच्न बाहिर हिंड्दा शरीर छोप्ने कपडा लगाउने, खेतबारी तथा झाडीमा जाँदा लामो बुट लगाएर जानुपर्छ । राति बाहिर निस्कँनु परेको छ भने टर्च लाइटहरू बालेर हिँड्ने गर्नुपर्छ । सर्प लुक्ने सम्भावित ठाउँहरूमा सावधानी अपनाउने । राति ओछ्यानमा सुत्नु अगाडि राम्ररी हेरेर मात्रै सुत्ने, सुत्दा झुलको प्रयोगले पनि सर्पको टोकाइबाट बच्न सकिन्छ ।

सर्पले टोकिहालेमा कुनै घरेलु उपचारतिर नलागी तुरुन्तै स्वास्थ्य संस्था जानुपर्छ ।

सरुवा रोग
डा. विमल चालिसे
लेखक
डा. विमल चालिसे
प्रमुख कन्सल्टेन्ट फिजिसियन

डा. चालिसे काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन हुन् । इन्टरन मेडिसिनमा एमडीमा गरेका उनको नेपाल मेडिकल दर्ता नम्बर २६०९ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय