११ वैशाख, काठमाडौं । सार्थक खेल संसारको नेतृत्वमा नेपाल यूथ गेम्स २०८२ हुने भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रम गर्दै यूथ गेम्सको औपचारिक घोषणा गरिएको हो ।
यस प्रतियोगिता यू-१५ उमेर समूहका किशोर–किशोरीहरूलाई लक्षित गरिएको छ। प्रतियोगिता फुटबल, बास्केटबल, भलिबल, क्रिकेट, एथ्लेटिक्स, र ई–स्पोर्ट्स गरी ६ विधामा सञ्चालन हुनेछ।
देशका ७७ वटै जिल्लामा प्रतिभा खोजी तथा छनोट कार्यक्रम सञ्चालन गरिनेछ। छनोट र प्रशिक्षण सँगसँगै हुने भएकाले समय लाग्ने प्रक्रिया भन्दै आयोजकले यो कार्यक्रमबारे अग्रिम जानकारी दिएको हो।
फाइनल चरण मंसिर १३ गतेदेखि २० गतेसम्म काठमाडौं उपत्यकामा हुनेछ जहाँ ७ प्रदेशका टिमहरुले प्रतिस्पर्धा गर्नेछन् ।
यो प्रतियोगिता नेपालमै पहिलोपटक दीर्घकालीन दृष्टिकोणसहितको आयोजना हो। हरेक वर्ष एक प्रदेशमा आयोजना गरिने योजना अनुसार पहिलो संस्करण गण्डकी प्रदेशबाट सुरु हुनेछ र १० वर्षमा सातै प्रदेशमा विस्तार गरिनेछ।
यूथ गेम्समार्फत माध्यमिक तहका किशोरहरूलाई पेसागत खेलकुदतर्फ डोर्याउने लक्ष्य राखिएको छ। दस वर्षको योजना बनाएर यो खेल गर्न लागेको र १० वर्षपछि राष्ट्रिय टिममा खेलाडी पुर्याउने लक्ष्य भएको बताइएको छ ।
सार्थक खेल संसारले ७ वटै प्रदेशमा एकेडेमी निर्माण गर्ने योवजना रहेको समेत अध्यक्ष सुसन दुलालले बताए । प्रदेशमा स्कुलहरुसँग पनि टाई-अप गरेर एकेडेमी सञ्चालन गरिनेछ ।
प्रतियोगिताको कुल बजेट २ करोड रुपैयाँ रहेको अध्यक्ष दुलालले जनाए । जिल्लाको खेलाडीहरू छनोट चरण कार्यक्रम अर्को हप्ताबाट सुरु गर्ने तयारी छ ।
प्रतिक्रिया 4