११ वैशाख, नेपालगञ्ज । अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबलको उपाधि एपीएफ क्लब र नेपाल पुलिस क्लब दुवै टिमले जित्ने दाबी गरेका छन । उपाधि भिडन्त शुक्रबार हुँदै छ ।
नेपालगञ्जमा बिहीबार पत्रकारहरूसँग कुराकानी गर्दै एपीएफ क्लबका प्रशिक्षक भगवती थापाले आफूहरुलाई खेल जित्नै पर्ने दबाब रहेको बताइन् । उनले प्रतिस्पर्धीलाई कमजोर ठान्न नहुने बताउँदै नतिजा आफूहरुले जित्ने दाबी गरेकी हुन ।
यस्तै कप्तान अनिता बस्नेतले खेल रोमाञ्चक हुने बताउँदै आफूहरु जित्नको लागि खेल्न लागेको प्रतिक्रिया दिएकी छन् । नेपालगन्जमा भएको यो प्रतियोगिताले महिला खेलाडीलाई मात्र नभई समग्र खेलप्रेमीहरुलाई हौसला जगाएको उनले बताएकी छिन ।
यस्तै पुलिस क्लबका प्रशिक्षक सुमन सुवेदीले खेल जित्नको लागि रणनीति बनाएर अगाडि बढ्ने बताए। ‘फुटबलमा नजिता जस्तो पनि आउन सक्छ । राम्रो भनेको टिमले पनि कहिलेकाँही नराम्रो खेल्न सक्छन्, अनि नराम्रो भनेको टिमले राम्रो पनि खेल्न सक्छ’ उनले बताए । उनले भोलिको फाइनलमा राम्रो प्रस्तुति दिने बताए ।
यस्तै कप्तान निरु थापाले घरेलु मैदानमा आएर फाइनल खेल खेल्ने सपना पुरा भएजस्तै खेल जित्ने सपना पनि पुरा हुने बताइन् । फुटबल खेलमा महिला खेलाडीहरुको सहभागिता बढाउनका लागि नियमित तालिम तथा आवश्यक पर्ने व्यवस्थापकीय कामहरु गर्नुपर्ने सुझाव दिएकी छिन । निरन्तर खेल हुन सकेमा यस्ता प्रतियोगिताहरुको उचाई बढ्ने र उपलब्धी हासिल हुने प्रतिक्रिया दिएकी छिन ।
एपीएफ क्लबले कर्णालीलाई ६—० गोल अन्तरले र रौतहटलाई ३ —० ले हराउँदै फाइनल यात्रा तय गरेको हो । यसैगरी नेपाल पुलिस क्लबले भारतीय टिम सिलगुडीलाई ४—० ले र त्रिभुवन आर्मीलाई सडन डेथमा हराएर फाइनल यात्रा तय गरेको हो ।
एपीएफ क्लब र नेपाल पुलिस क्लबबीचको फाइनल खेल शुक्रबार दिउसो ३ बजे सुरु हुनेछ । अन्तरालको आयोजना तथा जिल्ला फुटबल संघको सहकार्यमा जारी प्रतियोगितामा नेपाल र भारतका गरेर ८ वटा टिम सहभागि भएर प्रतिस्पर्धा गरेका हुन ।
प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलिगुडी फुटबल क्लब र रौतहट जिल्ला फुटबल संघ टिम सहभागी भए ।
प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र पुरस्कार प्राप्त गर्ने आयोजक अन्तरालले जनाएको छ ।
प्रतिक्रिया 4