
विवाह गर्नैपर्छ ? यो प्रश्नमा सबैको एकमत छैन । कतिले विवाहलाई अनिवार्य मान्छन् भने कतिले अनावश्यक । कतिले यसलाई नितान्त व्यक्तिगत विषय मान्छन् भने, कतिले सामाजिक बन्धन पनि ।
आखिर जे भएपनि यो एक अन्त्यहीन वहस हो ।
त्यसो त दुनियाँमा विवाह नगर्ने वा यसको विपक्षमा रहनेहरूको जमात पनि कम छैन । खासगरी अहिलेको जमानामा ।
विवाहलाई ‘बन्धन’ वा ‘झन्झट’ मानेर स्वच्छन्द जीवन रोज्नेहरूमा युवतीको संख्या पनि उत्तिकै छ । आखिर किन उनीहरू विवाह गर्न रुचाउँदैनन् ?
नो म्यारिज ट्रेन्ड के हो ?
परम्परागत ढंगले विवाह गर्न नचाहने वा कुनै पार्टनरको अधीनमा बस्न नरुचाउने ट्रेन्ड हो यो । यी व्यक्तिहरू या त लिभ–इन रिलेसनसिपमा बस्छन् वा एक्लै बस्छन् । यो प्रवृत्ति महिलाहरूमाझ बढी लोकप्रिय छ । आधुनिक महिलाहरू एक्लै बस्न रुचाउँछन् ।
नो म्यारिज ट्रेन्डको कारण
सम्बन्धमा परिवर्तन
पछिल्लो समय मानिसहरूको सोचमा परिवर्तन आएको छ । सामाजिक गतिशीलतामा परिवर्तन आएसँगै महिलाहरूले आफ्नो निर्णय आफैँ लिन थालेका छन् । उनीहरू आफ्नो परिस्थिति अनुसार आफैँ निर्णय लिन्छिन् ।
पछिल्लो समय महिलाहरूले आफ्नो जीवनमा अरूको हस्तक्षेप रुचाउँदैनन् । अब महिलाहरूले विवाहलाई उपलब्धि भन्दा पनि एउटा पाटोको रूपमा लिन थालेका छन् ।
आर्थिक स्वतन्त्रता र शिक्षा महत्त्वपूर्ण
पहिलेका मानिसहरू सोच्थे विवाहपछि महिलाको आर्थिक आवश्यकताहरू उसको श्रीमानले मात्र पूरा गर्छ । यस्तो परिस्थितिमा, केटीहरूको शिक्षा प्रायः बन्द गरिन्थ्यो र उनीहरूको विवाह गरिन्थ्यो । आजको आधुनिक युगमा, केटीहरू आफ्नो शिक्षा र आर्थिक स्वतन्त्रतामा ध्यान केन्द्रित गरिरहेका छन् । यसै कारण उनीहरू विवाहलाई आवश्यकता ठान्दैनन् ।
भावनात्मक स्वतन्त्रताको कारण
प्रायः मानिसहरू भावनात्मक निर्भरताको कारणले विवाह गर्छन् । आजभोलि महिलाहरूले आफ्ना भावनाहरू आफैँ नियन्त्रण गर्न थालेका छन् । उनीहरूलाई अरूमा भर पर्न मन पर्दैन । सम्बन्धमा सम्मानको कमीका कारण महिलाहरू अब विवाह जस्ता बन्धनबाट बच्न थालेका छन् ।
आफ्नो पहिचान बनाउनमा ध्यान केन्द्रित
पहिले-पहिले मानिसहरू विवाहलाई महिलाको सुरक्षा र व्यक्तिगत पहिचानसँग जोड्थे । यसलाई पहिले आर्थिक र भावनात्मक आवश्यकताहरूको सम्बन्धमा हेरिन्थ्यो । तर, अहिले महिलाहरूले आफ्नो स्वतन्त्रता र आत्मनिर्णयलाई बढी महत्त्व दिइरहेका छन् ।
करियरमा फोकस
आजको पुस्ता आफ्नो कामप्रति बढी समर्पित भएको छ । उनीहरूका लागि करियर सबैभन्दा ठूलो प्राथमिकता बनेको छ र पछि विवाहको बारेमा सोच्ने प्रवृत्ति बढेको छ । जसले गर्दा केही समयपछि विवाहको विचार दिमागबाट नै हराउँछ ।
खराब सम्बन्धको डर
समाजमा धेरै महिलाहरू असफल सम्बन्धहरूबाट डराउँछन्, जसका कारण उनीहरू आफ्नो खुसी र आफ्नै मानसिक शान्तिलाई बढी प्राथमिकता दिन्छन् । यो पनि अविवाहित रहनुको एउटा कारण हो ।
प्रतिक्रिया 4