
१२ वैशाख, जनकपुरधाम । धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ कुम्हरौडा गाउँमा बिहीबार बिहान साढे ९ देखि १० बजेसम्म बालबालिकाको चहलपहल थियो ।
उनीहरू स्कुल ड्रेसमा सजिएर निजी विद्यालयतर्फ लम्किरहेका थिए । कोही स्कुल बस चढिरहेका थिए भने कोहीलाई अभिभावकले हात समातेर विद्यालयसम्म पुर्याइरहेका थिए ।
कुम्हरौडाको उत्तरबारी टोलमा साढे ९ बजेतिर सडक छेउको रुखको छहारीमा केही बालबालिकासँगै खेलिरहेका थिए, जयराम ठाकुर । लक्ष्मीनिया बजारस्थित श्री लक्ष्मीनिया जनता माध्यमिक विद्यालय, कुम्हरौडामा अध्ययनरत जयराम हालै मात्र कक्षा ८ उत्तीर्ण गरी ९ कक्षामा प्रवेश गरेका विद्यार्थी हुन् ।
शिक्षकहरू आन्दोलनमा सहभागी हुन काठमाडौं गएपछि विद्यालय बन्द छ । जयराम विद्यालय खुल्ने प्रतीक्षामा छन् । उनलाई निजीका विद्यार्थी जस्तै आफ्नो विद्यालय गएर पढ्न मन छ ।
‘हामी सरकारी स्कुलमा पढ्छौं । निजी स्कुल खुलिसके, हाम्रो बन्द छ । सरहरू आन्दोलनमा जानुभएको छ,’ जयरामले भने, ‘अब खुल्छ–खुल्छ भन्छन्, तर कहिले खुल्छ थाहा छैन । साँझ–बिहान घरमै पढ्छु, बाँकी समय साथीहरूसँग खेलेर बिताउँछु ।’
त्यही समूहमा खेल्दै थिए, मनिष ठाकुर । उनी कक्षा ४ बाट ५ मा पुगेका छन् । निकु साह कक्षा ५ बाट ६ मा पुगेका छन् भने राजा मण्डलले ६ कक्षा दोहर्याएका छन् । उनीहरु सबै विद्यालय खुल्ने पर्खाइमा छन् । विद्यालय बन्द हुँदा उनीहरू प्रायः समय कबड्डी, पिलिप्याड जस्ता खेल खेलेर समय बिताउँछन् । नयाँ शैक्षिक सत्र सुरु नहुँदा ट्युसन समेत पढ्न सुरु नगरेको उनीहरूको भनाइ छ ।
‘स्कुल गएर नयाँ कक्षामा पढ्न मन छ । तर स्कुल बन्द छ । त्यसैले दिनभरि हामी यसरी ग्रुपमा खेल्छौं,’ निकुले भने, ‘स्कुल चाँडै खुल्छ भन्ने आशा छ ।’

छोरी पढ्ने विद्यालय बन्द हुँदा स्थानीय जगरनाथ साह हलुवाइ चिन्तित छन् । उनका दुई छोरी आरती कक्षा ६ र नेहा कक्षा ३ मा लक्ष्मीनिया माविमै पढ्छन् । निजी विद्यालयमा अरुका छोराछोरी नियमित जान थालेको देख्दा जगरनाथको मन भारी हुन्छ ।
‘दुईटी छोरी सरकारी स्कुलमा पढ्छन् । स्कुल अहिलेसम्म खुलेको छैन । निजीमा सबैका बच्चा जान्छन्, तर हाम्रो आर्थिक हैसियतले त्यहाँ पठाउन सक्दैनौं,’ उनले पीडा पोखे, ‘छोरीहरू दिनभरि घरमै अलिअलि काम गर्छन् र खेलेर बस्छन् । यसरी त उनीहरूको भविष्य बर्बाद हुन्छ ।’
गरिबका छोराछोरी सामुदायिक विद्यालयमा पढ्ने भएकाले शिक्षक आन्दोलन चाँडो अन्त्य होस् र गुणस्तरीय पढाइमा ध्यान जाओस् भन्ने जगरनाथको चाहना छ ।
बिहीबार बिहान करिब १० बजे लक्ष्मीनियाँ गाउँपालिका–७ कुम्हरौडा दक्षिणबारी टोलको मुसहर वस्ती नजिकको बाँझो खेतमा केही बालबालिका क्रिकेट खेलिरहेका थिए । कक्षा २ बाट ३ मा उक्लिएका आशिक सदा, विशाल सदा लगायतका बालबालिका त्यहाँ खेलिरहेका थिए । सामुदायिक विद्यालयमा पढ्ने मुसहर वस्तीका बालबालिका दिउँसो डेढ घण्टा गाउँमै निःशुल्क ट्युसन पढ्छन् । बाँकी समय खेलेर बिताउँछन् ।
‘परीक्षा भएको एक महिना भइसक्यो तर स्कुल खुलेको छैन,’ आशिकले भने, ‘हामी दिउँसो ४ बजेदेखि साढे ५ बजेसम्म गाउँमै निःशुल्क ट्युसन पढ्न जान्छौं । बाँकी समय यसरी नै खेल्छौं ।’
जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियाका आदित्य राय पनि विद्यालय खुल्ने पर्खाइमा छन् । उनी श्री माध्यमिक विद्यालयका विद्यार्थी हुन् । यसपालि कक्षा ७ बाट ८ मा उक्लिएका छन् । विद्यालय बन्द भएकाले उनको दिनचर्या गाईभैँसीको हेरचाह र घरमै पढेर बितिरहेको छ ।
‘स्कुल बन्द छ । त्यसैले साँझ–बिहान घरमै पढ्छु । दिउँसो गाइभैँसीको रेखदेख गर्छु । स्कुल चाँडै नखुलेर पढाइ बिग्रिएको छ,’ उनले भने ।
निजी विद्यालयको पठनपाठन सुरु भइसक्दा सामुदायिक विद्यालय बन्द रहेकोमा स्थानीय फुलोदेवी राउत चिन्तित छन् । विद्यालय बन्दले आफ्नो नातिको पढाइमा समस्या भएको उनको भनाइ छ ।
‘सबैका छोराछोरी बोर्डिग पढ्न जान्छन् । म गरिब मान्छे । नाति सरकारी स्कुलमा पढ्छ । तैपनि, बन्द छ । नातिको पढाइ बिग्रियो,’ उनको चिन्ता छ ।
जनकपुर रजौलको जनता माध्यमिक विद्यालयमा कक्षा ६ बाट ७ मा प्रवेश गरेका सतिशको पनि चिन्ता उही छ । उनको छरछिमेकका धेरैजसो बालबालिका निजी स्कुलमा पढ्छन्, उनलाई खेल्ने साथी पाउन समेत मुस्किल छ, पढाइ त परै जाओस् ।
‘मेरो घरछेउका धेरै साथीहरू निजी स्कुलमा पढ्छन् । मेरो स्कुल खुलेको छैन । त्यसैले यता खेल्न आएको छु । पढ्न जाने मन छ । तर स्कुल कहिले खुल्छ ठेगान छैन,’ सतिशले सुनाए ।
यी त केही उदाहरण मात्र हुन् । शिक्षकहरू अनिश्चितकालीन रूपमा विद्यालय बन्द गरेर आन्दोलन गर्न हिँडेपछि देशभरिका सामुदायिक विद्यालयका विद्यार्थी र अभिभावक अन्योलमा छन् ।
खासगरी मधेशका धेरै सामुदायिक विद्यालयको पढाइको गुणस्तरमाथि प्रश्न छ । त्यसैले आर्थिक रूपमा कमजोर परिवारका धेरैजसो बालबालिका सामुदायिक विद्यालयमा पढ्छन् ।
कुम्हरौडाकी फुलो खातुन सरकारी विद्यालयमा राम्रो पढाइ नहुँदा आफ्ना पाँच नाति–नातिनालाई बोर्डिङ स्कुलमा पढाउन बाध्य भएको बताउँछिन् ।
‘मेरो छोराछोरी सरकारीमै पढे । तर पढाइ ठिक छैन । सरहरू राम्ररी पढाउनु हुन्न । त्यसैले अहिले जेनतेन पाँच नाति–नातिनालाई बोर्डिङमा पढाउँदै छु । शुल्क तिर्नै धौधौ पर्छ । निजीमा पढाउनु हाम्रो रहर होइन, बाध्यता हो,’ उनले गुनासो पोखिन् ।
प्रतिक्रिया 4