
११ वैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले ग्रीन हाइड्रोजनको सम्भावनाको विस्तृत अध्ययन अघि बढाउन सरकार लागेको बताएका छन् ।
ग्रीन हाइड्रोजन नेपालका लागि निकै महत्वपूर्ण रहेको बताएका ऊर्जामन्त्रीले यसलाई कार्यविधिमार्फत अघि बढाइने स्पष्ट पारे ।
काठमाडौं विश्वविद्यालयका प्राध्यापकहरूको सहजीकरणमा मन्त्रालयमा बिहीबार आयोजित ग्रीन हाइड्रोजनसम्बन्धी विशेष प्रस्तुतीकरण र छलफलमा मन्त्री खड्काले यस्तो बताएका हुन् ।
‘ग्रीन हाइड्रोजन नेपालको ऊर्जा क्षेत्रमा क्रान्तिकारी अवसर हो । यसलाई व्यवस्थित ढंगले अघि बढाउन कार्यविधि निर्माण गर्न सरकारले आवश्यक अध्ययन अनुसन्धान थालिसकेको छ,’ मन्त्री खड्काले भने ।
मन्त्री खड्काले वातावरण संरक्षण तथा शून्य कार्बन उत्सर्जनको राष्ट्रिय लक्ष्य हासिल गर्न ग्रीन हाइड्रोजनको उपयोग अपरिहार्य रहेको धारणा राखे ।
ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले मन्त्रालयले ग्रीन हाइड्रोजनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरी अनुसन्धान अगाडि बढाइरहेको जानकारी दिए । वातावरणमैत्री प्रविधिको प्रयोगले इँट्टाभट्ठा र केमिकलजन्य उद्योगहरूबाट हुने प्रदूषण कम गर्न सकिने उनको भनाइ थियो ।
सिंचाई सचिव सरिता दवाडीले नीति निर्माण भइसकेको र अब कानुनी र संस्थागत संरचना तयार पार्दै कार्यान्वयनमा लैजाने बताइन् । उनले अन्तरमन्त्रालय समन्वयमा सरकारले आवश्यक कानुनी प्रबन्ध गर्न तत्पर रहेको स्पष्ट पारिन् ।
कार्यदलका संयोजक एवं सहसचिव जिवछ मण्डलले ग्रीन हाइड्रोजन विश्वका धेरै देशहरूले सफलतापूर्वक उपयोग गरिरहेको उल्लेख गर्दै नेपालमा पनि यसको ठूलो सम्भावना रहेको धारणा राखे ।
काठमाडौं विश्वविद्यालयका ग्रीन हाइड्रोजन ल्याबका प्रा.डा. विराज सिंह थापाले नेपालमा ग्रीन हाइड्रोजन उत्पादन अन्तर्राष्ट्रिय तुलनामा सस्तो पर्ने भन्दै यसलाई शीघ्र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।
उनका अनुसार जापान, कोरिया, भारत र युएईजस्ता देशहरूले यो प्रविधिलाई व्यवहारमा ल्याइसकेका छन् ।
छलफलमा मन्त्रालयका सहसचिवद्वय सुशील चन्द्र आचार्य, सरेन्द्र घिमिरे, अर्थविज्ञ अमित श्रेष्ठ, काठमाडौं विश्वविद्यालयका डा. राम लामा र डा. लक्ष्मण लामालगायत सहभागी थिए ।
प्रतिक्रिया 4