+
+
Shares
ट्याक्सी सम्बन्धी नयाँ मापदण्ड :

नेपालमा अब तीन वर्गका ट्याक्सी, लक्जरीको भाडा दोब्बर

अब ट्याक्सीलाई आकार, यान्त्रिक क्षमता तथा उपलब्ध सुविधाको स्तर लगायत आधारमा तीन वर्गमा वर्गीकरण गरिएको छ । जसमा साधारण (अर्डिनरी), विशेष (डिलक्स) र विशिष्ट (लक्जरी) गरी वर्गीकरण तोकिएको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८२ वैशाख ११ गते २२:४०

११ वैशाख, काठमाडौं । नेपालमा सेवा र गुणस्तरका आधारमा ट्याक्सीलाई तीन वर्गमा वर्गीकरण गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘ट्याक्सीका रूपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड २०८१’ कार्यान्वयनमा ल्याएको छ ।

१४ चैत २०८१ मा स्वीकृत भएको यो मापदण्डले यसअघि २०७६ सालमा ल्याइएको पुरानो मापदण्डलाई विस्थापित गरेको हो । नयाँ दर्ता हुने, पुरानो ट्याक्सीको सट्टामा नयाँ दर्ता हुने वा यो मापदण्ड लागु हुनुभन्दा अगाडि नै ट्याक्सीका रूपमा सञ्चालनमा रहेका सवारीले समेत नयाँ मापदण्ड अनुसार अब नियमन हुनुपर्ने भएको छ ।

मन्त्रालयका अनुसार अब ट्याक्सीलाई आकार, यान्त्रिक क्षमता तथा उपलब्ध सुविधाको स्तर लगायत आधारमा तीन वर्गमा वर्गीकरण गरिएको छ । जसमा साधारण (अर्डिनरी), विशेष (डिलक्स) र विशिष्ट (लक्जरी) गरी वर्गीकरण तोकिएको छ ।

वर्गीकरणका लागि सरकारले आवश्यक सुविधा र सर्तसमेत तोकिदिएको छ । यातायात व्यवस्था विभागबाट अब वर्ग कायम गरेरमात्र ट्याक्सी सञ्चालकले सेवा दिन पाउने भएका छन् ।

अबदेखि ट्याक्सीमा वर्गाकार पारदर्शी प्लास्टिकभित्र रातो रंङमा कम्तीमा ६० मिलिमिटर उचाइ र ८ मिलिमिटर मोटाइका अंग्रेजी अक्षरमा ‘ओ’, ‘डी’ र ‘वाई’ टाँस्नु पर्ने भएको छ । हरेक ट्याक्सीमा चार स्थानमा यस्तो स्टिकर टाँस्नु पर्ने सर्त राखिएको छ ।

कुन वर्गको ट्याक्सीमा कस्ता सुविधा ?

सरकारले ट्याक्सीका रूपमा दर्ता हुने सवारीसाधनमा हुनुपर्ने न्यूनतम सुरक्षा विशेषता तोकेको छ । जुन सबै वर्गका ट्याक्सीमा अनिवार्य हुनुपर्ने छ । जसमा एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस) अनिवार्य गरिएको छ । ड्राइभर र अगाडि सिटमा बस्नेका लागि एयरब्याग हुनुपर्ने सर्त राखिएको छ ।

विद्युतीय बाहेकका ट्याक्सीको न्यूनतम इन्जिन क्षमता १ हजार सीसी हुनुपर्ने भएको छ । विद्युतीय सवारीका हकमा ब्याट्रीमा सञ्चित हुने ऊर्जा (किलोवाट आवर) र सवारीको कूल भार (किलो) बीचको न्यूनतम अनुपात ०.०१५ हुनुपर्ने गरी सर्त राखिएको छ ।

त्यस्तै हाई स्पिड अलर्ट सिस्टम, सबै सिटमा बेल्ट, सिट बेल्ट रिमाइन्डर, पार्किङ सेन्सर, रियर भ्यु क्यामरा तथा सीसीटीभी क्यामरा सबै वर्गका ट्याक्सीमा अनिवार्य गरिएको छ । यसका साथै सबै ट्याक्सीमा प्रिन्टर सहित डिजिटल भाडा मिटर र डिस्प्ले सहित जीपीएस नेभिगेसन प्रणाली जडान गर्नुपर्ने भएको छ । ट्याक्सी चालकलाई ड्रेस कोड अनिवार्य गरिएको छ । सबै ट्याक्सीको छतमा पहँेलो रङ अनिवार्य गरिएको छ ।

साधारण ट्याक्सीका लागि सर्त

विद्युतीय बाहेकका ट्याक्सीको न्यूनतम इन्जिन क्षमता १ हजार सीसी हुनुपर्ने भएको छ । विद्युतीय सवारीका हकमा ब्याट्रीमा सञ्चित हुने ऊर्जा (किलोवाट आवर) र सवारीको कूल भार (किलो) बीचको न्यूनतम अनुपात ०.०१५ हुनुपर्ने गरी सर्त राखिएको छ ।

दुवै प्रकारका सवारीमा अधिकतम इन्जिन वा मोटर शक्ति ४० किलोवाट वा त्यसभन्दा माथि हुनुपर्ने छ । अधिकतम इन्जिन वा मोटर टर्क ६५ मिटर वा त्यसभन्दा माथि हुनुपर्ने गरी तोकिएको छ ।

फाइल तस्वीर

ह्विल बेस २ हजार ३ सय मिलिमिटर वा त्यसभन्दा माथि हुनैपर्ने भएको छ । बुट स्पेस (मालसामान राख्ने क्षमता १ सय ६० लिटर वा त्यसभन्दा माथि हुनुपर्ने समेत सर्त राखिएको छ ।

डिलक्स ट्याक्सीमा कस्ता विशेषता ?

विद्युतीय बाहेकका सवारीसाधनका हकमा इन्जिन डिस्प्लेसमेन्ट भोलुम १२ सय सीसी वा त्यसभन्दा माथिको हुनुपर्ने भएको छ । विद्युतीय सवारीका हकमा ब्याट्रीमा सञ्चित हुने ऊर्जा (किलोवाट आवर) र सवारीको कूल भार (किलो) बीचको न्यूनतम अनुपात ०.०१९ हुनुपर्ने गरी सर्त राखिएको छ ।

अधिकतम इन्जिन वा मोटर शक्ति ५० किलोवाट वा त्यसभन्दा माथि हुनुपर्ने भएको छ । अधिकतम इन्जिन वा मोटर टर्क ८० न्युटन मिटर वा त्यसभन्दा माथि हुनुपर्ने गरी तोकिएको छ । ह्विल बेस २५ सय मिलिमिटर वा त्यसभन्दा माथि हुने गरी तोकिएको छ । बुट स्पेस २ सय लिटर वा त्यसभन्दा माथि हुने गरी तोकिएको छ ।

विद्युतीय ट्याक्सी ।

यस्ता ट्याक्सीमा टच स्क्रिनसहित डिस्प्ले, विद्युतीय स्विचबाट खुल्ने र बन्द हुने झ्याल र जाडो गर्मी सबै मौसममा उपयुक्त हुने वातानुकुलन प्रणाली जडान भएको हुनुपर्ने गरी सर्त राखिएको छ । डिस्प्ले सवारी निर्माता बाहेक अन्य पक्षले जडान गरेको भए पनि मान्य हुने भएको छ ।

लक्जरी ट्याक्सीमा कस्ता सुविधा ?

विद्युतीय बाहेकका सवारीमा इन्जिन डिस्प्लेसमेन्ट भोलुम २ हजार सीसी वा त्यसभन्दा माथि हुनुपर्ने छ । विद्युतीय सवारीका हकमा ब्याट्रीमा सञ्चित हुने ऊर्जा (किलोवाट आवर) र सवारीको कूल भार (किलो) बीचको न्यूनतम अनुपात ०.०२५ हुनुपर्ने गरी सर्त राखिएको छ ।

अधिकतम इन्जिन वा मोटर शक्ति १ सय किलोवाट वा त्यसभन्दा माथि हुनुपर्ने भएको छ । अधिकतम इन्जिन वा मोटर टर्क १ सय ७० न्युटन मिटर वा त्यसभन्दा माथि हुनुपर्ने भएको छ । ह्विल बेस २७ सय मिलिमिटर वा त्यसभन्दा माथि हुनुपर्ने भएको छ । बुट स्पेस ४ सय लिटर वा त्यसभन्दा माथि हुनुपर्ने गरी तोकिएको छ । यस्ता ट्याक्सीमा विद्युतीय स्विचबाट खुल्ने र बन्द हुने झ्याल हुनुपर्ने छ ।

सवारी दर्ता गर्ने कार्यालयले सवारीसाधन निरीक्षण गरी दर्ता गर्न सकिने समेत उल्लेख छ । सुरक्षा विशेषता नभएका ट्याक्सीलाई भने विशेष वा विशिष्ट वर्गमा कायम नगरिने समेत मापदण्डमा राखिएको छ ।

जाडो र गर्मी दुवै मौसमका लागि उपयुक्त हुने हावाको गुणस्तर नियन्त्रण सहित स्वचालित वातावरण नियन्त्रण क्षमताको वातानुकूलन प्रणाली हुनुपर्ने सर्त राखिएको छ । पछाडिको सिटका लागि समेत वातानुकूलित हावा प्रवाह हुने हावा पथ भएको हुनुपर्ने छ ।

पछाडिको सिटमा शिर अड्याउने हेडरेस्ट राखिनुपर्ने भएको छ । अगाडिको यात्रुका लागि हात अड्याउने आर्मरेस्ट राखेको हुनुपर्ने सर्त तोकिएको छ । अगाडि र पछाडि कप होल्डर, मोबाइल चार्ज गर्न डीसी वा एसी पावर राख्ने गरी सर्त राखिएको छ । यस्ता ट्याक्सीमा वाइफाई इन्टरनेट सुविधा राख्नुपर्ने भएको छ ।

लक्जरी ट्याक्सीको भाडा दोब्बर

ट्याक्सीको भाडादर भने सरकारी निकायले तोके बमोजिम हुने मापदण्डमा उल्लेख छ । विशेष वर्गका ट्याक्सीको अधिकतम भाडा दर साधारण वर्गका ट्याक्सीको तुलनामा २० प्रतिशतसम्म बढी हुने गरी तोकिएको छ । विशिष्ट वर्गका ट्याक्सीको भाडा भने साधारण ट्याक्सीको तुलनामा शतप्रतिशतसम्म बढी हुन सक्ने गरी सरकारले मापदण्ड बनाएको छ ।

पुराना ट्याक्सीले के गर्ने ?

मापदण्ड अनुसार यसअघि नै दर्ता भई ट्याक्सीका रूपमा सञ्चालनमा रहेका ट्याक्सीले विशेष वा विशिष्ट वर्गमा कायम गराउन चाहे निवेदन दिन सक्ने भएका छन् ।

सवारी दर्ता गर्ने कार्यालयले सवारीसाधन निरीक्षण गरी दर्ता गर्न सकिने समेत उल्लेख छ । सुरक्षा विशेषता नभएका ट्याक्सीलाई भने विशेष वा विशिष्ट वर्गमा कायम नगरिने समेत मापदण्डमा राखिएको छ ।

यो मापदण्ड लागु हुनुभन्दा अघि नै आएका ट्याक्सीले नयाँ मापदण्ड कायम गराउन ६ महिनाको समय पाएका छन् । उक्त अवधिमा मापदण्ड पूरा नगरे ट्याक्सीको दर्ता खारेज हुने समेत मापदण्डमा उल्लेख छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?