
१२ वैशाख, गोरखा । १२ वैशाख २०७२ । दिन थियो, शनिबार । बारपाकका चेतबहादुर गुरुङ धन्सार बनाउन खेताला बोलाएर गारो लगाउँदै थिए । घरभित्र आमा र भाइबुहारी खेतालाका लागि खाजा तयार गर्दै थिए । दुई छोरी पिँढीमा खेलिरहेका थिए ।
एकाएक बेसरी जमिन हल्लियो । घर गर्ल्यामगुर्लुम लड्यो । त्यही घरमा पुरिए २ र ६ वर्षका (भाइ र आफ्नी) छोरी, २५ वर्षीया बुहारी र ६७ वर्षीया आमा ।
भग्नावशेष भित्रबाट आमाको चित्कास सुनियो । तर, निरीह हुँदै हेर्नुबाहेक चेतबहादुरसँग अर्को विकल्प भएन । हतप्रभ उनी के गर्ने, के नगर्ने सोच्न सकिरहेका थिएनन् । केही क्षणमै आमाको आवाज मधुरो बन्दै गयो र अन्ततः बिलायो ।
‘सधैंभरि आमाले मलाई चित्ता भनेर बोलाउनुहुन्थ्यो, घर ढलेर पुरिएकी आमाले चित्ता–चित्ता भनेर चिच्याएको सुनें, पछि आवाजसँगै आमा बिलाउनुभयो,’ भक्कानिँदै चेतबहादुरले जीवनको सबैभन्दा पीडादायी त्यो दिन सम्झिए । उनका अनुसार केहीबेरपछि घरमा आगो लाग्यो, जीवनका सबै सम्भावना खरानी भए ।
भूकम्पको तीन दिनपछि नेपाली सेनाको सहयोगले घरको भग्नावशेष हटाइयो । पिँढीमा खेलिरहेका छोरीहरूको शव भेटियो, भान्सामा रोटी पकाउँदै गरेका आमा र बुहारीको शरीरका केही भाग मात्र भेटिए ।
आफूभन्दा अघिल्लो र आफूपछिको पुस्ता एकैचिहान भएको दिनले चेतबहादुरलाई आज पनि पिरोलिरहेको छ । उनी जब एक्लै हुन्छन्, आज पनि आँखा रसाउँछन् । मन गाँठो पर्छ, भक्कानो छुट्छ ।
त्यस दिन आएको विनाशकारी भूकम्पको केन्द्रविन्दु त्यही बारपाक थियो । ७.८ म्याग्निच्युडको भूकम्पले देशै हल्लाएको थियो । केन्द्रविन्दु रहेको बारपाकका अधिकांश घर धुलोमा मिलेका थिए । घर भत्किँदा उठेको धुलोले सिंगो बारपाकलाई ढपक्कै ढाकेको थियो ।
सिंगै गाउँको अवस्था उस्तै थियो । त्यसैले मलामी पाउन मुस्किल । चेतबहादुरले जसोतसो तीन–चार जना जम्मा पारे र चिहानडाँडामा लगेर शव गाडे । चारैजनाको सम्झनामा उनले चिहानडाँडामा चिनो स्वरुप देउराली बनाएका छन् । हरेक १२ वैशाख र दसैंको दिन धूप र पाती चढाउन त्यहाँ पुग्छन् ।
सुमबहादुर गुरुङको पीडा पनि उस्तै छ । भूकम्पकै कारण उनले तीन महिनाकी नवजात छोरीसहित आमा र श्रीमती गुमाउनुपर्यो । आफ्नै घरमा बसिरहेका उनीहरू छिमेकीको घर ढलेर पुरिएका थिए । परिवारका तीन सदस्य गुमाउँदाको पीडाबाट उनी अहिले पनि बाहिर निस्कन सकेका छैनन् । तर पनि जीवन अघि बढाउनै परेको छ ।
चेतबहादुर र सुमबहादुरले मात्र होइन, प्रत्येक बारपाकवासीले व्यहोरेको पीडा हो यो । विनाशकारी भूकम्पमा परेर बारपाकका ७२ जनाले ज्यान गुमाएका थिए । थुप्रै घाइते भए । १२ सयभन्दा बढी घरधुरी भग्नावशेषमा परिणत भयो ।
दश वर्षको अवधिमा बारपाकमा भौतिक संरचना बदलिएको छ । बाहिरी संसारबाट करिब सम्बन्ध विच्छेदको अवस्थामा रहेको बारपाकको यसबीच धेरैले भ्रमण गरेका छन् । तर, बारपाकीलाई अहिले पनि त्यस दिनको यादले खल्लो बनाउने गरेको छ ।

७९ वर्षीय शेरबहादुर घलेलाई त्यो दिन सम्झँदा साह्रै नरमाइलो लाग्ने बताउँछन् । त्यो दिनको सम्झना गर्न नपरे हुन्थ्यो भन्ने कामना गर्छन् । नचाहेरै पनि त्यो दिनको स्मरण गर्दै उनी भन्छन्, ‘करेसावारीमा काम गर्दै थिएँ, एकैपटक ढ्यांग भएर यताउता, तलमाथि गर्र्दै पछार्यो । के भयो भनेर यसो हेरेको त घरहरू सबै ढलेर धुलाम्य भएको देखे । कोही आमा हरायो भन्दै कराए । कोही बच्चा हरायो भनेर चिच्याउन थाले । रुवावासी चल्न थाल्यो । घरभित्र मान्छे चिच्याइरहेको सुनियो तर बचाउन जान सक्ने अवस्था भएन ।’
भनिन्छ्, समयले स्मृति धुमिल बनाउँदै लान्छ र घाउहरू खाटा बस्दै जान्छन् । तर, एक दशकअघिको १२ वैशाख स्मृतिमा अझै उस्तै छ, घाउहरू ताजै छन् । त्यसैले बारपाकबासी भन्छन्, ‘फेरि त्यो दिन सम्झन चाहन्नौं ।’ तर, १२ वैशाखले दिएको पीडा यति गहिरो छ कि सम्झन नचाहे पनि उनीहरू त्यस दिन भुल्न सकिरहेका छैनन् ।
प्रतिक्रिया 4