
युरोपेली युनियनले एप्पल र मेटा कम्पनीमाथि १ खर्ब रुपैयाँभन्दा धेरै जरिवाना लगाएको छ । समाचार अनुसार युरोपियन युनियनको प्रतिस्पर्धा विरोधी गतिविधिको नियामक निकायले एप्पलमाथि ५० करोड युरो र मेटामाथि २० करोड युरो जरिवाना लगाएको हो ।
ठूला प्रविधि कम्पनीहरुको पखेटा काट्ने दिशामा यो एउटा ठूलो कदम भएको बताइएको छ ।
युरोपेली युनियनको जरिवाना पश्चात् अमेरिका र युरोपबीचको सम्बन्ध प्रभावित हुनसक्ने बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै अमेरिकी कम्पनीहरुको विरुद्धमा जरिवाना लगाउने देशहरुमाथि भन्सार महसुल लगाउने धम्की दिएका थिए ।
एप्पल के भन्छ ?
युरोपेली युनियनको डिजिटल बजार कानून अन्तरगत उक्त जरिवाना लगाइएको हो । उक्त कानूनले बजारमा रहेका ठूला कम्पनीहरुको दबदबाको बीच साना कम्पनीहरुको प्रवेशलाई सुनिश्चित गर्दछ ।
आफ्नो कम्पनीविरुद्ध करोडौं युरो जरिवाना गर्ने इयूको कदमलाई चुनौती दिने एप्पलले जनाएको छ ।
एप्पलको तर्फबाट जारी गरिएको एक वक्तव्यमा भनिएको छ- आजको निर्णय युरोपेली आयोगको तर्फबाट एप्पललाई गलत तरिकाले लक्षित गर्ने कदमको एउटा अर्को उदाहरण हो । यो एउटा यस्तो श्रृंखलाको हिस्सा हो, जुन हाम्रा प्रयोगकर्ताको गोपनियता र सुरक्षाका लागि हानिकारक हुन्छ । यो हाम्रो प्रडक्टका लागि खराब छ र हामीलाई आफ्नो प्रविधि नि:शुल्क रुपमा दिनका लागि बाध्य पार्दछ ।
मेटाको भनाइ
उता मेटा कम्पनीले पनि युरोपेली युनियनको फैसलाको आलोचना गरेको छ । कम्पनीको तर्फबाट जारी विज्ञप्तिमा भनिएको – युरोपेली आयोग सफल अमेरिकी व्यवसायहरुलाई अपांग बनाउने कोसिसमा लागिरहेको छ । जबकि चिनियाँ तथा युरोपेली कम्पनीहरुलाई फरक मापदण्ड अन्तरगत काम गर्न दिइएको छ ।
साथै मेटाले यो विषय जरिवानाको विषय मात्र नभएको भन्दै युरोपेली आयोगले मेटाको व्यवसायिक मोडेल परिवर्तन गर्न दबाब दिइरहेको बताएको छ ।
प्रतिक्रिया 4