
गलत तथा मर्यादाहीन कामले कहिलेकाहीँ क्षणिक समयका लागि केही फाइदा भएको जस्तो हुनसक्छ । तर, यसको दीर्घकालीन तथा वास्तविक परिणाम चाहिं सधैं हानिकारक तथा गम्भीर नै हुन्छ । जापानमा हालैको एउटा घटनाले यसलाई पुष्टि गरेको छ ।
२९ वर्षसम्म गाडी चलाउने काम गरेर एकजना बस चालकले यात्रुले बसभाडाबापत तिरेको रकममध्ये ७ डलर अर्थात् करिब ९५० रुपैयाँ बराबरको रकम चोरी गरेपछि पेन्सनबापत पाउने ८४ हजार डलर अर्थात् एक करोड रुपैयाँ रकम गुमाएका छन् ।
सन् २०२२ मा क्योटो नगर परिवहन ब्युरोका सदस्यहरुले बस प्रणालीको फुटेज जाँच गर्दा ती बस चालकले एक हजार जापानी येनको बिल भाडा प्रोसेसिङ मेसिनमा राख्नुको साटो गोजीमा हालेको देखियो । त्यसपछि ती चालकसँग सोधपुछ गर्दा उनले त्यसरी पैसा चोरेको अस्वीकार गरेका थिए । तर, नगर परिवहन निगमले उनलाई जागिरबाट बर्खास्त मात्र गरेन एक करोड २० लाख येनभन्दा धेरैको उनको अवकास कोष पनि रद्द गरिदियो ।
नाम नखुलाइएका ती चालकले क्योटो नगरको निर्णयविरुद्ध अपिल गरेपनि सर्वोच्च अदालतले नगरको निर्णयलाई सदर गरेको छ ।
चालकको त्यो व्यवहारले स्थानीय परिवहन प्रणालीप्रतिको जनविश्वासलाई कमजोर पार्ने ठहर सर्वोच्च अदालतले गरेको छ । त्यसअघि पुनरावेदन अदालतले भने बस चालकको पेन्सन कोष रद्द गर्ने क्योटो नगर परिवहनको निर्णय रद्द गर्ने फैसला गरेको थियो तर सर्वोच्चले हालै नगरको निर्णयलाई सदर गरिदियो । क्योटो परिवहन ब्युरोले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ ।
ब्युरोका अधिकारीले भनेका छन्- हरेक बस चालकले एक्लै काम गर्दछ र सार्वजनिक कोषको सन्चालन गर्दछ । हाम्रो यस कार्यक्षेत्रमा हुने रकमको हिनामिनालाई हामीले गम्भीर ढंगले लियौं । यदि हामीले कडा कदमहरु चालेनौं भने हाम्रो संगठन लापरवाह हुनसक्छ र त्यसले जनविश्वासलाई कमजोर पार्दछ ।
प्रतिक्रिया 4