
जनमत पार्टीका अध्यक्ष सीके राउतले १७ वैशाखमा नागरिक उन्मुक्ति पार्टीसँग एकता घोषणा हुने पक्का गरेका छन् । लोकतन्त्र दिवसका दिन बिहीबार अनलाइनखबरसँग कुरा गर्न बस्नुअघि उनी रेशम चौधरी र रन्जिता श्रेष्ठ चौधरीले नेतृत्व गरेको नाउपासँगको एकता मोडालिटी टुंग्याउँदै थिए । योसँगै मधेशी र थारू क्लस्टर जोडेर पार्टी बनाउने राउतको चाहना पूरा हुनेछ । सत्ता गठबन्धनमै रहे पनि विपक्षी मानसिकता राखेर राजनीति अघि बढाइरहेका उनीसँग अनलाइनखबरका बसन्त बस्नेतले यो अन्तर्वार्तामा क्षेत्रीय राजनीतिको दिशा, सत्ता राजनीतिको ताजा अवस्था लगायत विषयमा प्रश्नहरू सोधेका छन् ।
मधेशी क्लस्टरको जनमत पार्टी र थारू क्लस्टरको नागरिक उन्मुक्ति पार्टीबीच अन्ततः एकता हुने पक्का भएछ । विगतमा गजेन्द्रनारायण सिंहले पनि यस्तो प्रयास गर्नुभएको देखिन्छ । अहिले तपाईंहरूले थालेको एकता प्रक्रियाको पृष्ठभूमि के हो ?
नेपालको राजनीतिमा दूरगामी प्रभाव पार्ने निर्णायक शक्ति बन्दैछौं । यो ऐतिहासिक पहल गर्न पाएकोमा खुशी छौं । विगतमा गजेन्द्रनारायण सिंहका पालामा अलिकति प्रयास भएको हो । अरू ठूला पार्टीहरू फुटाएरै हामीलाई राख्नेमा थिएन । गजेन्द्रबाबुले मेची–महाकाली नै पुगेर संगठन विस्तार गर्नुभएको थियो । अहिले चाहिं थारू र मधेशी क्लस्टरकै तहमा एकता प्रयास हुँदैछ । यो ठूलो परिवर्तन हो । मधेशी समुदायले राज्यबाट उपेक्षा भएको बोध पहिल्यै गरे र विद्रोह पनि चाँडै गरे । तर थारू यति दमित थियो कि कमैया कमलरीले भूमि अपहरण गर्ने सयकडौं बिघाका मालिकसँग संघर्ष गर्नै सकेको थिएन । उनीहरूमा मधेशीसँग मिल्नुहुँदैन, बरु पुरानै कांग्रेस–एमाले ठिक भन्ने थियो । धेरै दमित भएपछि राज्यको विरोधमा खडा हुने हिम्मत हुँदो रहेनछ । पहाडका सीमान्त समुदाय पनि मिलेर खडा हुने अवस्था सिर्जना हुँदैछ ।
थारू र मधेशीका एजेन्डाको माया लागेर मिल्न लाग्नुभएको कि संसद्मा ठूलो क्षेत्रीय पार्टी बन्न सकिएन, दुई दल मिलियो भने उपेन्द्र यादवभन्दा ठूलो पार्टी बन्न सकिन्छ भन्ने महत्वाकांक्षाले एकता हुन लागेको ?
म शक्ति राजनीतिमा लागे पनि यो दल फुटाउने, जोड्ने अभ्यासमा सामेल नेता होइन । यो एकता मैले शुरू नगरेकाले अनावश्यक जस लिन चाहन्नँ । तर मेरो आत्मकथा पढ्नुभयो भने तपाईंले मभित्र यो एकताको भावना पहिल्यै थियो भन्ने थाहा पाउनुहुन्छ । म अमेरिकामा वैज्ञानिकको जागिर गर्दै थिएँ । हार्वर्डमा आन्दोलनबारे बोल्नुपर्ने भयो । त्यसबेला मधेशी र थारूमाथि भएका दमनबारे झन् पढ्दै गएँ । थारूले पाएको दमनबारे अझै बढी बोलेको छु त्यहाँ । नेपालमा फर्केर मेची–महाकाली भ्रमणमा गएँ । कञ्चनपुर जिल्लामा विस्थापित थारूहरूले सडकमा मेरो खुट्टा नै समातेर रुन थाले । दुई–चार आना जमिन पाए, घर बने मेरा छोराछोरीको बिचल्ली हुने थिएन भन्दै अगुवाहरू रुन थालेपछि मलाई जिम्मेवारीबोध अझै भयो । मेरो घरबाट टाढाका यी मान्छे मेरा नातेदार थिएनन् । म कुनै प्रशासनिक अधिकारी पनि थिइनँ, तर किन मसँग आशा गरे ? त्यसबाट मैले यो राजनीतिक पहल लिने विचार गरेको थिएँ । यो एजेन्डा मेरो हृदयको नजिक जहिल्यै थियो । टीकापुरमा आन्दोलन चल्दा १० वर्षअघि अंग्रेजीमा प्रेस वक्तव्य लेख्ने, अन्तर्राष्ट्रिय समुदायमा पठाउने काममा म जोडिएको थिएँ । म थारूका मुद्दामा अप्रत्यक्ष रूपमा सहभागी नै थिएँ ।
यत्रो निकटता रहेछ, पार्टी एकता गराउन अहिलेको समय किन रोज्नुभयो ?
स्थानीय चुनावपछि नै रेशम चौधरीजी जेलमा भएका बेला एकताको कुरा चलाएको थिएँ । जेलमा उहाँ हुँदै तीनबुँदे सहमति हुन लागेको थियो । मैले उहाँलाई समानुपातिकका सबै सिट राख्न भनेको थिएँ जबकि उहाँ ६० र ४० प्रतिशत भन्दै हुनुहुन्थ्यो । मैले नाउपाभन्दा स्थानीय चुनावमा जनमतको चार गुणा बढी भोट आएकाले चुनाव चिह्न हर्न मानिदिनुपर्यो भनी अनुरोध गरेको थिएँ । समय छोटो भएकाले ढकिया चिह्न स्वीकार्न सकिएन । जनताले हर्न चिह्नलाई माया गरिसकेका थिए । नत्र अहिले हाम्रो जोड्दा हुने १० सिटमा उहाँहरू राष्ट्रिय पार्टी बने अरू ४ सिट बढ्थ्यो । अरू चार–पाँच ठाउँ थोरै भोटले हारेका सिट पनि जितिन्थ्यो । तर राजनीतिमा यसरी पनि सिकिन्छ । पहिले एकता नगर्दा गुमाएको सिट अब नगुमाउँ भन्ने पनि हो ।
तीन वर्षपछिको चुनाव तयारी शुरू भएको हो ?
पक्कै हो, निर्वाचन आयोगले जुन ऐन प्रस्ताव गरेको छ, त्यो विकराल अवस्था ल्याउन खोज्ने खालको छ । राष्ट्रिय पार्टी बन्न, तीन वटा प्रदेशबाट प्रत्यक्ष जित्नैपर्ने, ८० प्रतिशत ठाउँमा उम्मेदवार उठाउनै पर्ने, ७०० स्थानीय पालिकामा संगठन दर्ता हुनैपर्ने, थ्रेसहोल्डमा कडाइ लगायत कुराले हामी लगायत सबै साना पार्टीलाई गाह्रो बनाउने, दुईदलीय व्यवस्था बनोस् भनेर अभिप्रेरित भएको देखियो । त्योसँग जुध्न पनि गर्नुपर्यो ।
मधेश र थारूका मुद्दाले मात्रै नभई निर्वाचन आयोगले पनि बाध्यकारी मिलन गराइदिएछ ?
आयोगले मात्रै होइन । तर त्यसलाई पनि डिल गर्ने काम गर्छ । मूल कुरा चाहिं एजेन्डा हो ।
एकताको मोडालिटी के हो ?
यसका लागि दुवै पक्ष लचिलो भएर एकता छलफल गर्यौं । दुवै आन्दोलनबाट आएका हौं । दुवै दलले समस्या भोगेर आएका छौं । जनताको ठूलो आशा र अभिभारा छ ।
त्यही भएर हामी आफ्नो नेतृत्वको तहबाट दुवैपक्ष एकदम सहज भएका छौं । र, सहमति सम्भव पनि भएको हो । शुरूमा चुनाव चिह्न एउटा दलको र पार्टीको नाम अर्को दलको राख्ने कुरा थियो । जनमत पार्टीको नाम राख्दा नागरिक उन्मुक्तिको चुनाव चिह्न ढकिया र नाउपा नाम राख्दा चुनाव चिह्न हर्न राख्ने शुरूमा कुरा थियो । त्यसमा हामी सहज भएर नागरिक जनमत पार्टी बनाउन सहमत भयौं । चुनाव चिह्न ढकिया राख्ने भयौं । ‘मेजेन्डा कलर’को बीचमा ढकिया राख्ने सहमति गरेका छौं । संरक्षकको रूपमा रेशम चौधरी बस्नुहुन्छ । कार्यकारी अध्यक्षका रूपमा म हुन्छु । सह–अध्यक्षमा रञ्जिता श्रेष्ठ बस्नुहुन्छ । सामाजिक लोकतान्त्रिक पार्टी बन्छ ।
तपाईं तीनै जना एकीकरणप्रति खुशी हो नि ?
एकदम हो । कहिलेकाहीं भ्रम बाहिर आइदिन्छन् । आज मात्रै पनि नेताहरूसँग बसेका थियौं । मजाले गफ गर्यौं । त्यसमा कुनै कतैबाट आपत्ति भएको छैन ।
टुटफुट र जुटको शृङ्खला चलिरहँदा मानिसहरूलाई तपाईंहरूको समेत के हुने होला भन्ने आशंका छ नि ?
अब हामी दुवैलाई फुटको छुट छैन । एकताबाट सबैभन्दा उत्साहित कोही छ भने जनता छन् । कहिले एकता घोषणा गर्नुहुन्छ भनेर जनताले दबाब दिइरहनुभएको छ । जनताको दबाब नभएको भए त एकता अलि ढिलो पनि गथ्र्यौं होला ।
साँच्चिकै हो ? जनता उत्साहित छन् भनेर कुनै नेताले भन्दा शंका लाग्ने अवस्था छ नि ?
दुवै पक्षतिर हेर्नु न । कैलाली पुगेर म आएँ । त्यहाँ पनि उत्साहित छन् । यता जनकपुरतिर पनि त्यस्तै अवस्था छ । एकता गरेरै अघि बढ्नुपर्ने हुन्छ । यो हाम्रा लागि ठूलो अवसर र चुनौती पनि हो ।
एकताका लागि यो समय नै किन छान्नुभयो ?
एकताका लागि हामीले तत्कालै चालेको कदम होइन, निर्वाचन भन्दा पहिले नै चालेको हो । जेलमै रेशमजी हुँदा तीनबुँदे सम्झौता नै हुन लागेको थियो । प्रक्रिया पहिलेदेखि नै चलेको थियो ।
निर्वाचनमा जितेर आइसकेपछि हाम्रो कार्यगत एकता भएको थियो । अहिलेको परिस्थिति अनुसार तत्काल गरिएको कदम यो होइन । मिल्नुपर्ने भावना दुवै पक्षमा पहिलेदेखि नै थियो ।
तपाईं अहिले सत्ता गठबन्धनको एउटा हिस्सा हुनुहुन्छ । तर मनोविज्ञानको हिसाबले तपाईं कहिलेकाहीं विपक्षी पो हो कि जस्तो लाग्छ । खासमा तपाईं सत्ता पक्ष कि प्रतिपक्ष ?
अहिले सत्ता गठबन्धनलाई समर्थन पक्कै पनि दिएका छौं । केन्द्रमा र लुम्बिनी प्रदेशमा सरकारमा छैनौं । मधेश प्रदेश सरकारको नेतृत्व पाएका छौं ।
मेरो विद्रोही स्वभाव छ, त्यसलाई स्वीकार्नै पर्ने हुन्छ । यदि कुनै कुरा सल्लाह सुझावले सुधार्नुपर्नेछ भने प्रतिक्रियाका रूपमा असहमतिका कुरा बोलिराखेको हुन्छु । प्रचण्ड सरकारमा हाम्रै दलको मन्त्री हुँदा पनि धेरै कुरामा असहमति भइराख्थ्यो । उहाँले त्यसलाई नकारात्मक रूपमा हेर्नुभएको थिएन । फिडब्याकका रूपमा हेर्नुहुन्थ्यो ।
हामी नयाँ थियौं । केही भन्नुपर्छ र भनेपछि लाग्छ भन्ने पनि थियो । तर, खासै केही नहुने रहेछ । त्यसैले अहिले खासै बोल्दिनँ पनि ।
तपाईं त यो प्रक्रियासँग निराश हुँदै जानुभएको हो कि ?
सल्लाह–सुझाव दिंदा उहाँहरूले गल्ती सच्याउनुहुन्छ भन्ने अपेक्षा हुन्छ ।
सत्ता खेलमा ज्ञान र वितृष्णा दुवै पाएँ भनेर तपाईंले एकपटक सामाजिक सञ्जालमा पनि लेख्नुभएको थियो नि ? हिजो–आज तपाईं सत्ताको कतिऔं क्लासमा हुनुहुन्छ ? ज्ञान र वितृष्णा केही थपिएको छ कि ? कि यस्तै यस्तै रहेछ भन्ने अवस्थामा पुग्नुभएको छ ?
यस्तै यस्तै रहेछ भन्ने मान्ने अवस्थामा पुगेको छु । जीवनमा धेरै कुरामा सम्झौता पनि गर्नुपर्दछ ।
सामाजिक सञ्जालमा त्यो लेख्ने बेला राजनीति मेरा लागि एकदमै नयाँ थियो । गठबन्धनको आन्तरिक गठबन्धनमा पुगेको थिएँ । प्रचण्डको फोटो नदेखेका मान्छेले उहाँका लागि ज्यानै दिन पनि तयार भएका थिए । सिद्धान्तका कारणले ज्यान दिन तयार भएका थिए ।
उहाँ जस्तो ठूलो विद्रोही नेता, १७ हजार जनाको बलिदान भएको थियो । प्रधानमन्त्री बन्नकै लागि निरीह भएको जस्तो देखे मैले । मेरो पनि यस्तै हालत होला भनेर वितृष्णा त्यहाँबाट आएको हो ।
तपाईंलाई उपप्रधानमन्त्री बन्ने अवसर आएको थियो । उपप्रधानमन्त्री र मन्त्री पनि बन्नुभएन । तर, तपाईंलाई चाहिं किन वितृष्णा आएको ?
अरूलाई देखेपछि । जस्तो कि मैले प्रचण्ड प्रधानमन्त्री पदमा बसे पनि एउटा बन्दी जस्तो बन्न पुगेको देखें । यति वितृष्णा भयो कि प्रचण्डको छोरीलाई फोन गरेर उहाँलाई भेट्नु छ भनें । प्रचण्डलाई भेटें । यो–यो कुरा मान्न हुँदैनथ्यो भनें । उहाँ प्रधानमन्त्री भइसकेपछि भेटेर भनेको हुँ । हाम्रा लागि तपाईं प्रेरणाको स्रोत हो । यो–यो कुरा मान्न हुँदैनथ्यो भनें ।
यो–यो कुरा भनेको के कुरा थियो ?
२/३ कुरा थिए । जस्तै दौरा–सुरुवालको कुरा पनि थियो । प्रधानमन्त्री बन्नकै लागि कसैले दौरा–सुरुवाल लगाउँछ भने त्यो गलत कुरा हो । अरू बेला लगाउनुस् ठीक छ । तर, प्रधानमन्त्री बन्ने प्रयोजनकै लागि लगाउनुहुन्छ भने त्यो गलत हो । यसरी झुक्नुहुँदैनथ्यो कि जस्तो लाग्छ ।
अरू के के थिए ?
अरू ठ्याक्कै अहिले याद नहुन पनि सक्छ ।
प्रचण्डले के भन्नुभयो त ?
ठीक छ म ख्याल गरौंला भन्नुभयो । उहाँको त्यो हालत देख्दा मलाई पनि के लाग्यो भने हामी त भर्खर २/४ सिट जितेर आएकाको राजनीतिमा के हविगत होला भन्ने लाग्यो ।
के के कुरामा सम्झौता गर्नुपर्ने होला जस्तो लाग्यो । कहाँ कहाँ झुक्नुपर्ने होला । कहाँ–कहाँ नैतिकता गुमाउनुपर्ने होला भनेर बोझिलो महसुस लाग्यो ।
अहिले पनि त्यो सम्झौता गर्ने र अघि बढ्ने क्रम जारी नै छ ?
जारी छ, म एकदम खुलस्त भन्छु । त्यो छँदैछ । सरकारको हरेक निर्णयमा म सहमत छैन । तर, मानिरहेको त छु । बाहिर त गएको छैन ।
के त्यस्तो चिज हुँदोरहेछ सत्ता राजनीतिमा जो विगतमा यस्तो ऊर्जा बोकेर आएका मानिसहरू चाहे प्रचण्ड, केपी ओली, विगतमा शेरबहादुर देउवा होलान्, तपाईंहरूसम्म; उपेन्द्र यादव जसलाई तपाईंहरूले चुनाव हराउनुभयो, उहाँ पनि क्रान्तिको इतिहासबाट आउनुभएको । तर, उहाँ र शेरबहादुर देउवा पनि सम्झौता गरेको गर्यै हुनुहुन्छ । सत्ता राजनीतिमा त्यस्तो के तत्व हुन्छ, जसले यति धेरै सम्झौता गर्न र झुक्न बाध्य बनाइराख्दो रहेछ ?
व्यावहारिक रूपमा हिंड्नका लागि सम्झौता गर्नैपर्ने हुन्छ । किनभने, व्यावहारिकपथ भनेको त्यो आदर्शवादी त होइन । यो समूहको कुरा हो, एक जनाको कुरा होइन । फरक दिमाग भएपछि मैले आदर्शवादी अडान लिन्छु, जे सोच्छु, त्यही हुनुपर्ने बाध्यता हुँदैन । संगठन भन्ने वित्तिकै त्यहाँ धेरै नेता, कार्यकर्ता, बहुविचार सबै कुरा हुनेभयो । यसपालि त झनै गठबन्धनको सरकार भयो, विचारधारा नै पूरै फरक छ । त्यहाँ सम्झौता नगरी केही हुँदैन । नेपाली कांग्रेसको सिद्धान्त अर्कै छ, नेकपा एमालेको विपरीत धार भन्नुपर्ने हो खासमा । तर, एउटै गठबन्धन बनाएर आएपछि केही न केही कम्प्रमाइज हुने नै भयो । त्यो हुनाले व्यवहारमा आएपछि केही न केही कुरामा सम्झौता हुन्छ नै चलाउनका लागि, त्यो सत्ताको मात्र कुरा होइन, जहाँ पनि हुन्छ । त्यसका लागि १०० मा ४०, ५० वटा मन पर्ला, ५० वटा मन नपर्ला ।
तपाईंहरू यसैगरी सम्झौता गर्दै बस्नलाई पार्टी एकता गरेको कि एकता गरेपछि अलि फरक ढंगले अघि बढ्छ ?
सम्झौता त जे गर्दा पनि अन्तिममा गर्नै पर्छ । सम्झौता नगर्नुको अर्थ के हो भने मैले जे जे भन्छु, शतप्रतिशत त्यही त्यही कुरा हुनुपर्छ । त्यो कहिल्यै पनि जिन्दगीमा हुँदैन । संगठित कुरामा हुँदै हुँदैन । र, गठबन्धनमा झनै हुँदै हुँदैन । त्यो भएको हुनाले सम्झौता त हरेक हालमा हुन्छ । त्यो हुनाले सकारात्मक सम्झौता गर्ने कि नकारात्मक गर्ने, कति हदसम्मको हानिकारक/बेफाइदाजनक सम्झौता गर्ने भन्ने मात्र हो । त्यही भएर हामी चाहिं आफ्नो लक्ष्य हासिल गर्न सकूँ, जनतालाई डेलिभरी गर्न सकूँ भन्ने खालको सम्झौता गर्दै अघि बढ्ने हो । जस्तै, मधेश सरकार या यही सरकारको उदाहरण दिऊँ । सरकारमा जाँदा आक्रमण धेरै हुन्छ । म नगए तापनि ममाथि आक्रमण भइराख्छ । कतै एउटा त्रुटि भयो भने सीके राउतको पार्टीले वा सिके राउतले नै गर्यो भन्ने जहिल्यै समाचार छापिरहेको हुन्छ । यसले गर्दा मलाई के दबाब हुन्छ भने किन यस्तो गाली सुनिराख्ने सरकारमा गइरहने, बरु सरकारमा गइएन भने कमसेकम मेरो इज्जत त बाँकी रहन्छ । जस्तो, मधेश सरकारमा नगइदिएको भए त्यो गतिविधिमा म जिम्मेवार हुनुपर्दैनथ्यो । दोष त ममाथि आउँदैनथ्यो । मेरो नामले गाली त गर्दैनथ्यो मान्छेले । त्यो देखिन्छ । त्यो बचाउने कि काम गर्र्ने ? यसको मतलब गालीसँग डराउने, बदनामीसँग डराउनु पर्यो भने त सरकारबाट निस्किनु पर्यो । अनि, सरकारबाट निस्किएपछि काम कसरी गर्नु हुन्छ ? ठिक छ मान्छेले गाली गरिरहेका छन्, दोष पनि लगाइराख्छन् । ल कहिलेकाहीं अरू आरोप पनि लगाइरहेका छन्, तर काम त भइराख्छ नि ! काम हुने भनेको त सरकारमा गएरै हो ।
सरकारमा जानु आवश्यक भयो भनेर जानुभएको हो ?
आवश्यक भएरै हो । किनभने, डेलिभर अर्थात् वितरण गर्ने सरकारले हो, मान्छेले होइन ।
संघको मन्त्री बनाउने अवसर पाउँदा पनि नलिनुभएको ?
हामीले त्यहाँ पनि तालमेल गरेको हो । मधेशमा नेतृत्व दिनु त्यहाँ नदिए पनि चल्छ भनेरै मागेका हौं । त्यो भएको हुनाले धेरै लोभ, लालच राखेका छैनौं । मेरो कुरा त तपाईंले अघि भन्नु नै भयो, मलाई त पहिले पनि उपप्रधानमन्त्री सहित परराष्ट्र मन्त्रालयको प्रस्ताव पनि आएको थियो । तर, मैले त्यतिबेला केही महिना शपथ ग्रहण टाल्दै गएको हो । केही छैन, त्यसमा दुःख मान्नुपर्ने कुरै केही छैन मौका आइराख्छ । कहाँ–कहाँ सरकारमा सहभागी हुनुपर्छ भन्ने पार्टीले निर्णय गर्नेछ, त्यो अनुसार जिम्मेवारी पनि जान्छ ।
त्यो मौका फेरि आउन लागेको त होइन नि छिट्टै ? राजनीतिक उतारचढाव हुन लागेका समाचारहरू आइरहेका छन्…
छैन, अहिले तत्कालै त्यस्तो छैन । स्थिर सरकार बनेको छ । हाम्रो पार्टीलाई मधेश सरकार चलाउनै दिइएको छ, त्यसकारणले हामीले हतार पनि गरेका छैनौं ।
यो स्थिरता कायम रहन्छ ?
मलाई त्यस्तो लाग्छ । केमेस्ट्री यति राम्रो मिलेको छ कि कायम रहन्छ जस्तो लाग्छ ।
तपाईंहरूलाई घरीघरी छक्क लाग्छ होला है, केपी ओली र शेरबहादुर देउवाको केमेस्ट्री मिलिरहेको छ ?
छक्क त लाग्दैन तर, अनौठो लाग्छ । दुई फरक धारका ठूला पार्टी नै मिलिदिएपछि यो लोकतान्त्रिक अभ्यास पनि भएन । अनि केको लागि यत्रो धेरै पार्टी खोल्ने !
आज सन्दर्भवश हामी लोकतन्त्र दिवसकै दिन कुरा गरिरहेका रहेछौं, यो त झन् बढी लोकतान्त्रिक अभ्यास भएन र ? झन् बढी जनताको मतको प्रतिनिधित्व भयो नि त !
तपाईंले विपरीत धारको सिद्धान्त देखाएर पो भोट माग्नुभएको हो त । कांग्रेससँग मिल्छु भनेर त भोट माग्नुभएको होइन । कांग्रेसले म एमालेसँग मिल्छु भनेर भोट मागेको होइन । तपाईंले म आफ्नो राजनीतिक सिद्धान्त छ, त्यो दर्शनलाई समर्थन गर्नुभएर पो भोट हाल्नुभएको हो ।
मतदाता नै रनभुल्लमा छ मैले हालेको मतले कुन विचारको प्रतिनिधित्व गर्यो भनेर !
त्यही त त्यो भनेको एकदमै अनौठो लाग्छ क्या ।
तपाईंहरू दुवै जना महत्वाकांक्षी व्यक्ति हुनुहुन्छ, रेशम चौधरी र तपाईं…
मलाई त्यस्तो भन्न मिल्दैन होला कि !
तर, तपाईंको ट्रयाक रेकर्डले त्यस्तो बताउँछ, आजको १०/१५ वर्षअघि तपाईंले जुन विचारको पैरवी गर्नुहुन्थ्यो आज एकफन्को मारेर तपाईं जहाँ आइपुग्नुभएको छ, यो संविधानलाई स्वीकार्नुभएको छ !
यसलाई महत्वाकांक्षा किन भन्न मिल्दैन भने, म पहिल्यैदेखि राजनीतिक आन्दोलनमा योगदान दिइरहेको थिएँ, त्यतिबेला म मेरो नाम पनि प्रयोग गर्दिनथें । म एकदमै छद्मनाममा थिएँ । कहिले आजाद नाम, कहिले यशवन्तकुमार, कहिले के कहिले के । त्यस्तो हुन्थ्यो लुकेको रूपमा । तपाईंले ब्ल्याक बुद्ध डकुमेन्ट्री पूरै हेर्नुस्, त्यसमा मेरो तस्वीर भेट्टाउनुहुन्न । पूरै डकुमेन्ट्री मैले एकल रूपमा बनाएको हो, आफैंले भिजुलाइज गरेको, आफैंले एडिट गरेको, सबै कुरा गरेको हो लगभग । तर, मेरो फोटो… जबकि जुन मान्छेलाई प्रोजेक्ट हुनुपर्ने हो, त्यो मान्छेलाई जथाभावी आफ्नै फोटो देखाउने गर्छन् नि त ! तर, त्यसमा मेरो आवाज चाहिं कतै कतै छ । कोही मान्छे त थिएन, त्यहाँ अन्तर्वार्ता लिने ।
अनुहार देखाउने लालसा भएन ?
त्यहाँ छैन त ।
किन ?
म यहाँ पक्राउ नपर्दासम्म तपाईंले मेरो फोटो कतै सामाजिक सञ्जालमा पनि भेट्टाउनुहुन्न । त्यसकारण तपाईंले मलाई महत्वाकांक्षी भन्न मिल्दैन । महत्वाकांक्षी भएको भए राष्ट्रिय अध्यक्षले मन्त्री पद छाड्दैन । यस्तो राम्रो राम्रो अफर छाड्दैनथ्यो । त्यसैले व्यक्तिगत महत्वाकांक्षा नभनौं, महत्वाकांक्षा कहाँ छ भने उद्देश्यमा छ । जस्तै, स्वतन्त्र मधेश गठबन्धन जुन थियो, त्यो वास्तवमै महत्वाकांक्षी उद्देश्य थियो । र, अहिले पनि जुन छ, म नेपालमा रोजगारीको क्षेत्रमा फड्को मारौंला, नेपाललाई विकसित र सुन्दर बनाउँला भन्ने । त्यस उद्देश्यलाई चाहिं महत्वाकांक्षी भन्न सकिन्छ, व्यक्तिगत लाभलाई चाहिं नभनौं ।
तर क्षमता र महत्वाकांक्षासँग व्यक्तिको इगो पनि कहीं न कहीं जोडिएर आउँछ, त्यो इगो व्यवस्थापन चाहिं यति ठूलो विषय भयो कि त्यो हिजो बीपीदेखि मातृकाको विषय हेरौं । माधवकुमार नेपाल र केपी ओलीको । प्रचण्ड वा बाबुराम भट्टराईको …
पहिला मान्छेहरूले त्यति मेरो बारेमा एक्सपोजर नहुँदा सीकेहरूलाई कहाँ गन्छ होला, क्याब्रिजबाट पीएचडी गरेको मान्छे कसैले गुरु मान्ने त परको कुरा हो । कसैले सल्लाह पनि लिंदैन होला जस्तो सोच्थें । त्यतिबेला झनै नजरबन्दमा थिएँ । कसैसँग बोल्ने कुरा पनि धेरै हुँदैनथ्यो । सम्पर्क पनि थिएन मेरो । त्यसले झनै त्यो कुराले बढवा दिएको थियो । मैले किन गुरु बनाएँ भनेर जवाफ दिंदा मैले त्यही भनेको थिएँ । गुरु बनाउँदा पनि मैले के सोच्थें भने उसले त झन् कहाँ मान्छ, उसको त आफ्नै दर्शन छ, आफू अरूलाई चेला बनाउला तर, ऊ कसरी आफू गुरु मान्ला भन्थे । त्यो होइन । मैले गुरु बनाउनुको प्रमुख कारण भनेको म आफ्ना सबै इगो चाहिं चरणमा राख्न सकूँ । मभन्दा माथि पनि उहाँहरू हुनुहुन्छ जसलाई म मान्छु, जसको कुरा म सुन्छु । त्यो चाहिं मैले आफ्नो इगो चरणकमलमा राखेको हो ।
त्यसले मलाई धेरै लाभ पनि भएको छ । अहिले पनि हाम्रो पार्टी ६ सिट भएको थियो । नागरिक उन्मुक्ति ४ सिट भएको राष्ट्रिय पार्टी पनि थिएन । तर, हामी रेशम चौधरीजीलाई एक नम्बरको वरीयतामा अग्रजको रूपमा मान्न तयार छु । त्यो भनेको मैले आफ्नो इगोलाई साइड लगाएको प्रमाणको रूपमा लिन सकिन्छ ।
सकेसम्म यस्तै केमेस्ट्री अगाडिका दिनमा पनि देखियोस् । अन्य पार्टीहरूमा पनि देखियोस् भन्ने म अपेक्षा गर्छु । धेरैले उपेन्द्रजीको विषयमा पनि मलाई कुरा लगाइरहन्छन् । तर, म भन्छु– किन उपेन्द्रजीलाई डिफेन्स गर्न खोजिएको ? जहिले पनि मैले उहाँलाई क्रान्तिकारी र मधेश आन्दोलनको नेताको रूपमा देखिरहेको छु । जतिबेला मुख्यमन्त्री हाम्रो यहाँ बन्यो, म अमेरिकामा थिएँ । त्यतिबेला जसपाका क्याडरले मलाई तथानाम गाली सामाजिक सञ्जालमा गरिरहेका थिए । लिडरहरूले पनि गाली गर्दै थिए । लस एन्जलसमा मलाई एउटा प्रश्न खडा गरियो– उपेन्द्रजी जस्तो मान्छे भनेर भन्नुभयो । मैले त्यहाँ कम्तीमा ५ मिनेट उपेन्द्रजीको डिफेन्स गर्दै कुरा गर्दै थिएँ । त्यो फरक छ । बाहिर अलिकति सुन्ने कुरा फरक छ । अहिले पनि उपेन्द्रजीले बोलाउनुभयो भने उहाँको निवासमै म गइदिन्छु ।
तपाईंहरूको हार्दिकता, कुराकानी अहिले पनि उस्तै छ ?
मेरो तर्फबाट कम छैन । हार्दिकता सधैं रहन्छ ।
उपेन्द्र यादवको तर्फबाट चाहिं कस्तो पाउनुभएको छ ?
त्यो उहाँले जान्ने कुरा । धेरैलाई थाहा नहुन सक्छ । निर्वाचनमा जाने बेलामा पनि म उहाँलाई भेट्न गएँ । उहाँसँग तालमेल थियो । नभएको होइन । मैले उहाँलाई भनेको थिएँ, तपाईं सप्तरी २ बाट लड्ने भए म १ बाट लड्छु । १ बाट लड्नुहुन्छ भने २ बाट लड्छु पनि भनेको थिएँ । तर, त्यतिबेला हामीलाई सबैले कमजोर आकलन गर्थे । केही सुन्नु पनि भएन ।
बाहिर त अर्कै कुरा आयो त, जहाँ उपेन्द्र यादव लड्नुहुन्छ, त्यहीं सीके राउतको उम्मेदवारी पर्छ भनेर…
उहाँलाई मैले यो कुरा पछि पनि भनें । मेसेज गर्न खोजें । तपाईं अन्तिम समयसम्म मलाई भन्नुस् । बिहान ९/१० बजेसम्म पनि खबर नआएपछि बल्ल हामीले दर्ता गर्ने निर्णय गरेका थियौं । यो कुरा मैले जितेपछि पनि धेरैपटक समय मागेको थिएँ । तर, उहाँ दिनुहुन्नथ्यो । म एक पटक जबरजस्ती उहाँको निवास गएँ ।
के भन्नुहुन्थ्यो त्यतिबेला ?
के भन्नु र, घर गइसकेपछि त के भन्ने कुरा आउँछ र ? मैले चाहिं सबै कुरा तपाईंले भने अनुसारको फलो गरेको थिएँ । तालमेल थियो । तपाईंको मान्छेले मलाई कुरा पनि गर्न दिनुभएन । मनोनयनको अघिल्लो रात पनि मैले कुरा गरेको थिएँ । मैले पठाएको मेसेज हेर्नुस् भनें । उहाँले धेरै पछाडि मात्रै मेसेज हेरेको स्वीकार गर्नुभयो । त्यो हार्दिकता मसँग थियो ।
मधेशको शक्ति हेरौं न । मेरो अभिरुचिले पनि म राजनीतिसँग बढ्ता सूचना राख्न खोज्छु । काठमाडौं संस्थापनको नजिक हुने वा गठबन्धन गर्ने कुरामा तपाईंहरू एकैठाउँमा आइपुग्नुहुन्छ । तर, एकअर्कालाई स्वीकार गर्न के गाह्रो परेको ?
हामीलाई गाह्रो भएको छैन । हामीसँग त्यो भावना नभएको भए त नागरिक उन्मुक्तिसँग पनि हुँदैनथ्यो । हामीमा त्यो चाहिं छैन । अर्को पक्षमा के छ त्यो मैले भन्न सक्ने अवस्था छैन । म राजनीतिका लागि नयाँ पात्र हो । यहाँ धेरै वर्षदेखि राजनीति भइरहेको छ । उहाँहरूको जस्तै मधेशी जनअधिकार फोरमको इतिहास हेर्नुभयो भने त कति धेरै टुटफुटको इतिहास छ ।
लोसपा लगायत पार्टीहरूको बारेमा चाहिं के छ तपाईंको सामान्य इम्प्रेसन ?
खासै त्यस्तो छैन । हाम्रो त लोसपासँग पनि कार्यगत एकता भएको थियो । त्यो तितो घटना न सम्झौं ।
सम्झौं, किनभने तपाईं त जुट्ने माहोलमा हुनुहुन्छ । ती तपाईंका लागि इतिहासका पाठ हुन् नि…
हैन, नसम्झौं । तिता अनुभवहरू सकेसम्म नसम्झिएकै राम्रो हुन्छ । उपराष्ट्रपतिको निर्वाचनमा के भएको थियो भने, त्यतिबेला नागरिक उन्मुक्तिले पनि गल्ती गरेको थियो । समर्थन र प्रस्ताव मेरो थिएन । कार्यगत एकता दुईवटै पार्टीसँग थियो । यो चाहिं मैले फेरि गएर कार्यगत एकता गरेको हैन । त्यतिबेला नागरिक उन्मुक्ति पार्टीले नै लेखेर ल्याएको थियो, यो–यो सम्झौता गरौं, रेशमजी जेलमा हुनुहुन्छ भनेर । मैले तपाईंहरू जे–जे भन्नुहुन्छ हुन्छ भनेर साइन पनि गरें । लोसपालाई पनि त्यतिबेला सरकारमा जानु थियो । उहाँहरूले पनि २२/२४ बुँदा लेखेर ल्याउनुभएको थियो । मैले यति धेरै बुँदा कसले याद गर्छ र ? एक बुँदा मात्रै ल्याउनुस् भनेको थिएँ । र साइन पनि गरें । त्यसपछि शरदजी मन्त्री बन्नुभयो । उपराष्ट्रपतिको निर्वाचन आयो । समर्थक र प्रस्तावकमा लोसपा र नागरिक उन्मुक्ति पार्टी बसेको थियो । मत हाल्ने बेलामा हाल्नुभएन । बरु, रास्वपाले हालिदियो ।
रास्वपाबाट रविजीले फोन गर्नुभयो, डा.साब तपाईंले उम्मेदवार उठाउनुभएको छ, हामी तपाईंलाई नै समर्थन गर्छौं भनिदिनुभयो । मैले मागेको पनि होइन । त्यो अलिकति राजनीति गरेपछि मोरल अर्थात् नैतिक गर्नुपर्छ । मैले जबरजस्ती भोट त मागेको होइन नि ! समर्थक र प्रस्तावक बन्ने अनि भोट नै नहालिदिएपछि यो त राजनीतिक चरित्र नै भएन ।
कहिलेकाहीं शक्ति र सत्ताको राजनीतिमा मुद्दाहरू दोस्रो बन्दा रहेछन् है ?
लोसपाको म अर्को पनि उदाहरण दिन्छु । मुख्यमन्त्री बनाउन लाग्दाखेरी समर्थन लिइराख्यो । लोसपाले पहिला साइन गर्यो । पछि टिपेक्स लगाएर मेटाइदियो ।
किन ?
त्यो उहाँहरूलाई नै सोध्नुपर्छ, मलाई थाहा छैन । म धन्यवाद दिन्छु, माधवकुमार नेपालजीलाई । उहाँले अन्तिम समयमा समर्थन गरिदिनुभयो र हाम्रो सरकार बन्यो ।
अहिले ओली सरकारको कार्यक्षमता र प्रस्तुतिको बारेमा तपाईंको के बुझाइ छ ?
उहाँहरूले पनि अन्यथा नलिनुहोला । तर, पक्कै पनि जुन तरिकाले दुई वटा ठूला पार्टी मिलेका थिए । जुन पार्टीको कर्मचारीतन्त्रमा पनि हालीमुहाली छ । जहाँ पनि हस्तक्षेप हुनसक्ने ठाउँ छ । यति हुँदा पनि जुन डेलिभरी हुनुपर्ने थियो त्यो देखिंदैन । यो हाम्रो लागि पनि दुःख लाग्ने कुरा हो । यो त एकदमै व्यवस्थामाथि पनि प्रश्नचिह्न उठिरहेको छ । यति गर्दा पनि भएन भने के गर्ने भनेर ठाडो प्रश्न आइरहेको छ । यतिबेला डेलिभरी प्रबल रूपमा हुनुपर्ने थियो । जस्तो कि माओवादी सरकारमा हुँदा उहाँहरूले कर्मचारीतन्त्रले मलाई टेरेन भनेर भन्न सक्नुहुन्छ । त्यहाँ हाम्रो फेवर गरिदिने मान्छे भएन भन्न सक्नुहुन्छ । तर, नेपाली कांग्रेस र एमाले नै मिलेको बेलामा त त्यो भन्न मिलेन ।
तपाईंले आफ्नो पार्टीका पदाधिकारीहरूलाई पार्टीबाट बिदा गर्ने, सांसदहरूलाई फिर्ता बोलाउने कोसिस गर्नुभयो भन्ने छ । यहाँ चैं सीके राउतको अलिकति इगो र अहंकारले काम गर्यो भन्ने मान्छेलाई परेको हो ?
सांसदकै निलम्बन गर्ने कुरा गरौं, त्यो सांसदसँग मेरो केको रिसइबी हुनसक्छ ? हाम्रो बीचमा कुनै प्रतिस्पर्धा छ र कतै ? छँदै छैन त । त्यहाँ इगो साध्ने उहाँसँग केही कुरै छैन । तर, पार्टीमा भएपछि सबै जना अनुशासनमा बस्नुपर्छ । अनुशासन भएन भने पार्टीले पर्फमेन्स नै गर्न सक्दैन । झन् खराब प्रवृत्ति बस्छ । त्यो भएकोले अनुशासन समितिले आफ्नो काम गरेको हो । हामीले अनुशासन समितिलाई स्वतन्त्र रूपमा काम गर्न दिएका हौं । चाहे त्यो पदाधिकारी होस् वा सांसद होस्, दुईवटैको हकमा त्यही लागू भएको हो । खासगरी, पदाधिकारीहरू त झन् बढी अनुशासित हुनुपर्दछ । पदाधिकारीहरू देखेर नै अरूले काम गर्ने हुन् ।
उहाँहरूले अनुशासन राख्नुभएन ?
नराखेकैले त स्पष्टीकरण सोध्नु परेको होला नि ! एउटा उदाहरण दिन्छु, म राष्ट्रिय अध्यक्ष छु । म अमेरिकामा पैसा कमाएर बस्दिने । खट्दा पनि नखट्ने । निर्वाचनमा भोट खसाल्न पनि नआउने । अनि राष्ट्रिय अध्यक्ष पनि भएर बस्न खोज्छु भने त्यो पाइन्छ ? त्यस्तो भयो भने कसले हामीलाई भोट दिन्छ ! आफू अमेरिकामा बस्ने अनि कार्यकर्तालाई दिनरात खट, हाम्रो लागि भोट माग है भनेर भन्न पाइयो त ?
पदाधिकारीले त्यसो गरे ?
पदाधिकारीले त्यस्तो गरेपछि स्पष्टीकरण सोध्नुपर्ने हाम्रो बाध्यता बन्यो ।
अनि, सांसद गोमा लाभले चैं के गर्नुभयो ?
उहाँले पनि अनुशासन उल्लंघन गर्नुभयो । हाम्रो विधानमा भएको व्यवस्था अनुसार जे काम गर्दा अनुशासन उल्लंघन हुन्छ, त्यो गतिविधि भएपछि स्पष्टीकरण सोधिएको हो ।
यसमा तपाईंले अघि भनेजस्तो इगो, अहंकार, तुष्टि केही छैन ?
उहाँसँग मैले इगो साध्नुपर्ने के कुरा छ र ? त्यस्तो केही विषयवस्तु नै छैन ।
सरकारकै प्रश्नमा आउँदा तपाईंले यसको भविष्य कस्तो देख्नुभएको छ ?
यसो हेर्दा र मैले बुझेसम्म अहिले बनेको गठबन्धन मलाई मजबुत लाग्छ । शंका गर्नु त मानवीय स्वभाव नै हो । नेपालको राजनीतिमा त झन् गर्नैपर्ने हुन्छ । यहाँ को कतिखेर कहाँ जान्छ ठेगानै हुँदैन । त्यसैले शंकाको यहाँ प्रशस्त आधारहरू हुन्छन् । यति भन्दाभन्दै पनि अहिलेको गठबन्धन एकदम मजबुत गठबन्धन जस्तो लाग्छ । किनभने, यहाँ पार्टीगत निर्णय भन्दा पनि नेतृत्वहरूको केमेष्ट्री मिलेको जस्तो लाग्छ । त्यो भएर पनि यो बलियो भएर आएको छ ।
यस्तो बलियो पार्टीहरू मिलेको बेला पनि राजा फर्काउने खालको जो पुरानो, समयले विदा गरिसकेको नारा हो त्यो बलियो भएर आयो है ?
त्यसले झन् बढी स्पेस दियो नि त ! किनभने, दुई ठूला पार्टीहरू मिलेर पनि डेलिभर गर्न सकेनन् भने मान्छेले स्वाभाविक रूपमा विकल्प खोज्छन् नै ।
तपाईंले चैं उहाँहरूको मूभमेन्ट (राजावादीहरूको आन्दोलन) लाई कसरी हेर्नुभयो ?
मैले धेरै सकारात्मक रूपमा लिएको छैन । सकारात्मक ‘इन द सेन्स’ त्यो समाधान होइन । स्पष्ट रूपमा थाहा छ, यो समाधान होइन, असन्तोष हो । सरकारले डेलिभर गर्न सकेन, धेरै भ्रष्टाचार भयो, त्यसको फ्रस्टेशन हो । र, चेतनाको अभाव हो । सामाजिक सञ्जालमा रमाउने पछिल्लो दशकको अहिलेको पिढीलाई राजतन्त्र भनेको के हो ? विभिन्न राजनीतिक सिद्धान्त भनेको के हो ? केही थाहा छैन । जे कुरामा पनि विरोध गर्नु परेको छ ।
नयाँ पुस्तालाई भन्न खोज्नुभएको हो ?
हो, नयाँ पुस्ता जे कुरामा पनि विरोध मात्र गरिरहेको देख्छु । अध्ययनको अभाव छ । आँकडा हेर्नु छैन, हो–होको पछि लागेको छ । जे कुरामा पनि विरोध गर्नु परेको छ । दुई–चार सेकेन्ड स्क्रोल गर्ने बानी परेको छ । अध्ययनशीलताको एकदम अभाव देख्छु । यो पुस्ताले कहिले कम्युनिष्ट घोषणापत्र पढ्दा, पूँजी पढ्दा अलि गाह्रो भएको होला उहाँहरूलाई ।
उसोभए यो पुस्तालाई पढ्न सुझाउनुहुन्छ ?
दश सेकेन्डको स्क्रोल गरेर भएन । इन्डेप्थ अर्थात् गहिराइमा पढ्न सुझाव दिन्छु । इन्डेप्थ सोच्नु पर्यो ।
नयाँ पुस्ता रिसाउलान् तपाईंको अभिव्यक्तिले ! सीके राउतले हामीलाई पढेकै छैनन् भनिदिनुभयो भन्लान् !
मैले पढेकै छैन, बुझेको छैन भनेको होइन । अहिलेको पुस्तालाई अलि अलि गरेर सबै कुरा थाहा हुन्छ । किनभने यो च्याट जीपीटीको समयको पुस्ता हो । पहिले एउटा गुरुले भन्न नसकेको कुरा अहिले च्याट जीपीटीमा एउटा प्रश्न हाल्नुस्, त्यसले सबभन्दा राम्रो उत्तर दिन्छ । योग्यता त उहाँहरूको टिप्समा छ । तर, नलेज हुँदैमा विज्डम (प्रज्ञा) आउँदैन खासमा । अहिले विज्डमको अभाव छ ।
भनेपछि सूचनाहरूको संग्रह भयो, तर विज्डममा पुग्न सकेन ?
हो । सूचनाहरू धेरै भयो । अहिले टिकटकमा यति धेरै शिक्षा छ, हामी पनि कहिलेकाहीं त्यहाँबाट शिक्षा लिन्छौं । तर, विज्डम विल्कुल फरक कुरा हो ।
चरित्रहत्या गर्ने स्तरसम्म जान्छ कि कहिलेकाहीं ?
म त्यो हेर्दिन । आफूले जे हेर्यो त्यही आउँछ । म उपयोगी विषयवस्तु मात्र हेर्छु ।
आफ्ना व्यक्तिगत र पारिवारिक विषयहरू सार्वजनिक बहसको विषय बन्दा कस्तो लाग्छ ?
हामी संवेदनशील पक्कै पनि हुन्छौं । तर, अहिले व्यक्तिगत कुराले धेरै फरक पार्दैन । त्यसको दुई–चार वटा कारण होला । यसको मतलब असंवेदनशील भएको होइन, म अत्यन्त संवेदनशील नै छु । तर, त्यो पीडा व्यक्तिगत रूपमा मात्र दुख्ने भन्ने छैन । अरूलाई पीडा परिराखेको देख्यो भने त्यसले एकदमै दुखिरहेको हुन्छ । तर आफ्नैमाथि आलोचना भइरहेको हुन्छ । धेरै कुरा भइरहेको हुन्छ । तर, त्यसले जति प्रभाव पार्नुपर्ने हो, त्यसले त्यति प्रभाव पारिरहेको छैन ममाथि । यसका लागि म धेरै धन्यवाद नि भन्न चाहन्छु, विभिन्न कुरालाई । खासगरी, आफ्नो एउटा बोध छ, त्यसको लागि पनि र खासगरी आध्यात्मिक ज्ञान पहिले ब्रह्मज्ञान भनिन्थ्यो, अहिले क्वान्टम फिजिक्सका कुरा भन्छौं, त्यो कतै न कतै अचेल ममा भित्रैदेखि बोध भएजस्तो लाग्छ । त्यसैले अहिले व्यक्तिगत तहमा कुनै आरोपै लाग्यो भने पनि खण्डन गरिहालौं भन्ने लाग्दैन ।
पर्खौं, धैर्य गरौं, हेरौं भन्ने लाग्छ ?
त्यो मान्छेले बुझिहाल्छ जस्तो लाग्छ । युनिभर्स अर्थात् विश्वले त्यसको जवाफ दिइहाल्छ जस्तो लाग्छ । आफूमाथि अभियोगै लागे पनि वा कुनै खराबै कुरा आएपछि खण्डन गरिहालौं भन्ने त्यो अस्थिरता आजभोलि छैन । तर, व्यक्तिगत रूपमा म यो सबै पचाउँला । संगठनले त त्यो पचाउन सक्दैन । त्यसले संगठनलाई असर पारिसकेको हुन्छ, त्यसैले संगठनको तर्फबाट स्पष्टीकरण दिनुपर्ने हुन्छ । तर, व्यक्तिगत तहमा त्यो अवस्था छैन । यी कुरा बाहिर गए पनि मलाई व्यक्तिगत रूपमा फरक परेको छैन । पहिले चाहिं पथ्र्यो । मिडियाहरूले पनि कसैले पिर नमान्नुहोला, विगतमा मलाई धेरैले यस्तो तहसम्मको आक्षेप लगाइदिए कि त्यसले मलाई जति फरक पर्नुपर्ने हो, त्यो परेन । यसमा आफैं पनि अचम्मित छु ।
सरकारको डेलिभरीको प्रश्नमा चाहिं, केपी ओली, प्रचण्डलाई पनि गर्ने मन थियो होला । हाम्रोमा के त्यस्तो होला, चाहना भए पनि केही गर्न सकिरहेका छैनन् ?
संघर्षबाट आएका सबैमा आफ्नो पालामा केही न केही गरौं भन्ने चाहना भएको देख्छु । पुराना वा नयाँ सबैमा त्यो छ । बोल्ड निर्णय लिनुपर्ने अवस्थामा जनता पनि तयार देख्दिनँ । यहाँको प्रणाली (कर्मचारीतन्त्र, प्रहरी, सेना) लगायत पनि तयार देख्दिनँ । अनि राजनीतिक नेतृत्व पनि त्यो स्तरमा प्रतिबद्ध देख्दिनँ । कतै न कतै हाम्रो समग्र व्यवस्थाले पनि त्यसलाई समर्थन गर्दैन ।
अलिकति बोल्ड निर्णय हुन थाल्यो भने आफ्नै कुर्सी हल्लिन थाल्छ । कर्मचारीहरू आवश्यक भन्दा बढी संख्यामा छन् । माग अचम्मको हुन्छ, करारमा भर्ना लिएपछि मलाई स्थायी गर्नैपर्छ भन्ने माग आउँछ । प्रधानमन्त्री स्वयंले चाहेर पनि करारमा नियुक्त भएकाहरूलाई हटाउन सक्ने अवस्था छैन । म त प्रधानमन्त्री पनि निरीह देख्छु ।
त्यसैले हामीले बारम्बार यो तरिकाले चल्दैन, बोल्ड निर्णय लिनुपर्छ भनेका हौं । एक पटक जागिर पाएपछि ३० वर्ष मलाई कसैले हटाउन सक्दैन भन्ने सोच परिवर्तन गराउनुपर्छ ।
नेपालमा निजी र सरकारी दुवै खालका बैंक छन् । सरकारी बैंकमा ३ बजे जाँदा आफ्नै खाताको पैसा निकाल्न हैरान हुन्छ, भोलि आउनुहोस् भनिदिन्छन् । निजी बैंकले सबै सहजीकरण गरिदिन्छन्, काम भइहाल्छ । मैले कुनै सुविधा नदिएपछि मलाई कसैले केही गर्दैन भन्नेमा सरकारी बैंकका कर्मचारीहरू निश्चिन्त छन् ।
तर निजी बैंकमा कुनै दिन कर्मचारीले राम्रो काम नगरे विदा हुनुपर्ने अवस्था आउँछ । सधैं स्थायी हुने मनोवृत्तिको जागिरे प्रणालीलाई परिवर्तन गर्न बोल्ड निर्णय लिनुपर्ने हुन्छ । आन्दोलित शिक्षकहरूले ब्ल्याकमेल गरेर प्लस टुको परीक्षा लिन्न भनिदिनुभयो ।
शिक्षक आन्दोलनको तरिकामा प्रश्न छन् ?
समय गलत भयो । नेगोसिएसन ब्ल्याक मेल जस्तो सुनिनुहुँदैन । सरकारले पनि शान्तिपूर्ण आन्दोलन गर्नेहरूको माग सम्बोधन गर्नुपर्छ । उहाँहरूको आन्दोलन पनि यति बृहत् छ कि त्यसको प्रशंसा गर्नुपर्ने हुन्छ ।
समय कसरी गलत भयो ?
अहिले विधेयक अधिवेशन होइन । बजेट अधिवेशन भएकाले चाहेर पनि गर्न नसक्ने अवस्था छ । देशको वातावरण अस्थिर बनाउन एकैसाथ धेरै आन्दोलन भएको त होइन भन्ने शंका पनि भएको थियो । तर त्यस्तो नहोस् ।
कर्मचारीको आन्दोलन यही बेला, शिक्षकको आन्दोलन यही बेला । राजावादीहरूको आन्दोलन पनि यही बेला । किन यी आन्दोलनहरू एकैचोटि हुनुपर्यो ? रविजी लगायत सबै नेताहरू पनि यही बेला पक्राउ हुनुपर्ने !
जीवन्त लोकतन्त्रमा यस्तै त होला नि ? माग राख्ने, सम्बोधन गर्ने…
यस्तो बेलामा पानी धमिलो बनाउने काम पनि गर्नुहुँदैन । लोकतन्त्र एउटा जिम्मेवारी पनि हो । अधिकार मागेर मात्रै हुँदैन, जिम्मेवारी पूरा पनि गर्नुपर्छ । अरूको अधिकारबारे पनि सोच्नुपर्यो ।
तपाईंमा धेरै बदलाव आएछ, हैन ?
त्यतिबेला पनि हामीले जिम्मेवारीपूर्ण रूपमा आन्दोलन गरेका थियौं । संयमता अपनाएका थियौं । देशलाई संकट परेको बेलामा ब्ल्याकमेलिङ गरिएन ।
नौलो गणतन्त्र तपाईंको विचार हो । योभन्दा कम्युनिष्टहरूले नौलो जनवाद भन्थे । कस्तो हो यो ?
गणतन्त्र नराखेर अरू शब्द राखेको भए फेरि यसले गणतन्त्रकै विरोध गर्यो कि भन्ने शंका हुन्थ्यो । एकात्मक व्यवस्थाको समर्थन पो गरेको हो कि भन्ने शंका हुन्थ्यो । नौलो शब्द राखेर अहिलेको गणतन्त्रको कमी–कमजोरी सच्याउनुपर्छ भनेको हो । फ्रान्समा पनि फिफ्थ रिपब्लिक भन्ने गरिन्छ । गणतन्त्रमा खराबी आयो भने राजतन्त्रमा जाने होइन, एकात्मक व्यवस्थामा जाने होइन । त्यसलाई सुधारेर अझ अघि बढ्नुपर्छ भनेको हो ।
अहिले देखिएको अस्थिर सरकराको समस्या सम्बोधनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भनेका छौं । अर्कोतर्फ समाजवादका लागि अहिले नेपाली समाज तयार भइसकेको छैन । यहाँ पूँजीवादी क्रान्ति र औद्योगीकरण भएकै छैन । एकैचोटि समाजवादमा जाने अवस्था रहँदैन । त्यसैले पहिले सामाजिक लोकतन्त्रको व्यवस्थाबाट जानुपर्छ ।
उत्पादनको स्वामित्व निजीमै रहने तर शिक्षा र स्वास्थ्य जस्ता आधारभूत विषयमा राज्यले हस्तक्षेप गर्ने व्यवस्था गरौं । नत्र त अहिले पनि संविधानले समाजवाद उन्मुख भनिदिएकै छ नि !
सामाजिक लोकतन्त्र भनेको अरूको परिभाषा भन्दा भिन्न हो ?
धेरैलाई लाग्छ, यो मिश्रित व्यवस्था हो । तर त्यसो होइन । हामीले त फलानो क्षेत्रमा निजीले गर्ने, फलानोमा सरकारीले गर्ने भनेर व्यवस्था ल्याउन खोजेको हो । उदाहरणका लागि शिक्षामा सरकारले गर्ने, औद्योगीकरणमा निजीले गर्ने ।
लोकतान्त्रिक समाजवाद र सामाजिक लोकतन्त्र उही हो भन्ने भान परे पनि त्यो फरक हो ।
विश्व आर्थिक व्यवस्था फेरबदल हुन्छ भन्ने तर्क आएका छन् । हामी गरिब मुलुक मारमा पर्ने कुरा आएको छ । यी उतारचढावलाई तपाईंले कसरी हेर्नुभएको छ ?
विश्व अर्थ–राजनीति गम्भीर मोडमा छ । मानवीय संवेदना देखिएको छैन । जुन हेरफेर र उथलपुथल छ, त्यो सकारात्मक भन्न मिल्ने अवस्था छैन । असहायलाई सहयोग गर्नुपर्छ भन्ने भावना नै कतै देखिंदैन । निकै यान्त्रिक सोचमा ढल्किएको छ । हामी कसरी आत्मनिर्भर बन्ने भन्नेतिर सोच्नुपर्ने हुन्छ ।
योजनाहरू बीचमै रद्द भएका छन् । त्यो त अपरेसन भइरहेको छ, हाम्रो योजना रोकियो भनेर बीचमै छाडेर भागे जस्तो भयो । आधा घर बनेपछि बीचमै रोके जस्तो भयो ।
हामी जस्तो देशले कसरी सर्भाइभ गर्ने ?
नेपालले अहिले आफ्नै तरिकाले सोच्नुपर्ने हुन्छ । बोल्ड कार्यक्रम ल्याउनुपर्छ । अब बजेट सेसन शुरू हुन्छ, पुरानै रवैया हुन्छ । सबै नेताका पुराना योजनामा भवन, सडक, ढलान आदि कुराहरू अघि आउँछन् । केही क्षेत्र फोकस गरेर काम गरे हुने हो । भियतनाम, बंगलादेश लगायतले केही क्षेत्रमा फोकस्ड भएर गरिरहेका छन् । त्यतातिर सोच्नुपर्ने हो ।
तस्वीर/भिडियो : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4