+
+
Shares

‘ब्लड मनी जुटाएपछि बल्ल रामआशिषको ज्यान जोगियो’

कतिपय प्रयासले मृत्युदण्डको पर्खाइमा रहेकाहरू नेपाल फर्किएका उदाहरण पनि छन् । ‘ब्लड मनी’ जुटाएर साउदीमा रहेका कैदीलाई मृत्युदण्डबाट जोगाएका रूपन्देहीका तत्कालीन प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अनुभव ।

गणेश अर्याल, प्रमुख जिल्ला अधिकारी, पर्सा गणेश अर्याल, प्रमुख जिल्ला अधिकारी, पर्सा
२०८२ वैशाख १२ गते १८:०२

करिब ६ वर्षअघिको कुरा हो, धनुषाका रामआशिष यादव वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा थिए । रूपन्देही, कञ्चन गाउँपालिकाका दुर्गाप्रसाद शर्मा पनि रामआशिष रहेकै कम्पनीमा काम गर्थे । उनीहरूलाई कम्पनीले दिएको वासस्थान पनि एउटै थियो ।

कम्पनीको काम सकेर आराम गरिरहेका बेलामा उनीहरूले रमाइलोका लागि मदिरा सेवन गरेका रहेछन् । त्यस क्रममा धकेलाधकेल र झै–झगडा हुँदा दुर्गाप्रसाद शर्माको ज्यान गयो । यादवको छुरा प्रहारबाट शर्माको ज्यान गएको रहेछ ।

रामआशिष यादव विरुद्ध साउदी अरबको अदालतमा मुद्दा चल्यो । अदालतले सन् २०२० मा रामआशिष यादवलाई ५ वर्षको कैद सजाय सुनायो । त्यो अवधिमा मृतकको परिवारसँग सहमति भई उनीहरू आममाफी दिन राजी भएमा आममाफी हुने, नभए मृत्युदण्डको सजाय हुनेछ भनेर अदालतले शर्तात्मक फैसला गर्‍यो ।

तोकिएको अवधि सकिनुभन्दा करिब ६ महिना पहिले कन्सुलर विभागले जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा ब्लड मनीको सम्झौता हुनसक्ने वा नसक्ने निक्र्योल गर्न पत्र पठायो । साउदी अरबको दूतावासले ‘मृत्युदण्डको सजाय निरुपण गर्न करिब ६ महिना बाँकी छ । यो अवधिमा यदि दुवै पक्षबीच सहमति हुन्छ कि हुँदैन । नहुने भए त्यसको जानकारी सहित पत्र पठाइदिनू’ भनी लेखेको थियो । त्यतिबेला मृत्युदण्डबारे निर्णय हुन करिब ६ महिना बाँकी थियो ।

हामीले स्थानीय सरकार मार्फत मृतकको परिवारका सदस्यसँग सम्पर्क गर्‍यौं । उनीहरूले स्पष्ट रूपमा भने, ‘हामी कुनै पनि हालतमा माफी दिन तयार छैनौं ।’ उनलाई मृत्युदण्डको सजाय नै हुनुपर्छ भनेर आफ्नो प्रतिक्रिया दिए ।

५÷६ पटकसम्म हामीले जिल्ला प्रशासन कार्यालय र उनको घरमै गएर समेत छलफल गर्‍यौं । उनीहरूले कुनै पनि हालतमा ‘ब्लड मनी’ नलिने अडान राखे ।

अन्तिममा हामीले जिल्ला प्रशासन कार्यालयमा एउटा बैठक डाक्यौं । अनि स्पष्टसँग भन्यौं, ‘नहुनुपर्ने घटनाका कारण तपार्इंले आफ्नो परिवारको सदस्य गुमाउनुपर्‍यो । धनुषाको अर्को परिवारले त्यसैगरी अर्को सदस्य गुमाउने कि नगुमाउने भन्ने कुरा तपाईंहरूको हातमा छ ।

तपाईंहरू चाहनुहुन्छ भने अर्को परिवारले साउदीमा रहेको आफ्नो सदस्य फर्काएर ल्याउन पाउँछ, चाहनुहुन्न भने उनीहरूले पनि परिवारको सदस्य गुमाउने अवस्था हुन्छ । महान् व्यक्तिले मात्रै उदारता देखाउन सक्छन्, तपाईंहरू उदार बनिदिनुहोस् भनेर निकै आग्रह गर्‍यौं ।

त्यति हुँदा समेत उनीहरू माफी–मिनाहाका लागि तयार भएनन् । अन्त्यमा हामीले कठोर प्रतिक्रिया दियौं । जिल्ला प्रशासनले निर्णय नलिंदासम्म साउदी अरबमा मृत्युदण्डको निर्णय कार्यान्वयन हुँदैन ।

तसर्थ ‘बरु मैले काम नगरेबापत जे सजाय भोग्नुपर्ने हो, त्यसका लागि तयार छु । तर विदेशमा नेपाली नागरिकले मृत्युदण्ड पाउने निर्णय कार्यान्वयन गर्न सहज हुने निर्णय र पत्राचार मेरो हातबाट हुँदैन’ भनिदिएँ ।

त्यसपछि बल्ल उनीहरूले केही लचकता देखाए । अनि उनीहरूले ‘ब्लड मनी’का लागि ५० लाख रुपैयाँ चाहिन्छ भनेर माग गरे । म रूपन्देहीको प्रमुख जिल्ला अधिकारी थिएँ, मृत्युदण्डको सजाय पाउने रामआशिष यादव धनुषाका थिए ।

धनुषामा प्रशासनबाट बुझ्दा खबर आयो, ‘केही धुर जग्गामा बनेको फुसको घर छ । त्यो बाहेक उसको केही सम्पत्ति छैन ।’ उसको परिवारले ५० लाख होइन, ५ लाख रुपैयाँ पनि जम्मा गर्न सक्ने अवस्था थिएन ।

यसले सहयोग गर्न खोजेको छ भन्ने थाहा पाएपछि रामआशिषका परिवारहरू तारन्तार मकहाँ आउन थाले । बच्चाहरू सहित उनीहरू दिनहुँ कार्यालयमा आएर गुनासो गर्न थाले । सानी बच्ची ‘अंकलजी, मेरो बाबालाई बचाइदिनू न’ भनिरहन्थिन् । उनको त्यो आग्रह र अनुनय निकै संवेदनायुक्त थियो । मैले आफ्नो प्रयास छाडिनँ ।

परराष्ट्र मन्त्रालयबाट ताकेताको पत्र आइरहेको थियो, मृत्युदण्ड कार्यान्वयनको समयसीमा करिब एक महिना बाँकी थियो । धनुषाबाट कुनै आर्थिक सहयोग जुट्ने सम्भावना देखिएन । अनि हामीले रूपन्देहीमै सार्वजनिक रूपमा रकम संकलन गर्ने अभियान थाल्यौं ।

‘एउटा नेपाली नागरिक बचाउन हामीले गरेको प्रयास हो, यसमा तपाईंहरूले मानवीय रूपमा सहयोग गर्नुहोस्’ भनेर सबैलाई आग्रह गर्‍यौं । धनुषाको मानिसलाई बचाउन रूपन्देहीमा किन रकम संकलन अभियान शुरु गर्ने भन्ने तर्क आउन सक्थ्यो, तर मानवता र मानवीय सहयोगको कुनै भूगोल हुँदैन, त्यही सोचका साथ सहयोग गर्नुहोला भनी आग्रह गर्‍यौं ।

अन्ततः ४६ लाख २५ हजार रुपैयाँ संकलन भयो । मृतकको परिवारलाई त्यो रकम दिएर त्यहीं नै आममाफीको कागजात तयार गरियो । अनि सबै कागजात संकलन गरेर साउदी अरब पठाइयो । आममाफीपछि मृत्युदण्डको अन्तिम समय–सीमाको ६ दिनअघि नै रामआशिष काठमाडौं आए ।

उनी सोझै रूपन्देही गएर सबैलाई धन्यवाद दिए । संवेदनशील विषयमा विषम परिस्थिति निम्तिन सक्ने देखेर हामीले पीडितका परिवारलाई उनीसँग भेटाएनौं । त्यसपछि बल्ल उनीहरू जनकपुर गए ।

क्षणिक आवेगका कारण निम्तिएको घटनाले एउटा नेपालीको त ज्यान गएको थियो, त्यही घटनामा संलग्न अर्कोको पनि ज्यान जाने अवस्था थियो । हामीले प्रयास गरेर उनको ज्यान जोगाउन सकेकोमा खुशी लागेको छ । सबैले आ–आफ्नो तर्फबाट अधिकतम प्रयास गर्ने हो भने केही न केही योगदान गर्न सकिने रहेछ भन्ने महसुस भएको छ ।

(हाल पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी रहेका अर्यालसँगको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?