+
+
Shares
पोखरा विमानस्थल प्रकरण :

ओली र देउवाका पालामा २ अर्ब २२ करोड कर छुट

पोखरा विमानस्थल निर्माणमा ‘अनियमित रूपमा’ कर छुटको निर्णय हुँदा ओली र देउवा प्रधानमन्त्री थिए । कतिपय निर्णय त उनीहरूले मन्त्रालय सम्हालेकै बेलामा भएको थियो ।

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०८२ वैशाख १२ गते १८:२४

१२ वैशाख, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले सांसद राजेन्द्र लिङ्देनको नेतृत्वमा गठन गरेको उपसमितिले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार र अनियमितता भएको निष्कर्ष निकाल्यो । उसले ठेक्का सम्झौताविपरीत कर छुट दिएको भन्दै निर्णयकर्ताहरूमाथि प्रश्न उठाएको छ ।

चिनिया ठेकेदारसँग भएको ठेक्का सम्झौताको बुँदा १४(२) मा ‘नेपालभित्र र बाहिरको भए पनि लाग्ने कर शुल्क महसुल भुक्तानी गर्ने दायित्व निर्माण व्यवसायीको हुने’ उल्लेख छ । त्यसविपरीत २ अर्ब २२ करोड ४० लाख रुपैयाँ छुट दिई आर्थिक अनियमितता भएको भनी प्रश्न उठाएको हो ।

ठेक्का सम्झौतामा उल्लेख नभएको अवस्थामा पोखरा विमानस्थल आयोजनाले मास्टर लिस्टमा राखेर भन्सार शुल्क तथा महसुल अनि भ्याटवापत २ अर्ब २२ करोड ४० लाख रुपैयाँ छुट दिएको फाइल अघि बढाएको थियो । उपसमितिले तयार पारेको प्रतिवेदनको मस्यौदामा निर्णयकर्ता को-को संलग्न थिए भन्ने खुलाएको छैन ।

अर्थ मन्त्रालयको अभिलेखअनुसार, २०७४ चैतदेखि २०७८ असोजसम्म सात पटक कर छुटको निर्णय भएको देखिन्छ । मन्त्रालयले पठाएको विवरणपत्रमा निर्णय प्रक्रियामा संलग्नहरूको नाम छैन । त्यो मितिमा पदमा रहेकाहरूको विवरण खोज्दा अर्थमन्त्री डा. युवराज खतिवडादेखि जनार्दन शर्मासम्मको संलग्नता देखिन्छ ।

चैत, २०७४ देखि असोज, २०७८ सालसम्म सात पटक कर छुटको निर्णय हुँदा सुरुको पाँच पटकमा प्रधानमन्त्री केपी शर्मा ओली थिए । छैटौं र सातौं पटकमा शेरबहादुर देउवा प्रधानमन्त्री थिए । त्यो अवधिमा ओलीले अर्थ मन्त्रालय र देउवाले पर्यटन मन्त्रालय पनि सम्हालेका थिए । त्यतिबेला सचिवहरूले कर छुटसम्बन्धी निर्णयहरू अघि बढाएको अभिलेखबाट देखिन्छ ।

१६ चैत, २०७४ मा अर्थ मन्त्रालयले पहिलोपटक पोखरा विमानस्थल निर्माणमा संलग्न चिनियाँ ठेकेदारलाई कर छुट दिने निर्णय गरेको देखिन्छ । त्यो मितिमा कृष्णप्रसाद देवकोटा पर्यटन सचिव थिए । पर्यटन सचिवस्तरीय निर्णयबाट अघि बढेको फाइल अर्थ मन्त्रालयमा पुगेको थियो ।

रवीन्द्र अधिकारी पर्यटनमन्त्री भएका बेला पहिलो कर छुटको फाइल अघि बढे पनि निर्णय प्रक्रियामा उनी संलग्न नदेखिएको लेखा उपसमितिका एक सदस्यले बताए ।

पर्यटन मन्त्रालयबाट अघि बढेको फाइल अर्थसचिव शंकरप्रसाद अधिकारीले अनुमोदन गरी अर्थमन्त्री डा. युवराज खतिवडासमक्ष पेस गरेका थिए । पहिलो कर छुट डा. खतिवडाको मन्त्रिस्तरीय निर्णयबाट भएको थियो ।

२७ साउन, २०७५ मा दोस्रो पटक करछुटको निर्णय भएको थियो । त्यो फाइल पर्यटन सचिव कृष्णप्रसाद देवकोटाले अघि बढाएको देखिन्छ । कर छुटको निर्णय शिशिरकुमार ढुंगाना राजस्व सचिव थिए । अर्थमन्त्री डा. खतिवडाले दोस्रो कर छुटको निर्णयमा हस्ताक्षर गरेको विवरण लेखा समितिमा पुगेको अभिलेखबाट देखिन्छ ।

११ वैशाख २०७६ मा तेस्रो कर छुटको निर्णय भएको थियो । त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले पर्यटन मन्त्रालय सम्हालेका थिए । १४ फागुन, २०७५ मा हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि प्रधानमन्त्री ओली स्वयंले पर्यटन मन्त्रालय सम्हालेका थिए भने सचिवको जिम्मेवारीमा मोहनकृष्ण सापकोटा आए ।

पर्यटन सचिव सापकोटाले तेस्रो पटक करछुटको फाइल अर्थ मन्त्रालयमा अघि बढाएको देखिन्छ । केपी शर्मा ओलीले मन्त्रालयको नेतृत्व गरे पनि सचिवस्तरीय निर्णयबाट काम भएकाले तेस्रो कर छुटको फाइलमा उनको हस्ताक्षर छैन । राजस्व सचिव शिशिरकुमार ढुंगानाको निर्णयबाट पोखरा विमानस्थल निर्माणमा संलग्न ठेकेदारले तेस्रो चरणमा कर छुट पाएको थियो । सचिवस्तरीय निर्णयबाट तेस्रो कर छुट भएको थियो ।

५ असार २०७७ मा चौथो पटक कर छुटको निर्णय भयो । त्यससम्बन्धी फाइल अघि बढ्दा योगेश भट्टराईले पर्यटन मन्त्रालयको नेतृत्व गरेका थिए । तर सचिव केदारबहादुर अधिकारीले नै निर्णय गरेर कर छुटको फाइल अर्थ मन्त्रालयमा पुगेको देखिन्छ ।

मन्त्रालयको नेतृत्व गरे पनि त्यो निर्णयमा तत्कालीन मन्त्री भट्टराई संलग्न थिएनन् । उनले आफ्नो कार्यकालमा सचिवले गरेको निर्णयको हदसम्म मात्रै जवाफदेही हुनुपर्ने देखिन्छ ।

चौथो पटकको कर छुट दिँदा शिशिरकुमार ढुंगाना अर्थसचिव भइसकेका थिए भने डा. खतिवडा नै अर्थमन्त्रीको रूपमा कार्यरत थिए । तेस्रो पटकको करछुट दिँदा सचिवस्तरीय निर्णय भएकोमा चौथोमा भने अर्थमन्त्री खतिवडा आफैं निर्णय प्रक्रियामा संलग्न देखिन्छन् ।

२ असोज, २०७७ मा पोखरा विमानस्थलको चिनियाँ ठेकेदार कम्पनीले पाँचौ पटक कर छुट पायो । त्यो फाइल अघि बढ्दा योगेश भट्टराईले नै पर्यटन मन्त्रालय सम्हालेका थिए । सचिव केदारबहादुर अधिकारीले निर्णय गरेर फाइल अर्थ मन्त्रालयमा पठाइदिएका थिए ।

त्यो मितिमा निर्णय हुँदा शिशिरकुमार ढुंगाना अर्थसचिव अनि रामशरण पुडासैनी राजस्व सचिव थिए । थिए । डा. युवराज खतिवडा राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिएको ६ महिना पूरा भएर मन्त्री पद छाडेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ मन्त्रालय समेत सम्हालेका थिए ।

सचिवस्तरीय निर्णयबाट पाँचौ पटक करछुटको निर्णय भएको थियो । प्रधानमन्त्री ओली निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न नभए पनि उनी मातहतकै सचिवले उनको सम्मतिविना कसरी कर छुटको निर्णय गरे भन्ने प्रश्न उठ्ने देखिन्छ ।

२ भदौ २०७८ मा छैटौं पटक कर छुटको निर्णय भएको थियो । त्यतिबेला भर्खरै ओली सरकार ढलेर शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको थियो । मन्त्रिमण्डलले पूर्णता नपाएकाले देउवाले नै पर्यटन मन्त्रालयको नेतृत्व गरेका थिए ।

पर्यटनमन्त्री समेत रहेका देउवा मातहतका सचिव यादवप्रसाद कोइरालाले छैटौं पटकको कर छुटको प्रस्ताव अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेका थिए । त्यो फाइल अघि बढ्दा अर्थसचिव मधुकुमार मरासिनी थिए । अर्थमन्त्री जनार्दन शर्माले कर छुटको निर्णय गरे । सातौं पटकको कर छुटको निर्णयमा पनि पर्यटन र अर्थ मन्त्रालयमा उही टिम थियो । फरक यत्ति हो कि सातौ पटकको निर्णय हुँदा कृष्णहरि पुस्कर राजस्व सचिवको जिम्मेवारीमा पुगिसकेका थिए ।

लेखा उपसमितिले नागरिक उड्डयन प्राधिकरण, पर्यटन र अर्थ मन्त्रालयले मास्टर लिस्टका आधारमा २ अर्ब २२ करोड रुपैयाँ ‘आर्थिक अनियमितता गरेको देखिएको’ निष्कर्ष निकालेको छ । महालेखा परीक्षकको कार्यालयले समेत तत्काल असुल-उपर गर्नुपर्ने खालको बेरुजु देखाएको भन्दै उपसमितिले निर्णयमा संलग्नलाई कारबाही हुनुपर्ने भनेको हो ।

अर्थ मन्त्रालयले कुन चरणमा कति रकमका दरले कर छुट भयो भन्ने विवरण गोप्य राखेको भन्दै लेखा उपसमितिले संलग्नहरूलाई कारबाही हुनुपर्ने सुझाव दिएको हो ।

उपसमितिले प्रतिवेदनमा भनेको छ, ‘कर छुट दिने सम्बन्धमा यसको औचित्य एवं सैद्धान्तिक आधार के थियो भनी समितिले पत्राचार गर्दा समेत सो सम्बन्धमा अर्थ मन्त्रालयले कुनै जानकारी नदिएको ।’

लेखक
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?