१२ वैशाख, काठमाडौं । पोर्चुगलको काल्दास दा रेन्हामा जारी २१औं विश्व केम्पो च्याम्पियनसिपमा नेपालले ऐतिहासिक सफलता हात पारेको छ। नेपाल केम्पो खुकुरी महासंघका खेलाडी विपेश थापाले प्रतियोगिताको तेस्रो दिन कास्य पदक जितेका हुन् ।
५ डान श्रेणीका प्रशिक्षक तथा खेलाडी थापाले नेपालका लागि विश्व केम्पो च्याम्पियनसिपमा पहिलोपटक पदक जितेका हुन्। नेपाली केम्पो खेलको इतिहासमै यो पदक पहिलो हो।
महासंघका प्रमुख सल्लाहकार बलदेव तिमल्सिनाका अनुसार यस उपलब्धिले नेपाली केम्पोको पहिचान अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरेको छ।
नेपालले उक्त च्याम्पियनसिपमा दोस्रोपटक सहभागिता जनाएको हो। गत वर्षको पहिलो सहभागितामा पदकविहीन फर्किएको नेपालले यसपटक थापाको उत्कृष्ट प्रदर्शनमार्फत ऐतिहासिक सफलता हात पारेको हो।
महासंघका अध्यक्ष पाभेल शाहले यसलाई नेपालीहरूको गर्व र सम्मान भएको उल्लेख गर्दै थापाको यो उपलब्धिले केम्पो, खेलकुद, र समग्र नेपालको इतिहासमा स्वर्णिम पृष्ठ थप्नुका साथै नेपालको राष्ट्रिय पहिचानको लागि पनि महत्त्वपूर्ण कोशेढुंगा भएको बताए।
नेपाली टोली प्रतियोगितामा सहभागी हुन २१ अप्रिलमा पोर्चुगल पुगेको थियो। प्रतियोगिता २२ अप्रिलदेखि सुरु भएको हो। तेस्रो दिनसम्म नेपालले प्रभावशाली उपस्थिति जनाइसकेको छ। अन्य खेलाडीहरूले पनि आ–आफ्नो श्रेणीमा उल्लेखनीय प्रदर्शन गरिरहेका छन्।
टोलीमा महासंघका प्रमुख सल्लाहकार बलदेव तिमल्सिना, बिदेश विभाग प्रमुख तथा ग्राण्ड मास्टर विकास सुवेदी, महासचिव शर्मिला कार्की, तथा अन्य खेलाडीहरू सहभागी छन्।
काभ्रेका स्थायी बासिन्दा विपेश थापा नेपाली केम्पो खेलकुदका अग्रणी प्रशिक्षक हुन्। उनले यसअघि पनि दक्षिण एसियाली प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गरिसकेका छन्। उनको अन्तर्राष्ट्रिय स्तरको यो पदकले नेपाली युवाहरूलाई केम्पो खेलतर्फ आकर्षित गर्ने विश्वास गरिएको छ।
२८ अप्रिलसम्म जारी रहने प्रतियोगितामा नेपाली टोलीले हालसम्मको सफलतालाई थप सुदृढ बनाउने लक्ष्य राखेको जनाएको छ।
प्रतिक्रिया 4