
१२ वैशाख, काठमाडौं । सरकार र शिक्षक महासंघबीच शुक्रबार तीन बजे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ताको समय तय भएको थियो ।
नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताबाटै समाधान खोज्न सरकार प्रतिबद्ध रहेको भन्दै ३ बजे वार्ताका लागि आह्वान गरेका थिए ।
मन्त्रीको आह्वान र प्राप्त सूचनाका आधारमा वार्तामा बस्ने पाँचजनाको टोली तयार गरेर शिक्षक महासंघको टोली सिंहदरबारतर्फ हिँड्यो ।
तर, सिंहदरबार पुग्दा शिक्षक संघ–संगठनका २५ प्रतिनिधिको नाम वार्ता टोलीको रूपमा जारी भएको देखेपछि शिक्षक महासंघको टोली मन्त्रालय नगई बाटैबाट फर्कियो ।
शिक्षा मन्त्रालयले २५ जनाको नाम तयार पारेको थियो । र, सिंहदबार प्रवेशको प्रयोजनाका लागि सिंहदरबारस्थित दक्षिणी गेटमा पठाएको थियो । त्यो देखेपछि महासंघको आधिकारिक वार्ता टोली आश्चर्यमा पर्यो ।
महासंघले भने वार्ताका लागि ५ सदस्यीय टोली बनाएको थियो ।
‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली महासंघले तयार नगरेको ब्यहोरा जानकारी गराउँछौं,’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सूचना जारी गर्दै भने ।
शिक्षक महासंघले मन्त्रालय जान लागेको टोली नगई फर्किएको पनि बताएको छ । ‘नवनियुक्त मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौं । तर, विशेष कारणबश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको जानकारी गराउँछौं,’ अध्यक्ष सुवेदीले जारी गरेको सूचनामा भनिएको थियो ।
२५ जनाको वार्ता टोली महासंघले आधिकारिक नभएको बताएपछि आज हुने भनेको वार्ता भाँडियो । नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तले एक चरण सबैका कुरा सुन्नका लागि उनीहरूलाई पनि बोलाएको बताएका छन् । ‘शिक्षकका संघ संगठन जति पनि छन् ती सबैको एकसरो कुरा सुनौं भनेर हो,’ मन्त्री पन्तले भने ।
अब महासंघले पठाएको टोलीसँग मात्र वार्ता गर्न तयार रहेको पनि मन्त्री पन्तले बताए । ‘नेपाल शिक्षक महासंघले आधिकारिक वार्ता टोली बनाओस्, टोलीसँग वार्ता गर्छौ,’ मन्त्री पन्तले भने ।
शुक्रबार वार्ताको लागि आफू मन्त्रालयमा शिक्षकहरूलाई कुरेर बसेको पनि मन्त्री पन्तले बताए । ‘म उहाँहरूलाई कुरेर बसेको थिएँ । केही आउनु भयो । केही आउनु भएन । गेटमा रोकियो भनेपछि सहसचिवलाई नै लिन गेटमा पठाएँँ,’ मन्त्री पन्तले भने, ‘गेटमा मैं आउनुपर्छ भने पनि आउँछु भनेको थिएँ । तर पछि भित्र आउनु भएकाहरू पनि फर्किनु भयो ।’
मन्त्री पन्तले शनिबार पनि आफू वार्ताको लागि तयार रहेको बताए । ‘महासंघले पठाएको टोलीसँग वार्तामा बस्न सरकरा तयार छ,’ मन्त्री पन्तले भने, ‘अदालतको पनि आदेश आएको छ । वार्ताबाट नै समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ । त्यही अनुसार मैले प्रयत्न गरेको हुँ ।’
ऐन कानुन र राज्यको आर्थिक स्थिति हेरेर महासंघका माग पूरा गर्ने प्रतिबद्धता मन्त्री पन्तले जनाए । ‘ऐन कानुन र अर्थतन्त्रले धान्ने अनुसार कार्यान्यवन गर्ने हो । जे सहमति हुन्छ जिम्मेवार भएर हुन्छ । कार्यान्वयन गर्ने गरी हुन्छ,’ उनले भने ।
यसअघि बिहीबार सर्वोच्च अदालतले विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने गरी तीन भित्र शिक्षकका माग सम्बोधन गर्न आदेश दिएको थियो । सोही अनुसार मन्त्रालयले शुक्रबार नै शिक्षकहरूलाई वार्तामा बोलाएको हो ।
प्रतिक्रिया 4