
१३ वैशाख, गुल्मी । गुल्मीमा कुकुरको बन्ध्याकरण गर्न थालिएको छ । छाडा छोडिएका र घरपालुवा ४०० कुकुरको बन्ध्याकरण गर्न लागिएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार रेबिज हुनबाट रोक्न यो उपाय अपनाइएको हो ।
कुकुरको संख्या धेरै भएकोले सार्वजनिक ठाउँमा मानिस र अन्य जीव जन्तुलाई टोकेर रेबिज सार्ने भएकोले संख्या वृद्धि हुनबाटै रोक्न लागिएको हो । गुल्मीका सरोकारवालाका अनुसार पछिल्लो समय कुकुरले टोक्ने क्रम बढेको छ ।
रेसुङ्गा नगरपालिका, छत्रकोट, धुर्कोट र मदाने गाउँपालिकामा रहेका छाडा तथा घरपालुवा कुकुरको बन्ध्याकरण गर्न लागिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डेले बताए ।
हिमालयन एनिमल रेष्क्यु ट्रस (हार्ट) नेपाल पोखराको प्राविधिक सहयोगमा विशेषज्ञ डक्टरसहितको टिमले स्थानीय तहमा शिविरको आयोजना गरेर कुकुरको बन्ध्याकरण गर्न लागिएको छ ।
कार्यालयको वार्षिक नीति तथा कार्यक्रम अनुसार छत्रकोट गाउँपालिकामा २ दिनसम्म गरिएको शिविरमा १०९ वटा कुकुरको बन्ध्याकरण गरिएको थियो । रेसुङ्गा नगरपालिकामा पनि शिविर सुरु भएको छ ।
जिल्ला सदरमुकाम तम्घासमा भुसिया कुकुरको बिगबिगीका कारणले स्थानीय समस्या झेल्दै आएका थिए । नगरपालिकामा १०० बढी कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य कार्यालयले लिएको छ ।
पहिलो दिन ५६ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । जिल्लामा ८ हजार कुकुर रहेको तथ्याङ्क कार्यालयसँग रहेको छ । जसमध्ये ४ हजार सामुदायिक कुकुर र ४ हजार घरमा पालेका कुकुर रहेको कार्यालय प्रमुख पाण्डेले बताए ।
जिल्लामा अघिल्लो वर्ष २००, गत वर्ष २५० र यस वर्ष ४०० बढी कुकुरको बन्ध्याकरण गर्न थालिएको कार्यालयले जनाएको छ ।
शिविर सुभारम्भ कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पछिल्लो समय छाडा कुकुरको आतंक बढ्दै गएकाले नियन्त्रणका लागि यो उपाय अपनाइएको बताए ।
कुकुरको बन्ध्याकरण गर्दा कुकुरको आयु बढ्ने, मोटाउने र स्वस्थ रहने सरोकारवालाको दाबी छ ।
कुकुरलाई रेबिज भ्याक्सिनसमेत लगाइने भएकाले रेबिज रोकथाममा यसले टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
गत वर्ष गुल्मीदरबार गाउँपालिकामा कुकुरको टोकाइका कारणले रेबीज लागेर एक जना महिलाको मृत्यु भएको थियो । त्यस्तै गाई भैसीलाई समेत कुकुरले टोक्ने क्रम बढेको थियो ।
विशेष गरी जिल्लाका मुख्य बजार क्षेत्रमा छाडा कुकुरको संख्या धेरै रहेको छ । जिल्लामा चालु आर्थिक वर्षको चैतसम्ममा ८८० जनालाई कुकुले टोकेर रेबिजविरुद्धको खोप लगाउन गुल्मी अस्पतालमा आएको अस्पतालका सूचना अधिकारी रमेश पन्थीले बताए ।
अघिल्लो आर्थिक वर्षमा एक वर्षको अवधिमा एक हजार ३७९ जनालाई कुकरले टोकेर रेबिजविरुद्धको खोप लगाउन अस्पतालमा पुगेको तथ्याङ्क रहेको छ ।
सडकमा अलपत्र छाडिएका कुकुरले सडकमै छाउराछाउरी जन्माउने र ती छाउराछाउरी सडकमै हुर्कने क्रम बढ्दो छ । नगर क्षेत्रका खाली जमिन, सडक, चोक र गल्लीहरुमा दर्जनौं कुकुरको समूह रहेको छ ।
बेवारिसे कुकुरबाट राति हिँड्ने पैदलयात्री तथा मोटरसाइकल चालक सबैभन्दा बढी पीडित हुने गरेका छन् ।
प्रतिक्रिया 4