+

एनएसएल फाइनल : ललितपुरले इतिहास रच्ला वा पोखरा नयाँ च्याम्पियन बन्ला?

२०८२ वैशाख  १३ गते ८:२५ २०८२ वैशाख १३ गते ८:२५
एनएसएल फाइनल : ललितपुरले इतिहास रच्ला वा पोखरा नयाँ च्याम्पियन बन्ला?

१३ वैशाख, काठमाडौं । एकातर्फ साविक विजेता ललितपुर सिटी एफसी । अर्कोतर्फ पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्स ।

फाइनल स्टेज सेट भइसकेको छ । यीनै दुई टिम नेपाल सुपर लिग (एनएसएल) २०२५ को उपाधिका लागि शनिवार भिड्दैछन् । त्रिपुरेश्सवरस्थित दशरथ स्टेडियममा साँझ ६ बजे फाइनल खेल सुरु हुनेछ ।

दुवै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछन् ।

लिगमा दुवै टिमको सुरुवात फरक तरिकाले भएको थियो तर फाइनल पुग्दा भने एउटा समानता रह्यो ।

ललितपुरले लिग चरणमा सबै ६ खेलमा अपराजित रहँदै क्वालिफायर वानमा स्थान बनाएको थियो ।

पोखराले भने सुरुवाती दुई खेलमा पराजित हुँदै लिग सुरुवात गरेको थियो । तर लिगमा त्यसपछिका ४ र प्लेअफमा २ गरी पोखरा पनि पछिल्ला ६ खेलमा अपराजित छ ।

अनी यी दुवै टिमले फाइनल पुग्ने क्रममा एकै टिम धनगढी एफसीलाई हराएका थिए । त्यो पनि एक खेलाडी कम रहेर ।

ललितपुरले पहिलो क्वालिफायरमा धनगढी एफसीलाई २-१ ले पराजित गर्दै लगातार दोस्रो पटक फाइनल पुगेको हो भने पोखराले दोस्रो क्वालिफायरमा धनगढीलाई नै १-० ले हराएर पहिलो पटक फाइनलमा स्थान बनायो ।

अब उपाधि उचाल्नबाट दुवै टिम एकै खेलमात्र टाढा छन् तर फाइनल सकिएपछि एक टिमले मात्र ट्रफी उचाल्नेछन् ।

के ललितपुरले लगातार दोस्रो पटक उपाधि जित्ला वा पोखराले एनएसएलको नयाँ च्याम्पियन बन्ला ।

अहिलेसम्म कुनै पनि टिमले अपराजित रहँदै एनएसएलको उपाधि जितेको छैन । तर यस पटक ललितपुरसामु त्यो अवसर छ । दोस्रो संस्करणको अन्तिम ३ खेल र यस पटकको ७ गरी ललितपुर लगातार १० खेलमा अपराजित छ । यसपटक उपाधि जितेमा ललितपुरले अपराजित रहँदै उपाधि जित्ने टिमको कीर्तिमान बनाउनेछ । यस्तै एनएसएल उपाधि रक्षा गर्ने पहिलो टिम पनि बन्नेछ ।

फुटबलमा एउटा शब्द छ ‘इनभिजिल’ । जसको अर्थ हुन्छ अपराजित रहेर च्याम्पियन बन्ने । ललितपुर अहिले त्यही बाटोमा छ ।

ललितपुर र पोखरा दुवै लयमा देखिएका टिम छन् । ललितपुरले लिगभर कुनै खेल नहार्दा पोखराले कमजोर सुरुवात गरेर पनि फाइनलसम्मको यात्रा तय गरेको छ ।

ललितपुरका कप्तान अनन्त तामाङ पनि अर्को कोशेढुंगा नजिक छन् । ललितपुरले उपाधि जिते उनी लगातार दुई उपाधि जित्ने कप्तान बन्नेछन् । यसअघि अनन्तकै कप्तानीमा ललितपुरले पहिलो पटक एनएसएल जितेका थिए । त्यसअघि उनकै कप्तानीमा २०८० सालमा चर्च ब्वाइजले ए डिभिजन लिगको उपाधि जितेको थियो । त्यसपछि ए डिभिजन लिग त भएको छैन तर अनन्त भने एनएसएलमा इतिहास रच्ने बाटोमा छन् । अनन्तले जित्नका लागि कुनै सुत्र नभएकव र टिम एकताले गर्दा नै यो सम्भव भएको बताएका छन् ।

अर्कोतर्फ पोखराको कप्तानमा फरवार्ड नवयुग श्रेष्ठ छन् । उनले घरेलु फुटबल आर्मीबाट खेल्दा ए डिभिजन लिगको उपाधि जित्न पाएका छैनन् । त्यसैले यस पटक आफ्नै कप्तानीमा एनएसएल जित्ने अवसर छ । एनएसएलको उपाधि जित्नु आफ्नो लागि पनि महत्वपूर्ण हुने नवयुग बताउँछन् ।

यसैगरी फाइनल नेपाली र विदेशी प्रशिक्षकबीचको भिड्नत पनि हुनेछ । त्यसमा ललितपुरको प्रशिक्षक छन् अनुभवी इंग्लिस कोच साइमन ग्रेसन । उनले इंग्ल्याण्डकै लिड्स युनाइटेड देखि भारतको बेंगालुरु एफसी सम्म सम्हालिसकेका छन् । निकै अनुभवी ग्रेसन मैदानमा रणनीति बनाउनमा पोख्त छन् । त्यसैले उनी अन्तिम खेल जित्नै उपाधि रक्षा गर्ने आशामा छन् ।

अर्कोतर्फ नेपाली प्रशिक्षक सुमन श्रेष्ठको काँधमा छ पोखरा । धनकुटाका यी प्रशिक्षक कुनै बेला आफूले पनि एनएसएलमा टिमलाई प्रशिक्षण दिएको सपना देख्थे । अहिले उनले त्यो सपना साकार पार्दै पोखरालाई फाइनल पुर्‍याएका छन् र उपाधि उचाल्नबाट एक कदम टाढा छन् । यसअघि पहिलो संस्करणमा काठमाडौ रेजर्सले उपाधि जित्दा नेपालकै बालगोपाल महर्जन प्रशिक्षक थिए भने दोस्रो संस्करण ललितपुरले जित्दा इयान गिलियन प्रशिक्षक थिए । तेस्रो संस्करणमा नेपाली र विदेशी प्रशिक्षक फाइनलमा पुगेका छन् ।

यस पटक ७ टिम मध्ये ३ टिममा मात्र नेपाली प्रशिक्षम थिए र त्यसमा तिनै सुमन एक हुन् । उनले पहिलो पटक एनएसएलको टिम सम्हालेका थिए । अब उनीसामु एनएसएल जित्ने दोस्रो नेपाली प्रशिक्षक बन्ने अवसर छ र यो उपाधिले आनो करियरमा पनि एउटा इँटा थप्ने श्रेष्ठको विश्वास छ ।

सुरुमै आप्नो पक्षमा नतिजा नआउँदा टिम व्यवस्थापन र खेलाडीको साथमा उनले टिमलाई फाइनलसम्म डोहोर्‍याए । खेलाडीहरु पनि प्रशिक्षक श्रेष्ठकै योजनाअनुसार खेलेको बताउँदै आएका छन् । एनएसएलका लागि करिब ६ साता गरेको तयारीको प्रतिफल पाउने बेला आएको श्रेष्ठले बताएका छन् ।

यस्तो छ फाइनलसम्म आउँदा दुवै टिमको नतिजा

ललितपुर सिटी एफसी

काठमाडौं रेजर्स विरुद्ध २-२ को बराबरी

पोखरा थण्डर्स विरुद्ध ३-२ ले विजयी

धनगढी एफसी विरुद्ध गोलरहित बराबरी

एफसी चितवन विरुद्ध २-१ ले विजयी

बुटवल लुम्बिनी विरुद्ध २-० ले विजयी

झापा एफसी विरुद्ध १-१ को बराबरी

क्वालिफायर वान

धनगढी एफसी विरुद्ध २-१ ले विजयी

पोखरा थण्डर्स

एफसी चितवन विरुद्ध २-१ ले पराजित

ललितपुर सिटी विरुद्ध ३-२ ले पराजित

काठमाडौ रेजर्स विरुद्ध २-० ले विजयी

धनगढी एफसी विरुद्ध गोलरहित बराबरी

झापा एफसी विरुद्ध १-१ को बराबरी

बुटवल लुम्बिनी विरुद्ध २-० ले विजयी

एलिमिनेटर

एफसी चितवन विरुद्ध ३-० ले विजयी

क्वालिफायर  टु

धनगढी एफसी विरुद्ध १-० ले विजयी

एनएसएल नेपाल सुपर लिग पोखरा थण्डर्स ललितपुर सिटी
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय