१३ वैशाख, काठमाडौं । मोन्टी देशाईको शानदार कार्यकालको समाप्तिपछि नेपाली क्रिकेटले अब अस्ट्रेलियन प्रशिक्षकको आगमनसँगै अर्को एउटा नयाँ अध्यायको सुरुवात गर्दै छ ।
लय समाउन संघर्ष गरिरहेको नेपाली टोलीको प्रशिक्षण अबको दुई वर्ष सम्हाल्न अस्ट्रेलियन अनुभवी प्रशिक्षक स्टुअर्ट लको आगमन भइसकेको छ ।
शुक्रबार राति नेपाल आइपुगेर शनिबार विहानै अन्तर्रक्रियामा सहभागी भएका ल फुर्तिला देखिए भने नेपाली क्रिकेट टोली सम्हाल्नुअघि निकै उत्साहित पनि देखिए ।
सुरुवातमै उनले नेपाली टोलीको प्रशिक्षण जिम्मेवारी पाउँदा उत्साहित रहेको बताउँदै उनले आफ्ना लागि ‘न्यु च्यालेन्ज’ भएको उल्लेख गरे ।
‘यो सहज काम पक्कै होइन, जुन हिसाबको प्रतिभाहरू नेपालमा छन् उनीहरूसँग काम गर्न निकै उत्साहित छु’ उनले भने । एसोसियट राष्ट्र नेपालको प्रशिक्षकका लागि आवेदन दिनुपछाडिको कारण पनि युवा खेलाडीको प्रतिभा नै भएको उनले उल्लेख गरे ।
‘म स्थापित टिमभन्दा पनि विकास मन पराउने मान्छे हूँ, त्यसकारण नेपालजस्तो क्रिकेटमा विकासशील देशतर्फ बढी लगाव हुन्छ’ उनले भने, ‘एसोसियट टिमहरू राम्रा हुन्छन् तर उनीहरूलाई राम्रो विकासको पनि आवश्यकता हुन्छ।’
उनले नेपालमा धेरै प्रतिभा, चाहना र प्यासन भएका खेलाडीहरू देखेको र यहाँको समर्थकहरूमा देखेको क्रिकेटप्रतिको लगावले पनि आफू प्रभावित भएको उल्लेख गरे ।
प्रशिक्षक लकै उपस्थितिमा आजदेखि काठमाडौंमा पुरुष क्रिकेट टोलीको कोर क्याम्प पनि सुरु भएको छ । उक्त क्याम्पबाट नेपालको अबक दुई महत्वपूर्ण प्रतियोगिता आईसीसी टी-२० विश्वकप छनोट र आईसीसी विश्वकप लिग २ का लागि अन्तिम टोली तयार हुनेछ ।
यस क्याम्पबाट खेलाडीहरूको प्रदर्शनबारे पनि जानकारी प्राप्त हुने उनले उल्लेख गरे । ‘अब खेलाडीहरूको प्रदर्शनबारे हेरेको पनि छु, यस क्याम्पबाट निखार ल्याउन मद्दत पुग्ने हो, उनीहरूको आगामी क्षमताबारे अझै धेरै नलेज लन सकिन्छ’ उनले भने ।
यस्तै उनले आफूले हार्न नजानेको बताउँँदै नेपालको मुख्य लक्ष्य भनेको फेरि पनि एकपटक नेपाललाई विश्वकपमा पुर्याउनु रहेको प्रतिबद्धता जनाए ।
‘आई डोन्ट लाइक लुजिङ, मेन टार्गेट विल बि दि वर्ल्ड कप क्वालिफायर्स’ अर्थात् ‘मलाई हारेको मन पर्दैन र मुख्य लक्ष्य टी२० विश्वकप छनोट हुनेछ’ उनले भने, ‘कुनैपनि प्रशिक्षकका लागि विश्वकपमा सहभागी हुनु त्यतिकै विशेष हुन्छ जति खेलाडीहरूका लागि हुन्छ।’
उनले नेपाल राम्रो देश भएको र यहाँको क्रिकेट कल्चर पनि राम्रो भएको उल्लेख गरे । ‘राम्रो देश, राम्रो ठाउँमा क्रिकेट मैदान पनि छ, घाँस भएको पिच छ’ पिच कन्डिशनबारे टिप्पणी गर्दै उनले भने, ‘युकेको कन्डिशनसँग म्याच गर्छ, युके जानुअघि यहाँ पनि राम्रोसँग अभ्यास गर्नेछौं।’
होम एड्भान्टेजबारेको प्रश्नमा उनले भने, ‘घरमा खेल्दा सहयोग त पक्कै हुन्छ तर हाम्रा लागि मुख्य कुरा भनेको धेरैभन्दा धेरै अभ्यास नै हो ।’
यस्तै नेपालको अबको यात्रामा टी-२० र ओडिआई टिममा केकस्तो परिवर्तन हुन सक्छ भन्रेबारेको प्रश्नमा उनले खेलाडीलाई आफ्नो भूमिकामा अभ्यस्त गराउनु मुख्य कुरा रहेको बताउँदै त्यस्तो व्यापक परिवर्तन नहुने बताए ।
‘नेपालमा फरक शैलीका क्रिकेटरहरू छन् जसले दुवै फर्म्याटमा उतिकै राम्रो गर्न सक्छन्, कोही विशेषज्ञ खेलाडी पनि हुन सक्छन् उनीहरूलाई कुन भूमिकामा कसरी अभ्यस्त गराउने त्यो जरुरी हुन्छ’ उनले भने, ‘त्यसकारण व्यापक रूपको फरक त हुँदैन, लेट्स की कसको भूमिका कस्तो रहन्छ।’
कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले नेपालको टिमसँग बोन्डिङ मिल्न सक्ने, अनुभवी र नेपालस्तो टिमसँग पहिले काम गरिसकेको भएकले स्टुअर्ट ललाई नै प्रशिक्षकका रूपमा उपयुक्त ठानिएको बताए ।
‘हाम्रो टिमसँग बोन्ड मिल्ने, हाम्रो कन्डिशन बुझेर गाइड गर्न सक्ने भएकाले करिब ७० जनाको आवेदनबाट १० जना शर्टलिस्ट अनि त्यसमध्ये पनि उहाँलाई नै छानिएको हो’ पारसले भने ।
‘नयाँ प्रशिक्षकलाई समय दिनुपर्छ, त्यसलाई बोर्डले पनि ब्याक गर्ने छ’ उनले अगाडि थपे, ‘जित्नु मात्रै पर्छ भन्ने मानसिकता हाम्रो फ्यानहरूमा हुने गर्छ, तर मुख्य कुरा भनेको राम्रो खेल प्रस्तुत गर्ने नै हो।’
आवश्यक परेको खण्डमा कन्सलटेन्ट कोचहरू पनि ल्याउन सकिने उल्लेख गर्दै उनले भने, ‘पहिला आवश्यकता अनुसार निश्चित सिरिज वा प्रतियोगिताका लागि कन्सलटेन्ट कोच ल्याएका छौं, आवश्यक पर्यो भने कोचसँगको सल्लाहमा नै आउने हो।’
नेपाली टोलीले आगामी मे महिनाको मध्यदेखि युकेको टुर गर्दै छ जुन् लिग २ क्रिकेटको तयारीको रूपमा हुनेछ । लिग २ का तीन महत्वपूर्ण शृंखलाहरू नेपालले यसैवर्ष खेल्दै छ भने सन् २०२६ मा हुने टी२० विश्वकपको छनोट पनि यही अक्टोबरमा हुँदैछ ।
प्रतिक्रिया 4