+
+
Shares

सुदूरपश्चिम सरकार नयाँ बजेटको तयारीमा, चालु आर्थिक वर्ष २७ प्रतिशत मात्रै खर्च

प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुुसार सुुदूरपश्चिम सरकारले असोजदेखि चैत मसान्तसम्म चालु र पुँजीगततर्फ २७ दशमलव ०९ प्रतिशतमात्रै खर्च गरेको छ ।

जनक विष्ट जनक विष्ट
२०८२ वैशाख १४ गते ९:४६

१४ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेश सरकार अगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको प्रक्रियामा जुटेको छ । प्रदेश सरकारले अगामी वर्षको नीति तथा कार्यक्रम र बजेटबारे पूर्व तयारी अघि बढाएका बेला चालु आर्थिक वर्षको बजेट खर्च भने २७ प्रतिशतमा मात्रै सीमित देखिएको छ ।

सरकार फेरबदलका कारण वार्षिक कार्यक्रम परिमार्जन गर्दै ३१ भदौ २०८१ मा मात्र चालु आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएको प्रदेश सरकारले ८ महिनाको अवधिमा २७ प्रतिशतमात्रै खर्च गर्न सकेको हो । प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुुसार सुुदूरपश्चिम सरकारले असोजदेखि चैत मसान्तसम्म चालु र पुँजीगततर्फ २७ दशमलव ०९ प्रतिशतमात्रै खर्च गरेको छ ।

अर्थात् प्रदेश सरकारले विनियोजन गरेको ३१ अर्ब ६६ करोड ८८ लाख २८ हजार मध्ये यो अवधिमा आठ अर्ब ५७ करोड ८१ लाख ८७हजार मात्रै खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

कुन मन्त्रालयले कति खर्च गरे ?

प्रतिशतमा कम देखिए पनि सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट खर्च गर्दा सबैभन्दा कम आन्तरिक मामिला तथा कानुन मन्त्रालयको रहेको छ । कुल १४ अर्ब ६० लाख बजेट रहेको पूर्वाधार विकास मन्त्रालयले आठ महिनामा तीन अर्ब ६१ करोड ३७ लाख खर्च गर्दै २४ दशमलव ७५ प्रतिशत प्रगती गरेको छ ।

भौतिक पूर्वाधारपछि बढी बजेट खर्च गर्नेमा सामाजिक विकास मन्त्रालय रहेको छ । यो मन्त्रालयले वार्षिक छ अर्ब ८७ करोड ४५ लाख बजेट रहेकोमा २९ दशमलव २६ प्रतिशत प्रगती गर्दै दुई अर्ब ११ करोड खर्च गरेको छ ।

यसपछि बढी बजेट खर्च गर्नेमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय रहेको छ । कुल एक अर्ब ८९ करोड ५२ लाख बजेट मध्ये आठ महिनामा६५ करोड २१ लाख खर्च गर्दै ३४ दशमलव ४१ प्रतिशत प्रगती गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले १८.०७ प्रतिशत बजेट खर्च गरेको छ । दुई अर्ब ९१ करोड ६८ लाख बजेट विनियोजन गरेको मन्त्रालयले ५२ करोड ७२ लाखमात्रै खर्च गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ३२ दशमलव ५७ प्रतिशत खर्च गरेको छ । कुल ३५ करोड २७लाख बजेट रहेको कार्यालयले ११ करोड ४८ लाख खर्च गरेको देखिएको छ ।

कुल २१ करोड ९८ लाख बजेट भएको आर्थिक मामिला मन्त्रालयले आठ करोड ३२ लाख खर्च गर्दै ३७ दशमलव ८८ प्रतिशत प्रगती गरेको छ ।

सबैभन्दा कम खर्च गर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३६ करोड ४७ लाखमध्ये तीन करोड ८४ लाख ६४ हजार खर्च गर्दै १० दशमलव ५५ प्रतिशतमात्र प्रगती गरेको छ ।

सुदूरपश्चिम प्रदेश सभा सचिवालयले १० करोड ३४ लाख खर्च गर्दै ५६ दशमलव ९२ प्रतिशत प्रगती गरेको छ । प्रदेश सभा सचिवालयको वार्षिक बजेट भने १८ करोड १७ लाख बढी छ ।

प्रदेश सभा सचिवालय र विषयगत मन्त्रालयको खर्च प्रगतीमा चालु र पुँजीगततर्फ दुवै शीर्षकको खर्च समेटिएको छ । तर भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयबाहेकका अधिकांश मन्त्रालयले भने पुँजीगत खर्चको तुलनामा चालु खर्च धेरै गरेको पाइएको छ ।

खर्चको अवस्था सन्तोषजनक छैन : लेखा नियन्त्रण कार्यालय

राजनीतिक अस्थिरताका कारण ढिलो गरी बजेट आउनु, झन्झटिलो खरिद प्रक्रिया जस्ता कारणले आठ महिनाको बजेट खर्चको अवस्था सन्तोषजनक नरहेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ । कतिपय योजनाहरु चालु अवस्थामा रहे पनि बजेट निकासा नभएका कारण प्रगति कम देखिएको हुनसक्ने बताइएको छ ।

तर, यो वर्ष ढिलो गरी बजेट आएको कारण देखाइए पनि विगतमा पनि प्रदेश सरकारको खर्चको अवस्था भने न्यून नै हुने गरेको छ । वर्ष भरी काम नगर्ने र आर्थिक वर्षको अन्तमा आएर हतार गर्ने प्रवृत्तिले बजेट खर्चको स्थिति सुधार हुन सकेको छैन ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?