
मानव शरीरमा रहेको मुटुले दिनमा १ लाख पटक रगत पम्प गर्छ । रक्तसञ्चार प्रणालीको अभिन्न अङ्गको रूपमा, मुटुले शरीरको हरेक भागमा रगतसँगै अक्सिजन आपूर्ति गर्छ, जसले गर्दा तन्तु र अङ्गहरूलाई जीवित राख्छ । मुटु बिरामी भयो भने रक्तसञ्चारमा बाधा पुग्छ । यसको तुरुन्तै उपचार गर्नु आवश्यक हुन्छ ।
मुटु मांसपेशीबाट बनेको सानो अङ्ग हो, जुन हाम्रो मुट्ठी जस्तै र जत्राे आकारको देखिन्छ । मुटुको तौल ३०० देखि ४५० ग्राम सम्म हुन्छ । यो छातीभित्र, छातीको बीच भागबाट थोरै बायाँतिर अवस्थित हुन्छ ।
मुटुमा ४ वटा कक्षहरू हुन्छन्, जसमा तल्लो कक्षहरूलाई भेन्ट्रिकल्स भनिन्छ र माथिल्लो कक्षहरूलाई एट्रिया भनिन्छ । मुटुका दुई कक्षहरूलाई छुट्टाउने मांसपेशीको पर्खाललाई सेप्टम भनिन्छ ।
मुटुको दाहिने भागले शरीरबाट संकलित कार्बनडाईअक्साइडयुक्त रगत फोक्सोमा धकेल्छ भने बायाँ भागले फोक्सोबाट संकलित अक्सिजनयुक्त रगत शरीरका विभिन्न भागहरूमा पठाउँछ । यसरी, मुटुको काम शरीरभरि रक्तसञ्चार कायम राख्नु, अङ्गहरूमा पोषण र अक्सिजन आपूर्ति गर्नु र शरीरबाट विषाक्त पदार्थ र कार्बन डाइअक्साइड जस्ता फोहोर पदार्थहरू हटाउनु हो ।
सामान्य तवरमा मुटु चलिरहँदा मुटुका मांसपेशीहरू खुम्चिने र फुल्ने हुन्छन् । मांसपेशीहरूको संकुचन प्रक्रिया सिस्टोलिकको समयमा हुन्छ र विस्तारको प्रक्रिया डायस्टोलिकको समयमा हुन्छ ।
सिस्टोलिकको समयमा भेन्ट्रिकल्स संकुचित र कडा हुन्छन्, जसले गर्दा धमनीहरूमा रगत पुग्न बाध्य हुन्छ । बायाँ भेन्ट्रिकलले रगतलाई महाधमनीमा धकेल्छ र दायाँ भेन्ट्रिकलले रगतलाई फोक्सोमा धकेल्छ । डायस्टोलिकको समयमा मुटुका मांसपेशीहरू रिल्याक्स हुन्छन्, जसले गर्दा एट्रिया रगतले भरिन्छ र जुन पछि भेन्ट्रिकल्समा बग्छ ।
मुटुलाई स्वस्थ राख्ने उपाय
स्वस्थ आहार
मुटुलाई स्वस्थ्य राख्न दैनिक सन्तुलित आहारको सेवन गर्नुपर्छ । खानामा प्रशस्त मात्रामा फलफूल, तरकारी, अन्नहरू, प्रोटिनलाई समावेश गर्नुपर्छ । अतिरिक्त चिनी, ट्रान्स फ्याट, स्याचुरेटेड फ्याट र सोडियमको सेवन कम गर्नाले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । खानामा रातो मासुको मात्रा कम गर्नाले पनि कोलेस्टेराेल कम हुन सक्छ ।
नियमित व्यायाम
हप्तामा कम्तिमा १५० मिनेट मध्यम देखि कडा व्यायाम, ७५ मिनेट कडा व्यायाम वा दुवैको संयोजन गर्नुपर्छ । हिँड्ने वा भर्याङ चढ्ने जस्ता हल्का व्यायामले पनि मुटुको स्वास्थ्यमा सुधार ल्याउँछ ।
धूम्रपान नगर्ने
धूम्रपान मुटु रोगको एक प्रमुख कारण हो । त्यसैले मुटुरोगबाट बच्नका लागि धुम्रपान त्याग्नुपर्छ । धूम्रपान नगर्दा हृदयाघात र स्ट्रोकको जोखिमलाई धेरै हदसम्म कम गर्छ।
तनाव नियन्त्रण
योग, ध्यान, प्राणायाम जस्ता गतिविधिहरू मार्फत तनाव नियन्त्रण गर्नुपर्छ । समाजमा सक्रिय हुने र मानिसहरूसँग राम्रो सम्बन्ध कायम राख्नाले तनाव कम गर्न मद्दत गर्छ ।
नियमित स्वास्थ्य जाँच
उच्च रक्तचापले गर्दा मुटु रोगहरू विकास हुन्छन् । त्यसैले नियमित स्वास्थ्य जाँच गरेर रक्तचाप नियन्त्रणमा राख्नुपर्छ । उच्च कोलेस्टेराेलले रक्त नलीहरूमा प्लाक बनाउँछ । जसका कारण रक्तप्रवाहमा अवरोध खडा भई हृदयाघात वा स्ट्रोक (मस्तिष्काघात) निम्त्याउन सक्छ । त्यसैले समय-समयमा कोलेस्टेराेलको जाँच गर्नुपर्छ । मधुमेह छ भने, मुटुलाई स्वस्थ राख्न सुगर नियन्त्रणमा राख्नु धेरै महत्त्वपूर्ण हुन्छ।
मुटुलाई के ले जोखिममा पार्छ ?
धेरै कारणले गर्दा मुटु सम्बन्धी रोग वा समस्याहरूको जोखिम बढ्छ । उच्च रक्तचाप, उच्च कोलेस्टेराेल, धूम्रपान, मोटोपना र निष्क्रिय जीवनशैलीले समयसँगै मुटु र रक्तनलीहरूलाई कमजोर बनाउन सक्छ ।
अस्वस्थ मुटुले गम्भीर विकारहरू र ज्यान नै जोखिममा पार्ने परिस्थितिहरू निम्त्याउन सक्छ । यी मध्ये सबैभन्दा सामान्य कोरोनरी धमनी रोग हो, जसमा कोरोनरी धमनीहरूमा प्लाक जम्मा हुन्छ, आंशिक वा पूर्णरूपमा अवरुद्ध हुन्छ । रक्त प्रवाहमा अवरोध आउँदा सास फेर्न गाह्रो हुन्छ र छाती दुख्न थाल्छ । यदि यसको तुरुन्तै उपचार गरिएन भने, हृदयाघात हुन सक्छ ।
अस्वस्थकर आहार, अत्याधिक मदिरा सेवन, शारीरिक व्यायाम नगर्ने जस्ता खराब बानीले मुटु रोगको जोखिम बढाउँछन् । यदि व्यक्तिलाई मधुमेह, तनाव र मुटु रोगको पारिवारिक इतिहास छ भने यो जोखिम बढ्छ ।
पुरुषहरूलाई कम उमेरमा मुटु रोग लाग्ने जोखिम बढी हुन्छ । यदि यी कुराहरूमा ध्यान दिइयो, जीवनशैलीमा सुधार गरियो र औषधिको मद्दत लिइयो भने, मुटुलाई लामो समयसम्म स्वस्थ राख्न सकिन्छ ।
यस्ता गम्भीर अवस्थामा तुरुन्त डाक्टरलाई भेट्नुपर्छ
हृदयाघात
कोरोनरी धमनी वा त्यसको सानो रक्तनली प्लाकले अवरुद्ध हुँदा छाती दुखाइ हुन्छ र प्लाक फुट्कियो भने हृदयाघात हुन सक्छ । यसका कारण मुटुको मांसपेशीमा रगत आपूर्ति बन्द हुन्छ र तिनीहरू क्षतिग्रस्त हुन्छन् । यो अवस्थामा ज्यानै जोखिममा पर्छ ।
मुटु कमजोर हुँदा
जब मुटुको कमजोर हुन्छ, मुटुले शरीरमा पर्याप्त रगत पम्प गर्न सक्दैन । यसका कारण फोक्सो र कलेजोमा तरल पदार्थ जम्मा हुन्छ । यो अवस्थालाई सुजन (ईडिमा) भनिन्छ ।
मुटुको चाल बन्द हुने, बिरामीमा सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने र हात खुट्टा सुन्निने जस्ता धेरै लक्षणहरू देखिन सक्छन् ।
एरिथमिया
मुटुको विद्युतीय प्रणालीमा गडबडी हुँदा पनि मुटु असामान्य रूपमा धड्किन सक्छ, यो अवस्थालाई एरिथमिया भनिन्छ । यो प्रायः कोरोनरी धमनी रोग, हृदयाघात वा अन्य मुटु रोगको कारणले हुन सक्छ । केही एरिथमियाहरू हानिरहित र केही खतरनाक हुन्छन् ।
स्ट्रोक (मस्तिष्काघात)
स्ट्रोक हुँदा मस्तिष्कको कुनै भागमा रगत जमेर रगत आपूर्ति बन्द हुन्छ । यसो हुँदा अक्सिजन र पोषक तत्त्व तन्तुसम्म पुग्न सक्दैन । यसले मस्तिष्कको तन्तुलाई स्थायी क्षति पुर्याउन सक्छ र जसले गर्दा अपाङ्गता वा मृत्यु हुनसक्छ ।
यसको मुख्य कारण उच्च रक्तचाप र मुटुको धमनी रोग हो । मुटुको धमनी रोग जस्तै, परिधीय धमनी रोग पनि हुन्छ, जसले अङ्गहरूमा रगत आपूर्ति गर्ने धमनीहरूलाई असर गर्छ । यसले दुखाइ वा गम्भीर अवस्थामा, सङ्क्रमणको जोखिम निम्त्याउन सक्छ ।
कार्डियाक अरेस्ट
यस अवस्थामा मुटुले अचानक काम गर्न छोड्छ अनि बिरामीले सास फेर्न छोड्छ र होस गुमाउँछ । यो सामान्यतया गम्भीर एरिथमियाको कारणले हुन्छ । यस्तो अवस्थामा, यदि बिरामी तुरुन्तै अस्पताल पुगेन भने, उसको मृत्यु हुन सक्छ । यी रोगहरूबाट बच्नका लागि, मुटुको हेरचाह गर्नु र समस्याहरूबाट बच्नु महत्त्वपूर्ण हुन्छ ।
प्रतिक्रिया 4