
‘बलिउडको पहिलो र अन्तिम सुपरस्टार’ राजेश खन्नाको सन्दर्भमा यसै भनेका छन् सलिम खानले । सलिम खान आफैँमा यस्ता हस्ती हुन्, जसले आफ्नो जमानामा उम्दा फिल्महरूको स्क्रिप्ट लेखे । यतिबेला बलिउडमा उनकै छोरा सलमानको रजगज छ ।
यद्यपि अबका दिनमा राजेश खन्ना जस्तो सुपरस्टार बलिउडले कहिल्यै नपाउने उनको जिकिर छ । अभिनेता शाहरूख खानले भनेका थिए, ‘राजेश खन्नाले जुन लोकप्रियता हासिल गरे, त्यो उचाई कसैले पनि छुन सक्दैन ।’
हुन पनि राजेश खन्नाले जुन किसिमको स्टारडम पाए, त्यो कल्पनाभन्दा पनि बाहिरको छ । जस्तो के भनिन्छ भने-उनी जब सार्वजनिक स्थानमा उपस्थित हुन्थे त्यहाँ उनको एक झलक पाउनका लागि मान्छेको थामिनसक्नु भीड लाग्थ्यो । भीड पनि कस्तो भने प्रहरीलाई त्यसको व्यवस्थापन गर्नै कठिन हुने ।
उनको घरमा प्रशंसकले पठाएका पत्रको चाङ हुन्थ्यो । त्यस्ता पत्र पढ्न र प्रत्युत्तर दिनका लागि मात्र उनले छुटै कर्मचारी राखेका थिए । यसरी आउने अधिकांश पत्र युवतीहरूले लेखेका हुन्थे, जुन रगतले लेखिएको हुन्थ्यो ।
उनको गाडीमा पनि युवतीहरूले चुम्बन गरेको छाप हुन्थ्यो । घरको अघिल्तिर सानोतिनो मेला नै लाग्थ्यो, केवल उनलाई एक झलक हेर्नका लागि ।
एकादेशको कथा झै लाग्ने राजेश खन्नाका यस्ता अनेकौ किस्सा छन्, जुन सजिलै पत्याउन गाह्रो हुन्छ ।
उनी थिए नै अपत्यारिला । उनको लोकप्रियताको गुरुत्वबल कल्पना गर्न नसकिने खालको थियो । तर, त्यो उचाई र आकर्षण समयक्रममा यसरी फिका हुँदै गयो कि जीवनको आखिरी दिनहरूमा उनी नितान्त एक्लो भए । र, त्यही विरक्तलाग्दो क्षणमा अन्तिम सास फेरे ।
स्टारडमको अभूतपूर्व उचाइ
राजेश खन्ना, जसले सन् १९६९ देखि १९७२ सम्मको चार वर्षमा लगातार १५ सोलो सुपरहिट फिल्महरू दिएर भारतको पहिलो सुपरस्टार बने । यो उपलब्धि भारतीय सिनेमाको इतिहासमा कसैले पनि दोहोर्याउन सकेका छैनन् ।
उनको पहिलो हिट फिल्म ‘आराधना’ (१९६९) ले उनलाई रातारात स्टार बनायो । यो फिल्मको गीत ‘मेरे सपनों की रानी’ र उनको रोमान्टिक छविले दर्शकहरूलाई यति मोहित गर्यो कि उनको प्रशंसकहरूले उनलाई ‘रोमान्सको राजा’ को उपाधि दिए ।
एक्लोपन र व्यक्तिगत संघर्ष
राजेश खन्नाको जन्म १९४२ मा अमृतसरमा भारत–पाकिस्तान विभाजनको समयमा भएको थियो । उनलाई उनका काका र काकीले हुर्काएका थिए । उनीहरूले राजकुमार जस्तै सुखसयालमा राखेका थिए ।
बाल्यकालमा उनको हरेक इच्छा पूरा गरिन्थ्यो, जसले उनको व्यक्तित्वमा गहिरो प्रभाव पार्यो । उनको एकमात्र सपना फिल्म स्टार बन्नु थियो ।
आखिर उनी बलिउडकै पहिलो सुपरस्टार बने । करियरको शिखरमा उनलाई लाखौं प्रशंसकले घेरेका थिए । तर, व्यक्तिगत जीवनमा उनी एक्ला थिए । उनले आफ्नो जैविक बाबुआमालाई पूर्णरुपमा अस्वीकार गरे । अनि काका काकीलाई मात्र परिवार माने । उनको घर ‘आर्शिवाद’मा आफ्नै बुबाआमाको कुनै फोटो राखिएको थिएन ।
उनको फोटोसँग बिहे गर्थे युवतीहरू
करियरको उत्कर्षमा उनी कति लोकप्रिय थिए ? भनीसाध्य छैन । भनिन्छ, त्यसबेला जन्मिएका छोराहरूलाई धेरै आमाबुवाले ‘राजेश’ नाम राखिदिएका थिए । फिल्म उद्योगमा उनलाई प्रेमपूर्वक ‘काका’ भनेर बोलाइन्थ्यो । बलिउडमा एउटा भनाइ नै चलेको थियो, ‘माथि पनि काका, तल पनि काका ।’
खासगरी राजेश खन्नाका प्रशंसकहरूमा युवतीको संख्या अत्याधिक थियो । उनीहरू रगतले लेखेर चिठी पठाउँथे । अनि राजेश खन्नाको फोटोसँग विवाह गर्थे ।
निर्माता, निर्देशकको लाइन
प्रशंसक मात्र होइन, चर्चित निर्माता–निर्देशकसमेत उनको घरमा लाइन लाग्थे । एक पटक राजेश खन्ना पाइल्सको शल्यक्रिया गराउन अस्पताल भर्ना भए । अस्पतालमा समेत उनलाई निर्माता निर्देशकले छाडेनन् ।
कतिसम्म भने, अस्पतालको आसपासमा उनीहरूले कोठा लिएर बसेका थिए ताकि मौका मिल्नसाथ राजेश खन्नालाई भेटेर फिल्मबारे कुरा गर्न पाइयोस् ।
संगीतको साथ
राजेश खन्नाका फिल्महरूको संगीतले उनको स्टारडममा खास योगदान पुर्यायो । आरडी बर्मन र किशोर कुमारको संगीतसँग उनको रोमान्टिक छवी र आवाजको सुरम्या तालमेल थियो । उनीहरूले संगीत र आवाज दिएका अधिकांश गीत हिट भयो । किशोरले ९१ फिल्ममा राजेशका लागि आवाज दिए भने आरडीले ४० फिल्ममा संगीत दिए ।
गीतप्रति उनी एकदमै संवेदनशील थिए । जतिबेला उनका लागि गीत रेकर्ड हुन्थ्यो, उनी स्टुडियोमा बस्थे ।
आराधना फिल्मको गीत ‘मेरे सपनो की रानी कब आएगी तू’ उनको करियरको सर्वाधिक हिट गीत मानिन्छ । फिल्म चाहिँ, आनन्द । यस फिल्ममा उनले क्यान्सरग्रस्त युवाको भूमिका निर्वाह गरेका छन् ।
मुमताज र शर्मिला टैगोरसँग राजेश खन्नाको जोडी एकदमै रुचाइएको थियो । मुमताजसँग उनले ८ वटा सुपरहिट फिल्म खेले । जब मुमताजले विवाह गरेर फिल्म नखेल्ने निर्णय गरिन्, यसले राजेशलाई एकदमै दुःखी बनायो ।
वास्तविक जीवनको चर्चित प्रेमकथा
राजेश खन्नाको डिम्पल कापडियासँगको विवाह भारतीय सिनेमाको इतिहासमा सबैभन्दा चर्चित प्रेम कथाहरू मध्ये एक हो । डिम्पल, जो त्यतिबेला १६ वर्षकी थिइन् र बबी फिल्मबाट डेब्यू गर्न लागेकी थिइन् । उनीहरूले त्यही मेसोमा विवाह गरे । त्यसबेला राजेश खन्ना ३१ वर्षका थिए ।
यो विवाहले त्यसबेला मिडियामा ठूलो हलचल मच्चायो, किनभने डिम्पल राजेशको ठूलो प्रशंसक थिइन् । तर, यो सम्बन्ध लामो समय टिक्न सकेन । राजेशको असुरक्षा, अहंकार र व्यस्त जीवनशैलीले सम्बन्धमा फाटो आएको डिम्पले बताएकी छिन् ।
विवाहको केही वर्षपछि डिम्पलले राजेशको घर छाडिन्, तर उनीहरूले कहिल्यै औपचारिक रूपमा सम्बन्धविच्छेद गरेनन् ।
अमिताभसँग होडबाजी
जंजीर र शोले जस्तो एक्सन फिल्मको सफलतासँगै अमिताभ बच्चनको उदय हुँदै गर्दा रोमान्टिक छविका राजेश खन्ना क्रमश: फिका हुँदै गए । दर्शकहरू एक्सन फिल्ममा झुम्मिन थाले । सन् १९७५ पछि रोमान्टिक फिल्म असफल हुन थाल्यो ।
१९७० को दशकको सुरुमा राजेश खन्ना बलिउडका निर्विवाद राजा थिए । तर अमिताभको उदयसँगै उनको स्टारडम खतरामा पर्न थाल्यो । जंजीर (१९७३) पछि अमिताभको ‘एंग्री यंग म्यान’ छविले दर्शकहरूलाई लोभ्याउन थाल्यो र राजेशको रोमान्टिक छवि पुरानो हुन थाल्यो ।
राजेशलाई अमिताभसँग काम नगर्न भनी उनका हितैषीहरूले सल्लाह दिएका थिए । तर, आनन्द (१९७१) मा दुवैले सँगै काम गरे, जहाँ राजेशको भूमिका अमिताभको भन्दा ठूलो थियो । यो फिल्ममा अमिताभको सानो भूमिकाले पनि दर्शकको ध्यान तान्यो । राजेश खन्नाको स्टारडमलाई खतरामा पार्ने संकेत थियो यो ।
उनले जुन फिल्म खेल्न अस्वीकार गरे, त्यही फिल्म खेलेर अमिताभ बच्चन लोकप्रिय भए । यो त्यही मोड थियो, जहाँबाट राजेश खन्नाको अद्योगति सुरु हुन्छ । भनिन्छ, उनको अहंकार र दम्भ यति बढिसकेको थियो कि निर्माता–निर्देशकहरू उनलाई धमाधम छाड्न थालेका थिए ।
त्यसबेलाका चर्चित स्क्रिप्टराइटर सलिम खानले राजेशलाई आफ्नो स्क्रिप्टमा भूमिका नै दिन छाडे । ‘दीवार’ फिल्ममा राजेश खन्नालाई प्रस्ताव गरिएको थियो तर सलिमले यो भूमिका शशि कपुरलाई दिन जोड गरे।
यसरी उनले फिल्महरू पाउन छाडे । पाएका फिल्महरू चल्न छाडे । प्रशंसकहरू पातलिए । र, उनी क्रमश: एक्लिँदै गए ।
आफ्नो पतनको अस्वीकार
राजेश खन्नाले आफ्नो करियरको पतनलाई कहिल्यै स्वीकार गरेनन् । उनको स्टारडम १९७० को मध्यतिर कमजोर हुन थालेपछि पनि उनले आफूलाई सधैं सुपरस्टारको रूपमा प्रस्तुत गरे ।
जबकि उनले आफ्नो असफलताको सामना गर्नुको सट्टा पुराना दिनहरूको गौरवमा बाँच्न रुचाए । उनको यो हठले उनको पुनरागमनलाई अझ कठिन बनायो ।
अन्तिम कथा
२०१२ मा उनको मृत्यु हुँदा उनको अन्तिम संस्कारमा ठूलो भीड जम्मा भएको थियो, तर उनको नजिकका केही व्यक्तिहरू मात्र उपस्थित थिए । जीवनका आखिरी दिनहरूमा उनी एक्ला थिए ।
त्यसबेला उनले आफ्नो कथा भन्न चाहन्थे र त्यसैमा फिल्म बनाउन चाहन्थे । तर, समयले उनलाई यो छुट दिएन । आखिर आफूलाई अधुरो छाडेर उनले अन्तिम सास लिए ।
प्रतिक्रिया 4