
१४ वैशाख, काठमाडौं । आइतबार बिहान १० बजेतिर काठमाडौं बुद्धनगरकी कोपिला महर्जन घरछेउकै एक फलफूल पसलमा स्याउ, अंगुर र केरा किन्दै थिइन् । उनले फलफूल आमालाई कोसेली दिन किनेकी हुन् ।
आज ‘आमाको मुख हेर्ने दिन’ अर्थात् मातातीर्थ औँसी । जन्मदिने आमाको सुस्वास्थ्य र दिर्घायुको कामना गर्दै छोराछोरीले आज आमालाई फलफूल, मिठाइ खुवाउने चलन छ । मातातीर्थ औँसी भएकाले कोपिलाले आमाको मुख हेर्न माइत जान लागेको सुनाइन् ।
‘आमालाई भेट्न माइतीघर नयाँ बानेश्वर जान लागेकी हुँ,’ उनले भनिन््, ‘अरू उपहार हिजै किनिसकेँ । अहिले आमालाई मन पर्ने फलफूल किनेकी हुँ ।’
बुद्धनगरबाट नयाँ बानेश्वर जान लागेकी कोपिला एक्लैले त्यहीँ नजिकैको फलफूल पसलबाट ३ किलो फलफूल किनिन् ।
ती फलफूल पसलेलाई आज फलफूल बेच्न भ्याइनभ्याइ थियो । उनले बिहानैदेखि धेरै परिमाणमा फलफूल बेचिसकेको सुनाए ।
कोपिलाजस्तै उनको पसलमा अन्य धेरै ग्राहकको भीड लागेको थियो । जुन भीड आमालाई कोसेली लगिदिन भन्दै फलफूल किन्नेकै थियो ।
त्यहाँ उभिँदा उभिँदै पसलेले आधा घण्टा बीचमा स्याउ मात्रै १५–२० किलो बेचे । सँगै अंगुर, स्याउ, सुन्तला, केरा, आँप पनि राम्रै बिक्री भयो ।
‘फलफूल त सधैं बेचिरहने हो, आज कोसेली लैजानेले गर्दा धेरै व्यापार हुन्छ,’ ती पसलेले भने, ‘आज साँझसम्मै राम्रो बिक्री हुन्छ, बिहान ल्याएको फलफूल सकिएपछि कुलेश्वर फलफूल बजारबाट फेरि मगाउनुपर्छ ।’
कालीमाटी बजारमा कति छ फलफूलको भाउ?
आज आइतबार देशकै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा झोले स्याउको भाउ प्रतिकिलो २ सय ४० रुपैयाँ छ ।
यस्तै फुजी स्याउ किलोको ३ सय २७ रुपैयाँ छ । फुजी स्याउको भाउ शनिबार किलोको ३ सय २६ रुपैयाँ भएकामा आज १ रुपैयाँ बढेर ३ सय २७ पुगेको हो ।
यस्तै केरा एक दर्जनको १ सय ५० रुपैयाँ, हरियो अंगुर प्रतिकिलो १ सय ९० रुपैयाँ, कालो अंगुर २ सय ४० रुपैयाँ र भारतीय सुन्तला १ सय ३० रुपैयाँ तोकिएको छ ।
कालीमाटी बजारको मूल्यसूची अनुसार अनार प्रतिकिलो २ सय २७ रुपैयाँ, किबी ४ सय २७ र अम्बा १ सय १३ रुपैयाँ रहेको छ ।
कालीमाटी तरकारी बजारमा फलफूलको होलसेल (थोक) पसल गर्दै आएकी लक्ष्मी खनाल हिजो र आज फलफूल व्यापार अन्य दिनभन्दा राम्रो भएको बताउँछिन् ।
उनका अनुसार कालीमाटी बजारमा खरबुजा, मेवा, स्याउ, अंगुर र केरा बिक्री एकदमै राम्रो भएको छ ।
‘आजभन्दा पनि हिजो फलफूलको व्यापार एकदमै राम्रो भएको छ, आमालाई कोसेली लैजानेहरूले सबैथरीका फलफूल मिक्स गरेर लगेका छन्,’ व्यवसायी लक्ष्मीले भनिन्, ‘होलसेलमा मूल्य धेरै फरक पर्दैन, अहिले फलफूलको मूल्य पनि स्थिर नै छ ।’
मातातीर्थ औँसीमा लक्ष्मीले राम्रो व्यापार भएको सुनाइन् । अरू दिन ३० देखि ३५ हजार रुपैयाँको फलफूल बेच्ने लक्ष्मीले अहिले ६० देखि ७० हजार रुपैयाँको कारोबार गरेकी छिन् ।
कालीमाटीमा कति आयो फलफूल ?
कालीमाटी तरकारी बजारमा दैनिक ठूलो परिमाणमा फलफूल तथा तरकारी आउने गर्छ । हिजो शनिबार मात्रै कालीमाटी बजारमा ५ सय किलो स्याउ, १ हजार ४ सय किलो केरा, ५ हजार ९ सय किलो आँप, ७ हजार किलो अंगुर, ९ हजार किलो खरबुजा, २ हजार किलो मेवा आएको तथ्यांक छ ।
कालीमाटी तरकारी बजारका सूचना अधिकारी विनय श्रेष्ठ कालीमाटी बजारमा फलफूलको कारोबार राम्रै भएको बताउँछन् ।
उनका अनुसार कालीमाटी बजारमा फलफूलको कारोबार धेरै ठूलो भने हुँदैन । धेरै ठूलो कारोबार नभए पनि भएको कारोबारलाई नराम्रो भन्न नमिल्ने उनी बताउँछन् ।
‘हिजो र आज अरू दिनको तुलनामा फलफूलको व्यापार बढ्यो,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘आज मातातीर्थ औँसी भएर पनि चहलपहल बढी भएको हो ।’
३० प्रतिशत घट्यो फलफूल व्यापार
नेपाल फलफूल थोक व्यवसायी संघ काठमाडौंका अध्यक्ष अमर बानियाँले भने यो वर्षको मातातीर्थ औँसीमा फलफूल व्यापार घटेको बताए ।
उनका अनुसार गत वर्षको औँसीको तुलनामा यो वर्ष औँसीमा फलफूल व्यापार २५ देखि ३० प्रतिशतले घटेको छ ।
‘यो वर्ष फलफूल कारोबार घटेको छ, अघिल्ला वर्षजस्तो फलफूलको मूल्य बढ्ने पनि भएन,’ अध्यक्ष बानियाँले अनलाइनखबरसँग भने, ‘यो वर्ष गत वर्षको तुलनामा ६० देखि ७५ प्रतिशत मात्रै कारोबार भयो । फलफूल किन्नकै लागि भीडभाड र हानथाप हुन छाड्यो अहिले ।’
उनका अनुसार अघिल्ला वर्षहरूमा मातातीर्थ औँसीमा केरा, स्याउ, अंगुरको भाउ बढ्ने हुन्थ्यो । तर, यस वर्ष भाउ स्थिर छ ।
अहिलेको अवस्थामा मानिसहरूको आम्दानी घटेका कारण व्यापारमा पनि कमी आएको उनको अनुमान छ ।
उनका अनुसार पहिले–पहिले औँसीलाई नै भनेर दसौं गाडी फलफूल मगाइने हुन्थ्यो । तर, अहिले एक गाडी मगाएको फलफूल पनि बिक्री गर्न ३–४ दिन लाग्छ ।
‘मेरो अनुभवमा पहिला–पहिला मातातीर्थ औँसी, तीज, दसैंतिहार जस्ता चाडमा एकदमै फलफूल बिक्थ्यो,’ उनी भन्छन्, ‘अहिले हामीले गरेको मूल्यांकनले मान्छेसँग पैसाको कमी पनि भएको र फलफूल बाह्रै महिना खानुपर्छ भन्ने भएकाले यसको महत्त्व घटेको देखियो ।’
यो वर्ष औँसीमा अंगुर, स्याउ, केरा र भारतीय सुन्तला बढी मात्रामा बिक्री भएको उनी बताउँछन् ।
‘अहिले अंगुरको भाउ सस्तो भएका कारण बिक्री धेरै भयो, पहिला यही समय अंगुरको होलसेल मूल्य नै २ सय ४० देखि २ सय ५० रुपैयाँ हुन्थ्यो,’ बानियाँले भने, ‘अहिले होलसेलमा १ सय ५० देखि १ सय ६० रुपैयाँ प्रतिकिलो छ ।’
प्रतिक्रिया 4