+
+
Shares

पृथ्वीको केन्द्रमा कति फलाम छ ? (१० रोचक तथ्यहरू)

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १४ गते २०:५१

हरेक वर्ष २२ अप्रिलमा अन्तर्राष्ट्रिय पृथ्वी दिवस मनाइन्छ । सन् १९७० को २२ अप्रिल मा करिब २ करोड मानिसहरू अमेरिकाका ठूला शहरहरूमा सडकमा ओर्लिएर मानवीय गतिविधिहरूले वातावरणमा पुर्‍याएको क्षतिको विरोधमा प्रदर्शन गरेको दिनलाई पृथ्वी दिवसका रुपमा विश्वव्यापी रुपमै मनाउने गरिन्छ ।

यस अवसरमा विश्वका करिब २०० देशहरूमा वातावरण संरक्षणसँग सम्बन्धित कार्यक्रमहरू आयोजना गरिन्छ । यस वर्ष आवर पावर, आवर प्लानेट (हाम्रो शक्ति, हाम्रो ग्रह) नाराका साथ पृथ्वी दिवस मनाइयो ।

हामी बस्ने ग्रह पृथ्वीको पर्यावरणीय रक्षाका लागि दिवस मनाइसक्दा हामीलाई यसका बारेमा विभिन्न तथ्यहरु थाहा नहुन सक्दछन् । ती मध्ये १० रोचक तथ्य यस्ता छन् :

१. पृथ्वी पूर्ण रूपमा गोलो छैन

हामी सामान्यतया भन्छौं– पृथ्वी गोलो छ । तर पृथ्वी ठ्याक्कै गोलाकार छैन । यो ग्रह उत्तर र दक्षिण ध्रुवतर्फ अलि चप्टिएको छ । त्यसैले यदि पृथ्वीको सही आकार अब्लेट स्फेरोइड अर्थात् चेप्टिएको अण्डाकार हो । अन्य ग्रहहरूमा जस्तै गुरुत्वाकर्षणको प्रभाव र आफ्नै अक्षमा घुम्दा उत्पन्न हुने सेंट्रीफ्यूगल बलका कारण भूमध्यरेखातर्फ पृथ्वी अलि फुलिएको हुन्छ । यही कारणले भू–मध्य रेखामा पृथ्वीको व्यास उत्तर–दक्षिण ध्रुवीय व्यासभन्दा ४३ किलोमिटर अधिक हुन्छ ।

२. पृथ्वीको ७० प्रतिशत भाग पानीले ढाकिएको छ

पृथ्वीमा पानी ठोस, तरल र ग्यास—तीनवटै अवस्थामा पाइन्छ । यसका साथै हिमनदी, दलदल, ताल, नदी, समुद्र र महासागरको रूपमा पृथ्वीको लगभग तीन चौथाइ भागमा पानी फैलिएको छ । धर्तीमा पाइने कुल पानीमध्ये ९७ प्रतिशत समुद्रीको नुनिलो पानी हो, जुन पिउन वा सिंचाइका लागि प्रत्यक्ष रुपमा उपयोग गर्न सकिँदैन ।

३. पृथ्वीको १०० किलोमिटर माथिबाट अन्तरिक्ष सुरू हुन्छ

पृथ्वीको वायुमण्डल र अन्तरिक्षको बीचको सीमालाई ‘कर्मन रेखा’ भनेर चिनिन्छ । यो समुद्र सतहदेखि करिब १०० किलोमिटर माथि पर्छ । यसको अर्थ, कुनै वस्तु वा व्यक्ति १०० किलोमिटरभन्दा माथि पुगेपछि, त्यो प्राविधिक रूपमा अन्तरिक्षमा पुगेको मानिन्छ । यद्यपि वायुमण्डल निकै टाढासम्म फैलिएको हुन्छ, यसको झन्डै ७५ प्रतिशत भाग समुद्र सतहदेखि ११ किलोमिटरको भित्र नै सीमित हुन्छ । त्यसैले, कर्मन रेखाले पृथ्वीको सीमा र अन्तरिक्षको सुरुआत कहाँबाट हुन्छ भन्ने बुझ्न सहयोग पुर्‍याउँछ ।

४. पृथ्वीको केन्द्रमा फलाम छ

पृथ्वी सौर्यमण्डलको सबैभन्दा घना ग्रह हो र आकारको हिसाबले पाँचौँ ठूलो ग्रह हो । पृथ्वीको सबैभन्दा भित्री भाग करिब १,२०० किलोमिटर अर्धब्यास भएको ठोस गोलो जस्तो संरचना हो । यो भाग मुख्य रूपमा फलामबाट बनेको मानिन्छ, जसले पृथ्वीको कुल तौलको लगभग ८५ प्रतिशत हिस्सा ओगटेको छ । पृथ्वीको तौलमा लगभग १० प्रतिशत हिस्सा निकेल धातुको हुन्छ ।

५. जीवनको अस्तित्व भएको एकमात्र ग्रह

पृथ्वी ब्रह्माण्डमा यस्तो एक मात्र खगोलीय पिण्ड हो जहाँ हामी जीवन यापन गर्न सक्छौं । अन्य ग्रहहरूमा जीवनको सम्भावना खोजी भइरहेको छ । हाल पृथ्वीमा लगभग १२ लाख सूचीबद्ध जीवका प्रजातिहरू छन्, यद्यपि यो कुल प्रजातिहरूको केवल सानो अंश मात्र हो भन्ने मानिन्छ । पृथ्वीको निर्माण करिब ४.५ अर्ब वर्ष पहिले भएको थियो । पृथ्वीका भौतिक गुणहरू, यसको भौगर्भिक इतिहास र यसको कक्षले लाखौं वर्षसम्म यस ग्रहमा जीवनलाई अस्तित्वमा राख्न सकेको छ ।

६. पृथ्वीमा हरेक ठाउँमा गुरुत्वाकर्षण एकनास हुँदैन

पृथ्वी पूर्णरुपमा गोलो छैन र यसको द्रव्यमान (भार) पनि हरेक ठाउँमा एकनास छैन । यही कारणले गर्दा पृथ्वीमा गुरुत्वाकर्षणको शक्ति हरेक ठाउँमा अलि फरक हुन्छ । उदाहरणका लागि, जब हामी भू–मध्य रेखाबाट ध्रुवतर्फ जान्छौं, गुरुत्वाकर्षण अलिकति बढ्दै जान्छ । यद्यपि यो परिवर्तन यति सानो हुन्छ कि हामीले सिधै महसुस गर्न सक्दैनौं ।

७. विरोधाभासले भरिएको छ हाम्रो पृथ्वी

हाम्रो ग्रह घोर विरोधाभासहरूले भरिएको छ । यसका भौगोलिक क्षेत्रहरू र जलवायुमा रहेको विविधताको अर्थ हो– लगभग प्रत्येक स्थानको आफ्नै विशेषता छ ।
पृथ्वीमा सबैभन्दा तातो मानिने थुप्रै स्थानहरू छन्, तर अहिलेसम्म मापन गरिएको सबैभन्दा उच्च तापक्रम अमेरिकाको डेथ भ्यालीमा भएको थियो । डेथ भ्यालीमा सन् १९१३ जुलाई १० मा ५६.७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । त्यसैगरी, अर्कोतर्फ अंटार्कटिकामा सबैभन्दा चिसो तापक्रम मापन गरिएको थियो, जहाँ सन् १९८३ जुलाई ३१ मा तापक्रम –८९ डिग्री सेल्सियस पुगेको थियो ।

८. पृथ्वीको सबैभन्दा ठूलो जीवित चिज

ग्रेट ब्यारियर रीफ, अष्ट्रेलियाको तटमा अवस्थित मुगा हो । यो पृथ्वीमा बस्ने जीवहरूबाट बनेको सबैभन्दा ठूलो संरचना हो । यो एकमात्र त्यस्तो संरचना हो जसलाई अन्तरिक्षबाट देख्न सकिन्छ ।
ग्रेट ब्यारियर रीफ २,००० किलोमिटर भन्दा धेरै क्षेत्रमा फैलिएको छ र हजारौं समुद्री प्रजातिहरूको घरको रुपमा रहेको छ । सन् १९८१ मा, यसलाई युनेस्कोले विश्व सम्पदा सूचीको रूपमा घोषित गरेको थियो ।

९. सक्रिय टेक्टोनिक प्लेटहरु भएको सौर्य मण्डलको एक्लो ग्रह

पृथ्वी सौर्य मण्डलको एकमात्र ग्रह हो जहाँ टेक्टोनिक प्लेटहरू सक्रिय रूपमा गतिशील छन् । यी प्लेटहरूको निरन्तर हलचलको अर्थ भनेको हाम्रो ग्रहको सतह निरन्तर परिवर्तन भइरहन्छ । यी प्लेटहरू नै पहाडहरूको बनावट, भूकम्प र ज्वालामुखीहरूको सक्रियता को मुख्य कारण हुन् । यी प्लेटहरूको चक्र पृथ्वीको तापमानलाई सन्तुलित राख्नमा पनि महत्वपूर्ण भूमिका खेल्छ ।

१०. पृथ्वीसँग रक्षात्मक कवच छ

पृथ्वीको चुम्बकीय क्षेत्रले सूर्यबाट निरन्तर रुपमा आउने ऊर्जा कणहरूलाई छेकेर कवचको रूपमा काम गर्छ। चुम्बकीय क्षेत्रबाट मार्ग पनि पत्ता लगाइन्छ । कम्पासले पृथ्वीको यहीँ चुम्बकीय क्षेत्रमार्फत काम गर्छ र दिशा पत्ता लगाउँछ । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?