
१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षक आन्दोलनको समाधान दमनबाट नभई संवादबाट खोज्न सरकारलाई आग्रह गरेका छन् ।
शिक्षकहरूको आन्दोलनमा २६औं दिन सरकारबाट बल प्रयोग भएपछि सरकारको आलोचना भइरहेको छ । यसैक्रममा कांग्रेस महामन्त्री थापाले संवादमा जोड दिन सरकारलाई आग्रह गरेका हुन् ।
‘राज्यसँग आग्रह छ– शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौं । आन्दोलनरत शिक्षकहरूसंग भएको विगतको सहमतिको आधारमा निर्णय गरेर चाँडोभन्दा चाँडो कक्षाकोठामा फर्कने वातावरण बनाउनमा नै हामी सबैले काम गर्नुपर्ने छ, त्यही गरौं,’ सामाजिक सञ्जालमार्फत् उनले भनेका छन् ।
कांग्रेस महामन्त्रीले विद्यालय शिक्षा ऐनको माग गर्दै शान्तिपूर्ण रूपमा भेला भएका शिक्षकहरू र सुरक्षाकर्मीहरूबीच भएको झडप दुःखद र चिन्ताजनक बताएका छन् ।
‘लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको रक्षा गर्नु राज्यको पहिलो दायित्व हो,’ उनले लेखेका छन्, ‘शान्तिपूर्ण आन्दोलनमा सहभागी शिक्षकहरू, सुरक्षाकर्मी र पत्रकारहरू घाइते हुनु कुनै पनि हिसाबले उचित हुन सक्दैन । घाइते सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी र पत्रकारहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’
प्रतिक्रिया 4