+
+
Shares

अनेसासको अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलन बेल्जियममा हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १५ गते ७:५९

बार्सिलोना । नेपाली साहित्यकारहरुको अन्तर्राष्ट्रिय संजाल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आफ्नो छैठौं अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलन बेल्जियममा गर्ने भएको छ ।

आगामी असार ९ देखि ११ गते तदनुसार मे २३ देखि २५ सम्म बेल्जियमको दोस्रो ठुलो सहर एन्टवर्पमा हुने उक्त सम्मेलनको प्रारम्भिक तयारी पूरा भैसकेको जनाइएको छ ।

अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलन सम्पन्न गर्न आयोजक शाखा अनेसास बेल्जियमका अध्यक्ष सौरभ कारञ्जितको संयोजकत्त्वमा मूल तयारी समिति गठन गरिएको छ। सम्मेलनमा केन्द्रीय कार्यसमिति र बोर्ड अफ ट्रस्टीका सदस्यहरू तथा विश्वभर रहेका अनेसास च्याप्टरका प्रतिनिधिहरूको सहभागिता रहने छ ।

संसारभरी छरिएर रहेका च्याप्टरका प्रतिनिधि र केन्द्रीय पदाधिकारीहरुबीच नजिकको सम्बन्ध बनाउने, नेपाली साहित्यको सिर्जनाको गुणस्तर अभिवृद्धि र विश्व साहित्यमा नेपाली साहित्यको प्रवर्द्धन गर्ने हेतुले यो सम्मेलन गरिन लागेको आयोजक बेल्जियम शाखाका कोर कमिटी सदस्य पंचम अधिकारीले जानकारी दिए ।

सम्मेलनमा कार्यपत्रहरू प्रस्तुत गर्ने, संस्थाको आन्तरिक छलफल गर्ने, विभिन्न साहित्यिक बिषयमा सामुहिक बहस गर्ने, सर्वोत्कृष्ट शाखा पुरस्कार वितरण, कविता एवं गजल वाचन र बेल्जियम घोषणापत्र जारी गर्ने तयारी रहेको उनले बताए । त्यसैगरी तीन-दिने औपचारिक सम्मेलनपछि आगन्तुक पाहुनाहरूका लागि दुई दिने साहित्यिक भ्रमणको समेत आयोजना गरिनेछ ः।

अनेसास केन्द्रीय कार्य समिती र बेल्जियम शाखाको समन्वयमा सम्मेलन आयोजना हुनेछ । यसका निम्ति केन्द्रीय कार्यसमिति, बिओटी, युरोप क्षेत्रीय समिति र आयोजक शाखाका पदाधिकारीहरूको अप्रिल २७ मा भएको विशेष तयारी समितिको बैठकमा कार्यक्रमको तयारीबारे समिक्षा गरिएको थियो ।

प्रत्येक दुई वर्षमा हुने यस्तो सम्मेलन सन् २०१६ बाट सुरु गरिएको हो । यसअघि पाँचौं अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलन अमेरिकाको बोस्टनमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?