
१५ वैशाख, काठमाडौं । मध्यपहाडी लोकमार्गको छेउमै छ, चौरजहारी बजार ।
कुनै बजारका लागि सधैं एउटै पहिचान काफी हुन्थ्यो भने चौरजहारी यतिबेला पूर्वी कर्णालीको प्रमुख व्यापारिक तथा प्रशासनिक केन्द्र हुन्थ्यो । किनमेल र प्रशासनिक कामले आउनेहरूको बजारमा ताँती लाग्थ्यो ।
भेरी किनारको फाँटमा रहेको रुकुम पश्चिमको चौरजहारी कुनै बेला सल्यान, जाजरकोट र डोल्पाको प्रमुख व्यापारिक केन्द्र थियो ।
तर, कहाँ बजारलाई सधैं एउटै पहिचानले जीवन्त बनाइरहन्छ र ! द्वन्द्वको बेला माओवादीले विमानस्थल, हुलाक, बैंक, सरकारी भवन, प्रहरी चौकी र कृषि सामग्री संस्थान जस्ता नागरिकसँग प्रत्यक्ष जोडिने पूर्वाधार ध्वस्त पारे । विकासको गति नै अवरुद्ध बनाए । समानान्तर सत्ताको अभ्यास गरे ।
‘२०५७ सालमा २४ वटा सरकारी भवन ध्वस्त भए, एकीकृत सेवा केन्द्र बन्द भयो । ठूला व्यापारीहरू नेपालगञ्ज लखेटिए,’ राजनीतिज्ञ तथा अध्येयता शिव आचार्य भन्छन्, ‘द्वन्द्वले यो बजारको विकासमा ब्रेक लगायो । लय नै फेरिदियो ।’
उनका अनुसार देश शान्ति प्रक्रियामा गएसँगै गाउँ-गाउँमा बाटोघाटो पुग्यो । सुर्खेत-सल्यान चौरजहारी हुँदै डोल्पा जोड्ने बाटो जाजरकोट भएर गयो । गाउँमा सडक पुगेसँगै सेवा पनि नजिकियो । त्यसैले अब चौरजहारी प्रमुख व्यापारिक तथा प्रशासनिक केन्द्र रहेन ।
तर, चौरजहारीवासीसँग विगतको चलायमान चौरजहारीका अनगिन्ती स्मृति ताजै छन् । हरेक व्यवसायी, बुढापाका घण्टौँसम्म विगतको चलायमान चौरजहारीको सम्झना उधिन्न सक्छन् । तर सबैले समीक्षा गर्दै भन्छन्, ‘चौरजहारी फेरि तङ्ग्रिन थालेको छ । चलायमान हुँदैछ । चौरजहारीको चेहरा बदलिँदै छ ।’
किनकि, चौरजहारी स्वयं अहिले फेरि चलायमान हुन थालेको छ । चौरजहारी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तेज विष्ट (४४) भन्छन्, ‘बजारको आकार र जनसङ्ख्या बढ्दो छ । मान्छेहरू आकर्षित हुन थालका छन् । व्यापार-व्यवसाय पनि विगतको भन्दा राम्रो हुँदै गएको छ ।’
उनका अनुसार द्वन्द्वका बेला सुस्ताएको चौरजहारी बजार पछिल्लो समय फेरि जुर्मुराउन थालेको छ । बजारको आकार फैलिएको छ । जनसङ्ख्या पनि क्रमिक रूपमा बढ्दै गएको छ । ‘शिक्षा, स्वास्थ्य लगायतका सेवा-सुविधा भएपछि मान्छेको आकर्षण चौरजहारीप्रति बढ्दै गएको छ,’ उनले अनलाइनखबरसँग भने, ‘कुनै बेला सुस्ताएको बजार बिस्तारै शहरउन्मुख हुँदैछ ।’
गर्विलो इतिहास
कुनै बेला सानो चोकमा सीमित चौरजहारी बजारको आकार रातारात फेरिएको भने होइन । यसमा विभिन्न पक्षको भूमिका छ । यो कुरामा विमानस्थल, चौरजहारी टार सिंचाइ आयोजना, जलविद्युत, नगर विकास समिति र नयाँ शहर आयोजना जस्ता पक्षहरू जोडिएका छन् ।
चौरजहारी उपत्यकामा १९९० सालदेखि नै फाटफुट मान्छे बस्न थालेको चौरजहारीका पूर्वमेयर विशाल शर्मा बनाउँछन् । उनका अनुसार २०२८ सालमा सुरु भएको चौरजहारी विमानस्थलको काम २०३४ सालमा सम्पन्न भयो । विमानस्थल सुचारु भएसँगै सुरु भएको अर्को महत्त्वपूर्ण आयोजना थियो, चौरजहारी टार सिंचाइ आयोजना ।
२०३४ सालबाट सुरु यो आयोजना २०३८ सालमा सम्पन्न भयो । जहारी खोलाबाट चौरजहारीमा पानी ल्याउने साढे १९ किलोमिटर लामो यो आयोजना सञ्चालनमा आएसँगै चौरजहारीमा मान्छेहरू बसोबास बढ्न थालेको हो ।
‘त्यो बेला चौरजहारी सुन्दर खेतीयोग्य फाँट थियो । तर औलो लाग्ने र पानी अभाव हुँदा मान्छेहरू बस्न रुचाउँदैनथे,’ पूर्व मेयर शर्माले अनलाइनखबरसँग भने, ‘जहारीको पानी आएपछि चौरजहारीमा मान्छेहरूको बसोबास बढ्न थाल्यो । झाडी फाँडेर बस्ती बसाउन थाले ।’
२०४५ सालमा चौरजहारी जलविद्युत आयोजना सञ्चालनमा आयो । १५० किलोवाटको उक्त आयोजनाले चौरजहारी र जाजरकोटको सदरमुकाम खलङ्गामा बत्ती बल्थ्यो । तत्कालीन राजा वीरेन्द्रले उद्घाटन गरेको उक्त आयोजनाले देशैभर राम्रै चर्चा पाएको अध्येता शिव आचार्य बताउँछन् ।
‘राजा वीरेन्द्रले त्यतिबेला नै छिन्छु-चौरजहारी-डोल्पा सडक आयोजना अगाडि बढाउने घोषणा गरेका थिए,’ उनले भने ।
सोही आयोजना छिन्छु-चौरजहारी नभई छिन्छु-जाजरकोट हुँदै डोल्पा मोडिदा चौरजहारी पछाडि परेको आचार्यको दाबी छ । २०४८ सालमा सरकारले सदरमुकाम-सदरमुकाम जोड्ने सडकमार्गको आयोजना अगाडि बढाएपछि छिन्छु-जाजरकोटको बाटो जोडियो । नेपाली सेनाले निर्माण गरेको यो सडकले चर्चा पाउँदा मान्छेको आकर्षण बढेको उनी बताउँछन् ।

चौरजहारी तत्कालीन राजा वीरेन्द्रले मन पराएको फाँट थियो । विमानस्थल, टार सिंचाइ र जलविद्युत आयोजनाको उद्घाटन समेत वीरेन्द्रले नै गरेका थिए । सुर्खेतको वीरेन्द्रनगरसँगै चौरजहारीलाई पनि २०२८ सालमै वीरेन्द्रले प्लानिङ गर्न निर्देशन दिएका थिए । ‘तर राजाको निर्देशन भए पनि चौरजहारीले त्यो लेबलको फट्को मार्न भने सकेन,’ अध्येता आचार्य बताउँछन् ।
तत्कालीन सरकारले २०४२ सालमा नगर विकास समितिको अवधारणा लागू गरेपछि चौरजहारीले स्वस्फूर्त र क्रमिक परिवर्तनको लय समात्यो । चारैतिर झाडीले घेरिएको चौरजहारी बजार त्यतिन्जेलसम्म पनि सानो चोकमै सीमित जस्तो थियो । तर चलायमान थियो ।
साबिकको विजेश्वरी गाविसको प्रमुख बजार थियो- नाखिरा । ५० को दशकमा सल्यानको सल्लीबजार सडक सञ्जालले जोडिएपछि चौरजहारी व्यापारीहरूको प्रमुख केन्द्र बन्यो । घोडा खच्चडमा मालसामान ल्याएर चौरजहारी बास बस्ने आउँथे । त्यो बेला रुकुम मात्र होइन, जाजरकोट, डोल्पा र सल्यानबाट समेत मानिसहरू दैनिक उपभोग्य सामान किनमेल गर्न आउँथे ।
बिस्तारै सरकारी कार्यालयहरू, बैंक तथा वित्तीय संघ-संस्था चौरजहारी आउन थाले । दाङ, सल्यान र नेपालगञ्ज लगायतका क्षेत्रबाट ठूला व्यापारी आएर व्यापार गर्न थाले । युनिसेफको सहयोगमा २०४२ सालमा राप्ती ग्रामीण विकास परियोजना सुरु भयो । २०५२ सालबाट उक्त परियोजनाले एकीकृत सेवा प्रवाह गर्थ्यो ।
२०३४ सालमा स्थापना भएको शीतल माध्यमिक विद्यालय २०४९ सालमा रुकुम जिल्लामै उच्च मावि पाउने पहिलो शिक्षालय बन्यो । जसले गर्दा उच्च शिक्षाका लागि पनि मान्छेहरू चौरजहारी झर्न थाले ।
२०५१ सालमै चौरजहारी मिसन अस्पताल सञ्चालनमा आयो । विदेशी सहायताबाट सञ्चालित उक्त अस्पतालले त्यो क्षेत्रमै पहिलो पटक विदेशी विशेषज्ञ डाक्टर ल्याएर सेवा दिन्थ्यो ।
सडक, कृषि र प्रशासनिक लगायतका सरकारी सेवाहरू सेवाग्राहीले एउटै कार्यालयबाट पाउन थाले । त्यसले गर्दा चौरजहारीप्रति झनै आकर्षण बढाएको उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तेज विष्ट बताउँछन् । ‘सशस्त्र द्वन्द्वको समयभन्दा अगाडि चौरजहारी नामी बजार थियो,’ उनले भने, ‘तर माओवादी द्वन्द्वको १० वर्षले चौरजहारीलाई धेरै क्षति गर्यो ।’
सशस्त्र द्वन्द्वको १० वर्षको अवधिमा विकास निर्माणका सबै काम रोकिए । ‘माओवादीलाई चन्दा नदिने ठूला व्यापारीहरू यहाँबाट लखेटिए । ठूला नेताहरूको हत्या गरियो, मान्छेमा त्रास थियो,’ पूर्वध्यक्ष विष्ट भन्छन्, ‘त्यस्तो त्रासपूर्ण बजारमा को आएर बस्छ ? अनि त्यस्तो बजार कसरी विकसित हुन्छ ?’
शान्ति प्रक्रियापछि फेरिएको चेहरा
१० वर्षे सशस्त्र द्वन्द्वले थलिएको चौरजहारीमा शान्ति प्रक्रियापछि भने विकासको ग्राफ बिस्तारै उकालो लागेको पाइन्छ । चौरजहारी परिवर्तनमा सडक पूर्वाधार, राजनीतिक रूपान्तरण, शिक्षा र स्वास्थ्यमा आएको परिवर्तनले महत्त्वपूर्ण भूमिका खेलेको छ ।
शान्ति प्रक्रियापछि द्वन्द्वमा भत्किएका सरकारी अड्डा, अस्पताल र शिक्षालयहरू पुनः सुचारु हुन थाले । २०६१ सालबाट विमानस्थल पुनः सुचारु भयो भने २०६४ सालमा चौरजहारी राष्ट्रिय सडक सञ्जालमा जोडियो । सडक सञ्जाल जोडिएपछि चौरजहारीको व्यापारको आकार घट्दै गएको छ । जनसङ्ख्या भने बढ्दै गएको चौरजहारी नगरपालिका-१ का प्रेमबहादुर वली (६१) बताउँछन् ।
‘पछिल्लो समय चौरजहारीमा सबैखाले सेवा-सुविधा पुगेको छ । भौगोलिक रूपमा सुगम छ । व्यवस्थित रूपमा बजारले आकार लिँदैछ,’ शीतल माविका पूर्वशिक्षक समेत रहेका वलीले अनलाइनखबरसँग भने, ‘जसले गर्दा, जाजरकोट, सल्यान, दाङ र नेपालगञ्ज समेतबाट मान्छे आएर बसोबास गर्न थालेका छन् ।’
पछिल्लो २० वर्षमा नागरिकको सामाजिक र राजनीतिक चेतनामा समेत ठूलो बदलाव आएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकाल (३८) बताउँछन् । ‘पूर्वाधार, सामाजिक र संस्कृति क्षेत्रमा पनि ठूलो परिवर्तन आएको देखिन्छ,’ चौरजहारी-५, का स्थानीय ढकाल भन्छन्, ‘रहनसहन र फेसनमा समेत परिवर्तन आएको छ । पछिल्लो पुस्ता बिस्तारै मोडनाइज हुँदै गइरहेको छ ।’
उनका अनुसार, पछिल्लो समय आमनागरिकको चेतनास्तर बदलिएको छ । हिजो बोल्न नसक्नेहरू आज अन्याय र अधिकारका लागि निर्धक्क बोल्न सक्ने भएका छन् । आफ्ना जनप्रतिनिधिलाई प्रश्न गर्नसक्ने भएका छन् ।
नागरिकको जीवनस्तरमा समेत सुधार आएको ढकाल बताउँछन् । ‘हिजोका माटोले बनेका घरहरू आज सिमेन्टेड पिल्लरले ठडिन थालेका छन्,’ ढकाल भन्छन् । २० वर्ष अगाडि ‘एक घर, एक शौचालय’को अभियान चलेको चौरजहारीमा अहिले प्रत्येक कोठामा अट्याच बाथरुम बन्न थालेको ढकाल बताउँछन् ।
पछिल्लो समय प्रत्येक वडामा कच्ची नै भए पनि सडक पुगेको छ । केही सडक बिस्तारै कालोपत्रे हुँदैछन् । प्रायः सबै ठाउँमा जोखिम मोलेर भएर पनि तीन पाङ्ग्रे अटोरिक्सा पुगेका छन् । मोटरसाइकल चढ्ने मानिसको सङ्ख्या बढेको छ । राम्रो आर्थिक हैसियत भएकाहरू गाडी चढ्न थालेका छन् ।
‘हिजो रेडियोको समाचार सुनेर हुर्किएको हाम्रो पुस्ता अहिले २४ घण्टा सामाजिक सञ्जालमा रमाइरहेको छ,’ ढकाल भन्छन्, ‘यही त हो, परिवर्तन । गाउँमा केही छैन होइन, सबथोक छ ।’ हरेक युवाको हातमा स्मार्टफोन, घरघरमा वाईफाई । देश-विदेशमा रहेका आफन्त, साथीभाइसँग नियमित सम्पर्क । सामाजिक सञ्जालका कारण दुर्गम गाउँ पनि विश्व सूचना सञ्जालसँग जोडिएको छ ।
बेरोजगारीले विदेशिए युवा
रुकुम पश्चिममा स्थानीय तहदेखि प्रदेश र सङ्घसम्मै माओवादी केन्द्रको दबदबा छ । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको गृहजिल्ला समेत रहेको रुकुम पश्चिममा २०७४ र २०७९ को निर्वाचनमा माओवादीले नै चुनाव जितेको थियो ।
तर, राजनीतिक नेतृत्वले बाँडेको आश्वासन यथार्थमा परिणत नहुँदा युवामा नैराश्य बढेको पत्रकार राजु लामिछाने बताउँछन् । ‘सडक, बिजुली, यातायात र इन्टरनेट लगायत सुविधा गाउँसम्मै पुगेको छ । तर गाउँ भने रित्तिँदै छन्,’ दुई दशकदेखि पत्रकारिता गरिरहेका स्थानीय लामिछाने भन्छन्, ‘शहरको जस्तै सेवा-सुविधा पाए पनि युवा मनलाई गाउँमै अड्याउन सकेको छैन । सुविधा उपभोग गर्न आय-आर्जन चाहिन्छ । त्यसका लागि रोजगारी चाहिन्छ ।’
सडक र सञ्चारको पहुँच पुगे पनि गाउँमा रोजगारी सिर्जना भने हुन सकिरहेको छैन । यही कारण गाउँबाट युवा विदेशिइरहेका छन् । ‘पछिल्लो समय गाउँघरमा युवा भेट्न मुस्किल छ । वृद्धवृद्धा र बालबच्चा मात्रै देखिन्छन्,’ लामिछाने भन्छन् ।
केही वर्ष अघिसम्म भारत र खाडी मुलुक जाने युवाहरू पछिल्लो समय अमेरिका छिर्न थालेका छन् । अवैध बाटोबाट ऋण सापट गरेर ५० लाखदेखि एक करोडसम्म दलाललाई बुझाएर युरोप र अमेरिका छिर्नेको लर्को छ । निजामती, पत्रकार र प्रहरीका जागिरे समेत अवैध बाटोबाट अमेरिका पुगेका छन् ।
नयाँ शहर : आशा र निराशा
सरकारले २०६८ सालमा मध्यपहाडी लोकमार्गमा पर्ने १२ वटा बजार क्षेत्रलाई नयाँ शहर बनाउने घोषणा गर्यो । तीमध्ये एक थियो, चौरजहारी । ‘नयाँ शहर आयोजना कार्यालय’ स्थापना भएपछि चौरजहारीप्रति मानिसको आकर्षण झनै बढ्दै गयो ।
आयोजनाको कार्यालय स्थापना भएको झन्डै १० वर्ष भयो । तर शहर बन्ने घोषणाले उत्साहित भएका स्थानीयमा कार्यान्वयनको सुस्तताले भने निराशा पैदा गरेको छ । ‘नयाँ शहर बनाउने भनेर घोषणा त गरियो । तर कार्यान्वयन निराशाजनक छ,’ स्थानीय व्यापारी तेजबहादुर बिष्ट भन्छन् ।
नयाँ शहर आयोजनाले हालसम्म चौरजहारीको मुख्य बजार क्षेत्रको सडक दुई लेनमा विस्तार गरेको छ । अहिलेसम्मको प्रगति त्यति नै रहेको बिष्टको भनाइ छ । मुख्य बजार क्षेत्रमा शहरको प्लानिङअनुसार ल्यान्डपुलिङ गर्ने भन्दै जग्गाको कित्ताकाट समेत रोक्का गरिएको छ ।
‘विगत ४-५ वर्षदेखि हामीले आफ्नै जग्गाको कारोबार गर्न पाएका छैनौँ,’ उनले भने, ‘आर्थिक मन्दीका कारण जग्गा कारोबार रोकिँदा निजी क्षेत्रलाई मार परेको छ ।’
नयाँ शहर विकास गर्नुको एउटा उद्देश्य नजिकका ग्रामीण क्षेत्रबाट तराईमा हुने बसाइँ-सराइ रोक्नु हो । अहिलेसम्म सरकारको उद्देश्यअनुसार गतिविधि नहुँदा त्यसो हुन नसकेको बिष्ट बताउँछन् । ‘अहिलेसम्म बाहिरका मान्छेले घडेरी किनेकै छैनन् । सबै दाङ, नेपालगञ्ज र सुर्खेत झर्न खोज्छन्,’ उनी भन्छन् ।
नयाँ शहर आयोजना घोषणा भएपछि व्यक्तिगत संरचना भने विस्तार हुने क्रम बढेको छ । धेरैले आधुनिक सुविधा सहितका घर बनाउन थालेका छन् । होटेल र रेस्टुरेन्टमा पनि लगानी गर्ने गरेको बिष्टले बताए । आयोजनाले द्रुत गतिमा काम गर्ने हो भने कर्णालीको वीरेन्द्रनगरपछि ठूलो शहर चौरजहारी हुने स्थानीयको विश्वास छ ।
नयाँ शहर आयोजनाको काम निकै सुस्त रहेको चौरजहारी नगरपालिकाका पूर्वमेयर शर्माको भनाइ छ । ‘सरकारले शहर घोषणा गरेअनुसारको पर्याप्त बजेट व्यवस्था गरेन । विनियोजन भएको बजेट पूर्ण कार्यान्वयन हुन सकेन,’ उनले भने, ‘भएको बजेट पनि हुन नसकेपछि काम धेरै सुस्त भयो । निर्माण व्यवसायी र साझेदार कम्पनीहरूको पनि ढिलासुस्ती छ ।’
ऐतिहासिक र सांस्कृतिक वैभव
हिमाल, पहाड र तराईको झल्को दिने चौरजहारी प्रकृतिको अनुपम काखमा अवस्थित छ । यहाँको समथर चौर, अग्ला टाकुरा र हिमशृङ्खलाले हिमाल, पहाड र तराईको त्रिवेणी झल्को दिन्छ । भेरी नदीको किनारमा बग्ने जहारीखोलाले यहाँको भूगोललाई थप सौन्दर्य प्रदान गरेको छ ।
चौरजहारी नामकरणको कथा पनि रोचक छ । स्थानीय भाषामा समथर भू-भागलाई ‘चौर’ भनिन्छ र यहाँको चौरमा करौँती, चमेली र दाँते जस्ता झाडीहरूले भरिएको क्षेत्रलाई ‘झारी’ भनियो । यी दुई शब्दको संयोजनबाट ‘चौर झारी’ हुँदै कालान्तरमा ‘चौरजहारी’ नाम रहेको पूर्वमेयर विशाल शर्मा बताउँछन् ।
उनका अनुसार २०७२ असोज १ मा तत्कालीन विजेश्वरी र कोटजहारी गाउँ विकास समितिलाई समायोजन गरी चौरजहारी नगरपालिका घोषणा भएको थियो । पछि २०७३ फागुन २७ मा स्थानीय तहको नयाँ संरचना बन्दा खोलागाउँ, नुवाकोट र पूर्तिमकाँडाका केही वडाहरू समेटिए । जहारीखोला र चौरको संयोजनले पालिकाको नाम नै ‘चौरजहारी’ राखिएको पूर्वमेयर शर्मा बताउँछन् ।
भौगोलिक रूपमा पनि चौरजहारी चिटिक्क मिलेको छ । समुद्र सतहबाट ६६७ मिटर उचाइमा रहेको बाँसखोलास्थित भेरी नदी यहाँको सबैभन्दा होचो स्थान हो भने वडा नम्बर ४ को मालिका लेक १,५१२ मिटरभन्दा माथिका अग्ला स्थानहरू हुन् ।
१०७.३८ वर्ग किलोमिटर फैलिएको चौरजहारीमा २९ हजार २५५ जनसङ्ख्या (२०७८ को जनगणना अनुसार) रहेको छ । हाल १४ वटा वडामा विभाजित रहेको छ । यो उपत्यकामा मिश्रित समुदाय- ब्राह्मण, क्षेत्री, दलित, जनजाति र अल्पसङ्ख्यकले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ ।
चौरजहारीको सांस्कृतिक धरोहर पनि उत्तिकै समृद्ध छ । यहाँका विजेश्वरी भगवती मन्दिर र मालिका मन्दिर धार्मिक आस्थाका केन्द्र हुन् । यी मन्दिरमा पूजा गरे मनोकामना पूरा हुँने र पानी नपरे बोका चढाए वर्षा हुने धार्मिक विश्वास रहेको छ ।

चौरजहारीबाट जाजरकोट सदरमुकाम नियाल्न सकिन्छ भने भेरी नदीको अवलोकन गर्न सकिन्छ । ती स्थानहरूमा कलात्मक ढुङ्गाहरू रहेका छन् । जुन बाइसे चौबीसे राज्यका बेला जाजरकोटका राजाले रुकुमका राजालाई ढुङ्गा प्रहार गरेका थिए भन्ने मान्यता रहेको छ । त्यही ढुङ्गा अहिले पनि देख्न सकिन्छ ।
वडा नम्बर २ को देवल र वायुघट्ट पनि रहेको छ । जाजरकोटका तत्कालीन राजा जगतिसेनबाट पत्थरमा कलात्मक रूपमा बीचबीचमा नक्सा हालेर निर्मित देवल र यसभित्र रहेको वायुघट्ट निकै कलात्मक र ऐतिहासिक रहेको छ ।
चौरजहारीको सांस्कृतिक जीवन्तता यहाँका नाचगान र पर्वहरूमा झल्किन्छ । मयुर नाच, सोरठी, सिँगारु, पैसेरी, देउसी, भैलो, टप्पा र झ्याउरे यहाँका विशेष नाचहरू हुन् । बाँसुरी, मादल र अन्य बाजाहरूको तालमा महिला-पुरुष मिश्रित रूपमा नाचिने मयुर नाच यहाँको सांस्कृतिक पहिचान बनेको छ ।
प्राकृतिक सौन्दर्य, शहरीकरण, कृषि, पशुपालन र मौलिक संस्कृतिको सङ्गम चौरजहारीको पहिचान हो । ‘आत्मनिर्भर, एकताबद्ध र समृद्ध नगरको निर्माण : चौरजहारी नगरवासीको पहिचान’ भन्ने मूल नारालाई आत्मसात गर्दै नगरपालिका शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगारीमा जोड दिँदै आएको चौरजहारीका मेयर पुष्प बादी बताउँछन् ।
प्रतिक्रिया 4