+
+
Shares
विचार :

सगरमाथा संवाद : हिमाली सभ्यतालाई नजरअन्दाज नगरोस्

माफ गर्नुहोला, सगरमाथा संवादका आयोजक मित्रहरू तपाईंले जति माग्नुस् तपाईंको भिक्षापात्रमा आएको दानले हिमालमा एक फुर्को हिउँ पनि थपिंदैन ।

दामोदर त्रिपाठी दामोदर त्रिपाठी
२०८२ वैशाख १५ गते ८:३८

नेपालले आगामी एक महिना (आगामी मे १६ देखि १८ सम्म) भित्र सगरमाथाको नाममा एक विश्वस्तरीय सम्मेलनको आयोजना गर्न गइरहेको छ । यसप्रकारको आयोजना आफैंमा अत्यन्त महत्वपूर्ण अवसर हो जहाँ नेपालले आफ्नो दृष्टिकोणलाई विश्वस्तरीय नेतृत्वको बीचमा साझा गर्न सकिन्छ ।

‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ विषयमा केन्द्रित यो शिखर सम्मेलनले विश्वका नेता, नीति निर्माता र वातावरणविद्हरूका बीचमा हिमनदी संरक्षण, हरित ऊर्जा र जलवायु न्यायका सवालहरू माथि छलफल हुने लक्ष्य राखेको छ ।

सम्मेलनको कार्यक्रम र सम्मेलनमा प्रस्तावित विषयहरूलाई सरसर्ती अध्ययन गर्दा र यो शिखर सम्मेलनको आयोजना र यसको पृष्ठभूमिमा भएका व्याख्या र समस्याहरूको उठान हेर्दा भने पेचिला विरोधाभाषहरू स्पष्ट देखिन्छ । सम्मेलन हाम्रो क्षमता, सम्भावना र सम्मुख समस्याहरू प्रति जुध्ने दह्रो प्रतिबद्धताको अवसरका रूपमा सदुपयोग गर्ने गरी तयारी गरिनुपर्दथ्यो जुन उपलब्ध कार्यक्रममा देखिएको छैन ।

संवाद सत्रका शीर्षकहरू- ‘स्वच्छ ऊर्जाको उपयोग’, ‘हिमाललाई समुद्रसँग जोड्ने’, ‘जलवायु–अनुकूल कृषि’ हेर्दा लाग्छ, यी सबै पश्चिमा मोडेल भित्र विकास गरिएका पर्यावरणवादी भाष्यका रणनीतिक औजारहरू हुन् जसले हिमाल र यस प्रकारका सबै संवेदनशील पारिस्थितिक प्रणालीहरूलाई भौगोलिक तथ्याङ्क (हिमनदी पग्लने दर) वा आर्थिक अवसर (जलविद्युत्, पर्यटन) मा सीमित गर्छ ।

मानव र प्रकृतिलाई एक अन्योन्याश्रित सम्बन्धमा संरचित व्यवस्था हो भन्ने अवधारणालाई स्थान दिंदैन । यो दृष्टिकोणबाट हेर्दा हिमालमा या स्रोत छ, अर्थतन्त्र छ वा हिमालमा संकट थपिइरहेको छ । यो दृष्टिकोणले हिमाललाई मानव जीवन र सभ्यताको धरोहरबाट अलग राख्दछ र समाधान हिमाली समाज र हिमालको सभ्यताभन्दा बाहिरबाट आयातित गर्ने कुचेष्टा राख्दछ ।

यस प्रकारका कुनै पनि दृष्टिकोणबाट आजको हिमालका सम्बन्धमा उठेका सवालहरू उपर हामी भिन्न निष्कर्षमा पुग्न सक्दैनौं । यो दृष्टिकोण आफैंमा असफल र आत्मघाती सिद्ध भइसकेको छ ।

दामोदर त्रिपाठी

यहाँ हामीले बुझ्नुपर्ने कुरा के हो भने आजको भू–सतह र प्रकृतिसँग कमसेकम आजभन्दा दुई लाख वर्ष अगाडिका हाम्रा आदि पुर्खाका समयदेखि एक अनवरत सघन अन्तरक्रिया र अन्तरसम्बन्ध स्थापित गर्दै र हुँदै आएको छ । र, यो सघन र कालातीत सम्बन्धले प्रकृति र मानव बीचका सम्बन्धका अनेक तहहरू निर्माण भएका छन् जो कतिपय मूर्त छन् भने धेरै त अमूर्त नै छन् ।

यो बेजोड सम्बन्ध प्रकृतिका अन्य क्षेत्रहरू जस्तै हिमालसँग पनि छ, अझ भनौं त्यो सम्बन्ध हिमालीय मोडेलको छ । सगरमाथाको आसपास वा पूरै हिमाली शृंखलाको कुरा गर्ने हो भने पनि केही हजार वर्ष अगाडिका हिमालीय सभ्यताहरूको जीवन्त भौतिक प्रमाणहरू त आज पनि भेटिन्छन् ।

नभेटिने, भेट्न कठिन भएका वा अभौतिक रूपमा त्यस प्रकारका प्रमाणहरूतर्फ जाने हो भने व्याख्या धेरै लम्बिने छ । मूल कुरा के हो भने हामीले हाम्रो पर्यावरण वा प्रकृतिको मूल्य नै बिर्सियौं । सँगसँगै हामीले हाम्रो जीवनकोे, मानवताको र समग्रताको मूल्य निर्धारण गर्ने विधि इतिहासको कुनै कालखण्डमा पुनर्निर्माण नै गर्न नसकिने जस्तो गरी जानेर नजानेर ध्वस्त बनायौं ।

यहाँ प्रश्न के हो भने, के यस तवरका आधारभूत सवालतर्फ आसन्न सगरमाथा संवाद केन्द्रित हुनेछ ? हिमालमा आज हामी अहिमालीहरू जम्मा भएपछि हामीले देख्ने भनेका समस्या मात्रै हो । तर यदि हिमाली भयौं भने हामी समस्यालाई सामना गरिरहेका हुन्थ्यौं । के आज त्यस्तो भइरहेको छ ? त्यस्तो हुन्थ्यो भने हामीसँग हिमाल हुने, हिमाल जोगाउने विधि नहुने हुन्छ ? अरूसँग विभिन्न बहानामा झोली थाप्दै हिंड्नुपर्ने किन हुन्छ ? जाल बुन्न नजान्ने जालहारी तालको छेउमा बसेर माछा मार्ने कुरा गरे जस्तो भएन यो ?

आज पनि हिमालसँग के छैन ? हिमालसँग धेरथोर अझै हिउँ छ, पानी छ, जीव छन्, सभ्यता छ, हिमाली मान्छेहरू छन्, व्यापार छ, अध्यात्म छ, दर्शन छ, राजनीति छ । अरू के–के छ, छ । खै यो उपलब्धता र सम्भावनातर्फ केन्द्रित हुन जानेको ?

के तपाईंले यो विषयलाई संवादमा स्थान दिनुभएको छ ? हिमालका मान्छेहरूले उहिल्यै संसारसँग व्यापार गर्न जानेको हो, कहिले हिउँमाथि त कहिले हिउँभित्र (गुफा भित्र) बसेर पनि आफ्नो सभ्यतालाई निरन्तरता दियो ।

आज हामीले भन्ने सहभागितामूलक लोकतन्त्र हिमाली जीवनको आधारभूत राजनीतिक जीवन रह्यौं शताब्दीयौंसम्म । हिमाल, हिउँ, पानी, हावा, माटो, जनावर, बोटबिरुवा आदि त प्रत्येक हिमाली मानिसहरूको जीवन, परिवार, समुदाय, धर्म, राज्यसँग अभिन्न तवरले घुलेको छ । खै हामीले यो देख्न सकेको ?

प्राथमिकता केलाई दिने भन्ने स्पष्ट सोच नभएपछि यस्तो विरोधाभाषले एउटा पाखण्ड रूप धारण गर्छ, नेपालमा अहिले यही भइरहेको छ ।

आयोजक मित्रहरू, तपाईंको संवादको खाकामा मैले यो बेहोरालाई भेटेको छैन । खालि मागेरै चल्ने बानी परेपछि हिमाललाई पनि मागेरै जीवन्त राख्न सकिन्छ भन्ने हो ? कि हिमाल देखाएर माग्ने अनि अरू नै केही गर्नु छ ? यस्तो हो भने माफ गर्नुहोला, सगरमाथा संवादका आयोजक मित्रहरू तपाईंले जति माग्नुस् तपाईंको भिक्षापात्रमा आएको दानले हिमालमा एक फुर्को हिउँ पनि थपिंदैन ।

नेपाली नेतृत्वको विरोधाभाषपूर्ण चिन्तन र व्यवहार

अझै गोडेर भन्नुपर्दा सबैभन्दा ठूलो विडम्बना शिखर सम्मेलनको आधुनिकतावादी विचारमा भन्दा पनि हाम्रो नेतृत्वको आफ्नै विरोधाभाषपूर्ण चिन्तन र व्यवहारहरू हुन् । राज्य तहबाट आफ्नो विशाल प्राकृतिक र सांस्कृतिक सम्पदा भन्दै मौसमी रूपमा डंका पिट्दै हिंड्ने एकातर्फ, अर्कोतर्फ विकास मोडेल उही डोजरे प्रवृत्ति दोहोर्‍याइरहने ।

सिमेन्ट र रड नराखी घर बनाउने सिफारिस इन्जिनियरले गर्नै नसक्ने, पिच ढलान नगरी बाटो बन्दै नबन्ने, जंगल नफाँडी विकासै नहुने, रासायनिक मल नराखी कृषिको बजेट नै नबन्ने ! अंग्रेजी नबोली जानेको नै नहुने, आयुर्वेद र घरगाउँको उपचार पद्धतिले कुनै मान्यता नै नपाउने ! यही हो हाम्रो संस्कृति र सम्पदामा गर्व गरेको ?

यतिबेला हिमाली र पहाडी क्षेत्रमा अन्धाधुन्ध डोजरे विकास बेरोकतोक चलिरहेको छ । कुनै मापदण्ड छैन । क्षणिक स्वार्थमा अनेक धरोहरहरू विनाश गरिएको छ । पछिल्लो पटक ताप्लेजुङको लिम्बू मुक्कुमलुङमा केबलकार परियोजना चर्चामा छ । मानिसहरूलाई हत्या गरेर विकास गरिन्छ ? कसको लागि त्यो विकास ? त्यो त्यहीं नै नबनाई नहुने के पर्‍यो त्यस्तो ? के केबलकार त्यहाँ नबन्दा कतै हिमाल भत्किन्छ ? नदी सुक्छ, खेत बाँझै हुन्छ ? प्राथमिकता केलाई दिने भन्ने स्पष्ट सोच नभएपछि यस्तो विरोधाभाषले एउटा पाखण्ड रूप धारण गर्छ, नेपालमा अहिले यही भइरहेको छ ।

विश्वव्यापीकरण र आधुनिकताको वेगमा नेपालले (एक देश र समाजको रूपमा) आफ्नो गन्तव्य बिर्सिएको छ र सगरमाथा संवाद एउटा अवसर हुनसक्दथ्यो त्यो हराएको दिशा पत्ता लगाउने तर विषयहरूको उठान र बैठानमा यो आवश्यकतालाई कुनै पनि कोणबाट समेट्ने प्रयत्न भएको छैन ।

विभेद भयो भनेर चर्को भाषण गर्ने, सीमान्तीकरण भयो भनेर नथाक्ने अनि यो विभेद र सीमान्तीकरण हाम्रो राज्यको ढाँचा, विश्वव्यापीकरण र आधुनिकतावादको अन्धानुकरण हो भनेर स्वीकार्न किन नसक्ने ? आम सामाजिक जीवनको खास पक्षलाई आधारभूत तबरले पुनर्गठन गर्दै यस्ता बाह्य प्रभावलाई छल्न वा त्यससँग साझेदारी गर्न किन आँट नगर्ने ?

ऋग्वैदिक हिमालय : एक मौन आवाज

यो विरोधाभाष र पाखण्डपूर्ण परिस्थितिमा विगत केही वर्षदेखि अत्यन्त सीमित क्षेत्रमा हामीले केही प्राज्ञिक कामलाई अगाडि बढाइरहेका छौं । प्राज्ञिक काम आफैंमा आम मानिसहरूका लागि एक मौन आवाज मात्रै हो । फेरि पनि यो केही हो सकारात्मक दिशातर्फको अत्यन्त साना पाइलाहरू जस्तै ।

हामीले गत सन् २०२३ र २०२४ मा गरी दुई वटा ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलनहरू सम्पन्न गरेका छौं । यी सम्मेलनका माध्यमबाट हामीले हिमाली सभ्यता र आदिम ज्ञान र दर्शनका सम्बन्धमा पश्चिमा दृष्टिकोणहरूबाट पृथक् भएर वस्तुगत रूपमा हिमाली सभ्यता र मूल्य मान्यताहरूतर्फ कसरी केन्द्रित हुन सम्भव छ भन्ने सम्बन्धमा नयाँ अनुसन्धाताहरूका बीचमा सिक्ने र सिकाउने प्रक्रियालाई थालनी गरेका छौं ।

यस क्रममा विद्वान्हरूले हाम्रा नयाँ पुस्ताका मुमुक्षुहरूका बीचमा हिमाललाई जीवनसँग र जीवनलाई उच्च मानवीय आदर्शहरूसँग कसरी जोड्न सकिन्छ भन्ने विधिहरूका बारेमा अनेक धारणालाई प्रकाशन गरेका छन् । यसबाट हामीले हाम्रा खास खास समस्या र चुनौतीलाई हाम्रै बलबुतामा र आम नेपालीको अन्तरसम्बन्ध र सहकार्यमा समाधान गर्ने आँट गर्न सक्नुपर्दछ भन्ने भावनालाई विस्तार गर्न सहगोग पुगेको महसुस भएको छ ।

त्यो आँट र योजना सहितको नेतृत्व मात्रै अब नेपाली जनतालाई स्वीकार्य छ । अब पनि आधुनिकतावाद र प्रशासनयन्त्रको नाममा सुगारटाइमा मात्र चल्ने नेतृत्वबाट देश र जनताको उन्नति हुनसक्दैन भन्ने कुरालाई ठम्याउन कुनै कठिनाइ छैन ।

शिखर सम्मेलनलाई अप्रासङ्गिक हुनबाट कसरी बचाउने ?

मुख्य कुरा आसन्न सगरमाथा शिखर सम्मेलनलाई नेपालको सम्मेलन बनाउने हो भने गएका दशकहरूमा भएका तमाम वातावरण सम्बन्धी सम्मेलन र त्यहाँ निर्माण गरिएका भाष्यहरूबाट नेपाली राजनीतिक र प्राज्ञिक नेतृत्व अलग, रिफ्रेस हुन र हिमाली संस्कृतिको मौलिकतालाई एकत्व, अन्तरसम्बन्धित र आत्मिक तवरले हेर्न र बुझ्न सक्षम हुन आवश्यक छ । र, नेपालले सगरमाथाको देशको नेतृत्वले भन्न सक्नुपर्दछ, प्रकृतिमाथि गरिने सबै प्रकारका दोहन अपराध हुन् ।

के आजको नेतृत्वले प्रकृतिको यो संवेदनशीलतालाई आफूभित्र आत्मसात् गर्न र त्यो संवेदनशीलता विश्व समुदायसँग साझा गर्ने एक बोधिचित्त विकास गर्न सक्दछ ? सबै खाले शब्दजालहरूलाई उतारेर, के यो तवरको संवेदनशीलता हाम्रा विकास योजनाहरूको तर्जुमा र कार्यान्वयनमा देखाउने आँट गर्छ ? गर्न सक्दैन भने यो सम्मेलनले कुनै केही नयाँपन दिन सक्दैन ।

आधुनिकतावादी दृष्टिकोण र भाष्यभित्र रहेर गरिने बहस र संवादमा हाम्रो ल्याकत कैयन् हिसाबले कमजोर छ, यो हामी सबैमा जगजाहेर छ र समाधानको बाटो पनि होइन । त्यसैले प्राविधिक–आदर्शवादी समाधानहरूको थोत्रो स्क्रिप्टलाई निरन्तरता दिने, हिमाललाई विदेशी एजेन्डाहरूको प्रयोगशालामा सीमित गर्दै जाने वा नयाँ मूल्य स्थापित गर्ने नयाँ अवसरको रूपमा शिखर सम्मेलनलाई सदुपयोग गर्ने ? के रोज्ने यो देशको नेतृत्वको छनोटको विषय हो ।

(त्रि–चन्द्र क्याम्पसमा मानवशास्त्र अध्यापनरत त्रिपाठी सन् २०२३ र २०२४ मा पोखरामा सम्पन्न ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलनका संयोजक पनि हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?