+
+
Shares
टिप्पणी :

गर्नु गर्‍यौ घनश्याम धेरै बोलेर…

उनै घनश्यामले माओवादीको वैचारिकीमाथि प्रश्न उठाउँदा देशैभरका माओवादीलाई दुख्नु स्वाभाविक हो ।

विशाल खड्का विशाल खड्का
२०८२ वैशाख १५ गते १३:२७

मैले पहिलो पटक घनश्याम भूसाललाई ११ वर्षको हुँदा देखेको हुँ । तेजिलो शैलीमा त्रिचन्द्र क्याम्पसमा जुल्फी हल्लाउँदै कम्युनिस्ट आन्दोलन र त्यसमा युवा, विद्यार्थीको भूमिकाबारे उनी बोलिरहेका थिए ।

भर्खरै पञ्चायत ढलेको थियो । र, मुलुकमा राजतन्त्र सहितको बहुदलीय व्यवस्था आफ्नो खुट्टामा टेक्न खोज्दै थियो । नेपाली समाजको आगामी बाटो के हुने भन्नेबारे मानिसहरू भर्खर–भर्खर सार्वजनिक जीवनमा देखापरेका राजनीतिकर्मीलाई उत्सुकतासाथ सुनिरहेका थिए । विचारिरहेका थिए ।

त्यतिबेला भूसाल अनेरास्ववियुको महासचिव थिए भने म नीलकण्ठेश्वर मावि, जुगुको प्रारम्भिक कमिटीमा थिएँ । दाइ रितबहादुर खड्काले मलाई त्यो कार्यक्रममा लिएर जानुभएको थियो । त्यही हप्ता मैले त्यस समयका अर्का प्रखर वक्ता राम कार्कीलाई पनि पहिलो पटक सुनेको हुँ ।

त्यसयता बितेका ३५ वर्षमा नेपालको राजनीतिले अभूतपूर्व उथलपुथल देख्यो । जनविद्रोह, दशौं हजारको बलिदानी, ऐतिहासिक जनआन्दोलन हुँदै मुलुक गणतन्त्रमा प्रवेश गर्‍यो ।

बितेका ३५ वर्षहरूमा घनश्याम भूसाललाई आम राजनीतिकर्मी वा राजनीतिमा चासो राख्नेले जस्तै मैले पनि कहिले प्रत्यक्ष, कहिले अप्रत्यक्ष, कहिले समाचारबाट त कहिले उहाँहरूको आलेखबाट नियालिरहें, सुम्सुम्याइरहें ।

३५ वर्षपछि उनै घनश्यामले उस्तै पारामा जुल्फी हल्लाउँदै गत मंगलबार माओवादी पार्टीको आलोचना गर्दै भने, ‘अर्को एउटा क्रान्तिकारी हाम्रो सहयात्री पार्टी छ– नेकपा (माओवादी केन्द्र) । माओवादी नाम राखेको छ । के हो माओवाद ? व्याख्या पनि गर्दैन । किन राखेको हो त्यो पनि थाहा छैन । लुकिङ लन्डन, टकिङ टोकियो ।’

गणतन्त्र नेपालको संविधान बनेको एक दशकसम्म आइपुग्दा नयाँ संविधान कार्यान्वयनको जिम्मेवारी मूलतः संविधानका अग्रगामी एजेण्डाहरू धेरै नरुचाउनेहरूको हातमा पुग्यो । सम्झौताको दस्तावेजका रूपमा आएको संविधान आफैंमा अनगिन्ती सीमाहरू सहित आएको थियो । यद्यपि थोरै नै सही, संविधानमा भएका प्रगतिशील प्रबन्धहरूलाई आम जीवनमा अनुवाद गर्ने काम यो अवधिमा हुन सकेन ।

फलस्वरूप जनताको जीवन रूपान्तरणका एजेन्डाले राज्यको नीति–निर्माणमा आफ्नो ठाउँ पाउन सकेनन् । यही कमजोरीमा टेकेर आजका दिनमा लोकप्रियतावादी र प्रतिगामीहरूले टाउको उठाउन खोजेका छन् ।

गत चैत १५ गतेको तिनकुने र भृकुटीमण्डपका दुइटा आमसभाले नै मुलुकभित्रको ध्रुवीकरणको केही प्रस्ट तस्विर दिन्छन् । अहिले चौतर्फी रूपमा अग्रगमनका एजेन्डा र नेताहरूमाथि प्रहार भइरहेका छन् । सत्तामा रहेकाहरू बदलिंदो परिवेशमा आफ्नो अवसरवादी चरित्र देखाइरहेकै छन् ।

नेपाली राजनीतिमा संसद्वादी दलहरूको हात थाम्ने पनि माओवादी थियो र घनश्यामलाई ओलीले लात हान्दा हात थाम्ने पनि माओवादी नै थियो । समय बित्दैगयो । अवस्था सामान्य बन्दैगयो

यस्तो परिस्थिति बीच कमरेड घनश्यामले माओवादीको वैचारिकीमाथि जुन प्रश्न गरेका छन्, त्यसले उनकै शब्दमा ‘क्रान्तिकारी सहयात्री दल’ को आलोचना मात्रै गर्दैन, बरु त्यसले पश्चगामी शक्तिहरूलाई नै बल पुर्‍याउँछ ।

यति मात्र होइन, उनले त्यही भाषणमा माओवादीले बोक्ने सिद्धान्तमाथि जसरी प्रश्न गरे त्यसले ‘ह्वेन द ड्रम विट्स फर वन, अदर्स लर्न द डान्स’ (एउटाका लागि खैंजडी बजाउँदा अर्कै रमाउँछ) भन्ने अंग्रेजी उखानलाई सम्झाइदिन्छ ।

समकालीन नेपाली कम्युनिस्ट आन्दोलनमा दोस्रो पुस्ताको आशलाग्दो अनुहारका रूपमा रहेको तपाईंको छवि, भुईंमान्छेको वरपर रहेर हुर्किएको राजनीतिक विरासतका रूपमा हामी हेर्ने गर्छौं । नेपाली कम्युनिस्ट आन्दोलनमा अध्ययन, अनुसन्धानको खडेरी पर्दै गइरहेको सन्दर्भमा मसिनो र गम्भीर रूपमा अध्ययन गर्ने तथा त्यसलाई आममान्छेले बुझ्ने भाषामा भन्न सक्ने तपाईंको क्षमताप्रति हामी लोभिन्छौं ।

उपभोक्तावाद र लोकप्रियतावादले गाँज्न थालेको समकालीन राजनीतिक परिवेशमा हामीले तपाईंबाट सिक्नुपर्ने धेरै कुरा छ । वैचारिक पक्षधरता, अध्ययनशीलता र तपाईंको सादगीपूर्ण जीवनशैलीप्रति हामी माओवादी आजका दिन पनि त्यति नै सम्मान गर्छौं । त्यसमा एक जना माओवादी म पनि हुँ, जो तपाईंबाट प्रभावित छ ।

माओवादीलाई तपाईं आजका दिनमा हजार गाली र प्रश्न गर्न सक्नुहुन्छ । तर, दुइटा विषयमा तपाईं माओवादीलाई आजका दिन पनि प्रश्न गर्न सक्नुहुन्न । त्यो हो– उसको वैचारिक धरातल र वर्गीय पक्षधरता । माओवादी आजका दिनसम्म जति नै कालो पोतिए पनि ऊ अग्रगमनको धरातलमा उभिएको मृगसरी हो, जसको नाभिमा कस्तूरी छ । तर, तपाईंको वैचारिकीले जरा हालेको सिङ्गो एमाले र समाजवादीको नेतृत्व गर्दै गरेको पंक्ति जति नै दूधले नुहाए पनि त्यस्तो मृगसरी होइन, जसले मौकापरस्तको राजनीति ढुकेर बसिरहेको छ ।

विगत हेर्दा हामीलाई पनि कहिले कसो कहाली लाग्छ । ओलीको आलोचना गर्न कत्ति नहिच्किचाउने घनश्याम आफ्नो राजनीतिक सत्ता गुम्ने डरले माधवकुमार नेपाललाई छोडेर ओली कित्तामै बस्न रुचाए । माधवकुमार नेपालले नयाँ पार्टीका रूपमा समाजवादी गठन गर्दैगर्दा उनको हात घनश्यामले समाउनुपर्ने थियो, तर त्यो हात समाउनेमा उनी होइन, रामकुमारी झाँक्री थिइन् ।

त्यति मात्र होइन, निर्वाचनमा ओलीबाट टिकट पाउने आशमा उनी बालकोट धाइरहे । तर, ओलीले संसद्वादी दलहरूलाई राजाले लात हाने जस्तैगरी घनश्यामलाई लात हानेपछि, एमाले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारका रूपमा रूपन्देहीमा उम्मेदवार बने ।

नेपाली राजनीतिमा संसद्वादी दलहरूको हात थाम्ने पनि माओवादी थियो र घनश्यामलाई ओलीले लात हान्दा हात थाम्ने पनि माओवादी नै थियो । समय बित्दैगयो । अवस्था सामान्य बन्दैगयो ।

हेर्दाहेर्दै उनी समाजवादीमा प्रवेश गर्ने दिन आयो । समाजवादीको महासचिव बन्ने दिन आयो । राजनीतिक भाषामा शायद यसैलाई अवसरवाद भनिन्छ । उनै घनश्यामले माओवादीको वैचारिकीमाथि प्रश्न उठाउँदा देशैभरका माओवादीलाई दुख्नु स्वाभाविक हो ।

प्रश्नहरूलाई किमार्थ निषेध गर्न मिल्दैन । यही नै हाम्रो आधारभूत मान्यता हो । तर, आजका दिनमा अग्रगमनको राजनीति जुन सकसमा छ, त्यसमा तपाईंले कसलाई प्रश्न गर्दै हुनुहुन्छ भन्नेले तपाईंको प्रश्नले अन्ततः कसलाई सेवा पुर्‍याइरहेको हुन्छ भन्ने बुझ्नुपर्ने हुन्छ ।

यसको उदाहरणका लागि हामीहरूले भारतीय मिडियालाई हेरे पुग्छ । उनीहरू सत्ताधारी पार्टी बीजेपी, त्यसको माउ संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) र सत्ता सञ्चालक नरेन्द्र मोदीलाई नभएर प्रमुख प्रतिपक्षी दल कंग्रेस र त्यसका नेता राहुल गान्धीलाई प्रश्न गरिरहेका हुन्छन् । यसो भन्दै गर्दा राहुल गान्धीमाथि कुनै पनि प्रश्न गर्न मिल्दैन वा हाम्रो पार्टीमाथि पनि कुनै प्रश्न गर्न मिल्दैन भन्ने पक्कै पनि होइन ।

तर, तपाईंले उठाएको प्रश्नले कसलाई टेवा पुर्‍याइरहेको हुन्छ त ? किनभने प्रश्न उठाउने व्यक्ति पनि प्रश्नको घेराभन्दा बाहिर हुँदैन । तपाईंले मूलधारका भारतीय मिडियाबाट सिकेर आजको प्रमुख प्रतिपक्षी दल माओवादीमाथि प्रश्न उठाउनुभएको होइन भन्नेमा म ढुक्क छु ।

तर, आमजनता त्यसरी ढुक्क नहुन सक्छन् । किनभने तपाईंले उठाएको प्रश्नलाई सही मान्ने हो भने हामीले भारतीय मूलधारका मिडियाले कंग्रेसमाथि उठाएको प्रश्नलाई पनि जायज भन्नुपर्ने हुन्छ ।

प्रतिगामीहरू सल्बलाएको समयमा हाम्रा सानातिना वैचारिक मतभेद र विमतिलाई चौतारोमा लाउड स्पिकर लगाएर भट्याउने हो भने त्यसले कसको सेवा गर्छ भन्ने तपाईंले बुझ्नुपथ्र्यो । तथापि, यो लेखको आशय तपाईंको प्रतिवाद गर्नु हुँदै होइन । किनभने हामीलाई थाहा छ, तपाईं–हामी एउटै मोर्चाका सहयात्री दल हौं । हामी एउटै कित्ताका शक्ति हौं । हाम्रो गन्तव्य समान छ । र, मतभिन्नताका बावजुद हिंड्नुपर्ने हाम्रो बाटो पनि समान छ ।

ठिक यतिबेला यो देशका वामपन्थी र प्रगतिशील शक्तिहरूलाई एक ठाउँमा उभिन अपिल गरेर तपाईंले पश्चगमन विरुद्धको मोर्चालाई बलियो बनाउनुपर्नेमा माओवादीमाथि हिलो छ्यापेर तपाईंले कतै अर्कै बाटो समाउन खोज्नुभएको त होइन ? संशय गर्नुपर्ने भयो ।

आउनुस्, हामी हाम्रा झिना–मसिना विवाद, व्यक्तिगत अहंलाई छोडेर एकढिक्का भएको वामपन्थी आन्दोलनलाई अघि बढाउन भूमिका खेलौं । किनभने हामीले देख्न चाहेको घनश्याम नेपालका वामपन्थीहरूलाई एक हुन् अपिल गरिरहेको घनश्याम हो न कि वामपन्थीकै कुरा काटिरहेको घनश्याम । तर, तपाईं वामपन्थीहरूकै चुत्थो आलोचनामा आफ्नो ऊर्जा मास्न चाहनुहुन्छ भने हामीले भन्नुपर्ने हुन्छ– गर्नु गर्‍यौ घनश्याम धेरै बोलेर …।

लेखक
विशाल खड्का

लेखक नेकपा माओवादी केन्द्रका नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?