
१५ वैशाख, काठमाडौं । राजसंस्था पुनर्स्थापनाको पक्षमा आज काठमाडौंमा आयोजना हुन लागेको कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा सँगै सहभागी हुने भएका छन् ।
काठमाडौंको शान्तिवाटीकामा कमल थापा नेतृत्वको राप्रपा नेपालले सभा आयोजना गरेको छ । कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष लिङ्देनलाई पनि बोलाइएको छ ।
अध्यक्ष लिङ्देनले कार्यक्रममा सहभागी हुने बताए । ‘म अतिथिको रुपमा बोल्न जान्छु,’ उनले भने ।
कमल थापा र लिङ्देन पहिले एउटै पार्टीमा थिए । राप्रपाको अध्यक्ष लिङ्देन निर्वाचित भएपछि कमल थापाले नयाँ पार्टी खोलेका थिए ।
लिङ्देनसँग पराजित भएपछि थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाएका थिए । ‘राजसंस्था बोकेर हिंडेको पुरस्कार पाइयो, राजाको भलो होस्’ भनेर उनी राप्रपाबाट अलग भएका थिए ।
यो घटनाका कारण केही वर्ष एकअर्काका प्रतिद्वन्द्वी जस्ता देखिएका थापा र लिङ्देन राजासंस्थाको पक्षमा गतिविधि हुन थालेपछि नजिकिएका छन् । सोही क्रममा उनीहरु आज एउटै मञ्चमा देखिन लागेका हुन् ।
थापा र लिङ्देनसँगै राप्रपाका महामन्त्री धवलशम्शेर राणा र राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गठन गरिएको संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदी पनि मञ्चमा देखिने छन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूसहित चार जनाको फोटो पोष्ट गर्दै पहिलोपटक एकठाउँमा भेला हुन लागेको लेखेका छन् ।
‘हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको बिचारका योद्धाहरूको रिहाइको निम्ति हामी एकठाउँमा छौं,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको आन्दोलनमा हामी एकठाउँमा रहने छौँ ।’
यसअघि फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा स्वागत गर्ने कार्यक्रममा कमल थापा पनि सहभागी भएका थिए । यसैगरी चैत १५ गते तीनकुनेमा राजावादीहरुले गरेको कार्यक्रममा पनि राप्रपा र राप्रपा नेपालका नेताहरु सहभागी थिए ।
प्रतिक्रिया 4