
मुम्बई । कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि सलमान खानले बेलायतमा हुन लागेको बहुप्रतीक्षित टूर ‘बलिउड बिग वान शो’ स्थगित गर्ने निर्णय गरेका छन् ।
इन्स्टाग्रामबाट जानकारी दिँदै उनले अर्को महिना बेलायतमा हुने भ्रमण स्थगित गरेको जनाएका छन् । फ्यानसँग माफी माग्दै उनले चाँडै नयाँ मिति घोषणा आश्वासन पनि दिएका छन् । उक्त टूरमा बलिउडका ठूला स्टारले प्रस्तुति दिने तय थियो ।
सलमानले क्याप्सनमा लेखेका छन्, ‘कश्मीरमा हालै भएका दुखद घटनाहरूलाई ध्यानमा राख्दै र धेरै दुःखका साथ, हामीले प्रमोटरहरूलाई ‘बलिउड बिग वान शो’ स्थगित गर्न अनुरोध गर्ने कठिन निर्णय लिएका छौं ।’
उक्त टूर आउँदो मे ४ र ५ मा म्यानचेस्टर र लन्डनमा हुने तय भएको थियो । ‘हाम्रा फ्यानले यी प्रस्तुतिहरूको कति प्रतीक्षा गरिरहेका छन् भन्ने कुरा हामीलाई थाहा भए पनि, हामीलाई लाग्छ कि शोकको यस समयमा तिनीहरूलाई रोक्नु नै उत्तम हुन्छ’ सलमानले लेखेका छन् ।
उनले अघि लेखे, ‘यसले निम्त्याउन सक्ने कुनै पनि निराशा वा असुविधाको लागि हामी माफी चाहन्छौं, अनि तपाईंको बुझाइ र समर्थनको हार्दिक कदर गर्दछु । कार्यक्रमको नयाँ मिति चाँडै घोषणा गरिनेछ ।’
गतसाता भारतको कश्मिरस्थित पर्यटकीय थलो पहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २७ जनाको ज्यान गएको थियो । त्यसयता भारत र पाकिस्तानबीच तनावको स्थिती छ ।
भारतले पाकिस्तानी अभिनेता फवाद खानको फिल्म ‘अबीर गुलाल’को प्रदर्शन रोकेको छ । अरिजित सिंहसहितका चर्चित कलाकारले सांगीतिक टूर स्थगित गरिरहेका छन् ।
प्रतिक्रिया 4