+
+
Shares

तीन चिज जसमा अल्बर्ट आइन्स्टाइन समेत गलत साबित भए

आधुनिक विज्ञानका पिता भनेर चिनिने सापेक्षताको सिद्धान्तका जनक अल्बर्ट आइन्स्टाइन, जसले गुरुत्वाकर्षणको खोज र व्याख्या गरे, उनी समेत धेरै पटक आफ्नै सिद्धान्तहरूप्रति पूर्ण रुपमा विश्वस्त थिएनन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १५ गते १४:१४

बुद्धिमान मानिसहरू पनि आखिर मानव नै हुन् । मान्छे भएपछि जीवनमा कुनै न कुनै गल्ती त भइहाल्छ। कतिपयलाई लाग्नसक्छ महान वैज्ञानिकहरुले त गल्ती नै गर्दैनन् र सबै प्रयोगमा सफल हुन्छन् । तर त्यस्तो होइन ।

आधुनिक विज्ञानका पिता भनेर चिनिने सापेक्षताको सिद्धान्तका जनक अल्बर्ट आइन्स्टाइन, जसले गुरुत्वाकर्षणको खोज र व्याख्या गरे, उनी समेत धेरै पटक आफ्नै सिद्धान्तहरूप्रति पूर्ण रुपमा विश्वस्त थिएनन्।

आफैमाथि पूर्णरुपमा आश्वस्त हुन नसक्दा आइन्स्टाइनले कैयौं पटक ठूला गल्तीहरू गरेका थिए।

आइन्स्टाइनका ठूला गल्तीहरू

जब आइन्स्टाइन सामान्य सापेक्षता (General Relativity) सिद्धान्तको अनुसन्धानमा काम गरिरहेका थिए, तब उनले आकलन गरेका थिए कि ब्रह्माण्डको संकुचन र विस्तारको कारण गुरुत्वाकर्षण हो । तथापि त्यो समयसम्म अधिकांश वैज्ञानिकहरू ब्रह्माण्ड स्थिर (static) रहेको मान्दथे ।

यस्तै अवस्थामा, सन् १९१७ मा आइन्स्टाइनले सामान्य सापेक्षता सम्बन्धी आफ्नो शोध पत्रमा ब्रम्हमाण्डीय अचर अर्थात् कस्मोलोजिकल कन्स्ट्यान्ट समावेश गरेका थिए।

वास्तवमा, आइन्स्टाइनले गुरुत्वाकर्षणको प्रभावलाई सन्तुलनमा राख्न यो अचर मान थप गरेका थिए।

यसकै कारण उनले ’ब्रह्माण्ड स्थीर छ’ भन्ने तत्कालीन रूढिवादी धारणा समर्थन गरेका थिए। जुन समयक्रममा गलत साबित भयो । त्यसको दशकपछि वैज्ञानिकहरूले नयाँ प्रमाणहरू संकलन गर्न सुरु गरे र ती प्रमाणहरूले देखाए कि ब्रह्माण्ड स्थिर होइन, गतिशील छ।

भौतिक वैज्ञानिक जर्ज ग्यामोभले आफ्नो किताब ‘माइ वर्ल्ड लाइनः एन इन्फर्मल अटोबायोग्राफी’ मा लेखेका छन्, ‘ब्रम्हाण्डीय पदावली प्रस्तुत गर्नु आइन्स्टाइनको जीवनकै सबैभन्दा ठूलो गल्ती थियो। तर यसको अर्को पहलु पनि छ ।’

वैज्ञानिकहरूले ब्रह्माण्डको गतिशीलताको कारण रहस्यमय ‘डार्क एनर्जी’ (अन्धकार ऊर्जा) भएको ठहर गरेका थिए ।

आइन्स्टाइनले चाहिं आफ्ना गणितीय समीकरणहरूमा गुरुत्वाकर्षणको प्रभावलाई सन्तुलन गर्न ब्रम्हाण्डीय अचरको प्रयोग गरेका थिए। आज यहीँ कस्मोलोजिकल कन्स्ट्यान्टलाई ब्रह्माण्डको गतिशीलताका लागि जिम्मेवार ऊर्जा स्वरूप हेर्ने गरिन्छ।

आइन्स्टाइनको साधारण सापेक्षता (जनरल रिलेटिभिटी) सिद्धान्तअनुसार, तारा वा कुनै ठूलो वस्तुको गुरुत्वाकर्षण क्षेत्रले आफ्नो पछाडिबाट आउने प्रकाशलाई मोडिदिन्छ र ठूलो लेन्स (म्याग्निफाइङ लेन्स) जस्तै काम गर्छ।

आइन्स्टाइनलाई लाग्थ्यो कि गुरुत्वाकर्षणीय लेन्स प्रभाव यति सानो हुन्छ कि यसलाई देख्न गाह्रो हुन्छ । उनी आफ्ना ती सिद्धान्त प्रकाशित गर्न चाहँदैनथे। तर चेक गणतन्त्रका एक इन्जिनियर आर.डब्ल्यू. मन्डलले आइन्स्टाइनलाई उक्त शोध प्रकाशित गर्न राजी बनाएका थिए ।

सन् १९३६ मा आफ्नो अनुसन्धान पत्रमा आइन्स्टाइनले साइन्स जर्नलका सम्पादकलाई लेखेका थिए, ‘यस सानो प्रकाशनमा सहकार्यका लागि धेरै धन्यवाद। यो मिस्टर आरडब्ल्यूको कारण मात्र सम्भव भयो। यसको कुनै ठूलो महत्व छैन, तर प्रकाशन भएपछि म खुसी छु।’

त्यतिबेला आइन्स्टाइनलाई उक्त शोधको खासै महत्व नरहेको लागेको थियो । तर पछि खगोल विज्ञानमा यसको गहिरो प्रभाव पर्‍यो । सोही प्रभावका कारण अमेरिकी अन्तरिक्ष संस्था नासा र युरोपेली अन्तरिक्ष संस्थाको हबल टेलिस्कोपले आकाशगंगाको अध्ययन गर्न सक्ने भए ।

ईश्वरले पासा फ्याँकेका छैनन्

आइन्स्टाइनले सन् १९०५ को शोधपत्रलगायतका विभिन्न अनुसन्धानहरूबाट पुष्टि गरेका थिए कि प्रकाशले तरङ्ग र कण दुवैजस्तै व्यवहार गर्छ। पछि यही आधारमा भौतिक विज्ञानको एक महत्वपूर्ण शाखा क्वान्टम मेकानिक्सको आधार तय भयो। क्वान्टम मेकानिक्सले परमाणु कणहरूको अनौठो संसारका पक्षहरू उजागर गर्छ।

उदाहरणका लागि, कुनै क्वान्टम वस्तु एकैचोटि धेरै अवस्थाहरूमा रहन सक्छ, जबसम्म कसैले त्यसलाई अवलोकन गरेर कुनै निश्चित मान नदिएको होस्।

यस विषयमा भौतिक वैज्ञानिक एर्विन श्रोडिङरले एउटा उदाहरण दिँदै भनेका थिए : एउटा बाकस भित्र बसेको बिरालो, जसलाई बाकस नखोलेसम्म जीवित पनि मान्न सकिन्छ र मृत पनि। तर आइन्स्टाइनले यस्तो अनिश्चिततालाई स्वीकार गर्न मानेनन्।

सन् १९२६ मा उनले भौतिक म्याक बर्नलाई पत्र लेख्दै भनेका थिए, ‘ईश्वरले ब्रह्माण्डमा पासा फ्याँक्नुभएको छैन।’

ब्रह्माण्ड पूर्णतया अनिश्चित छैन भन्ने आइन्स्टाइनको तर्क थियो ।

आइन्स्टाइनले सन् १९३५ मा बोरिस पोडोल्स्की र नाथन रोजेनसँग मिलेर एउटा शोधपत्र प्रकाशित गरेका थिए।

यसमा उनले तर्क गरेका थिए कि यदि सुपरपोजिसनको अवस्थामा दुई वस्तुहरूलाई कुनै न कुनै रूपमा आपसमा जोडेर छुट्याइयो भने, पहिलो वस्तुलाई अवलोकन गरेर त्यसलाई निश्चित मान दिन सकिन्छ, र त्यसपछि दोस्रो वस्तुको चाहिँ नहेरिकनै मान पत्ता लगाउन सकिन्छ।

यद्यपि आइन्स्टाइनको यो विचार क्वान्टम सुपरपोजिसनलाई अस्वीकार गर्ने प्रयासको रूपमा लिइएको थियो । तर एक दशकपछि यही अवधारणाबाट क्वान्टम मेकानिक्सको एक महत्वपूर्ण सिद्धान्त ‘क्वान्टम एंटाङ्गलमेन्ट’-को बाटो खुलेको थियो।

यो सिद्धान्त अनुसार, दुई वस्तुहरूलाई एक आपसी सम्बन्धित वस्तुका रूपमा हेर्न सकिन्छ, चाहे ती कति नै टाढा किन नहोस् ।

आइन्स्टाइन आफ्नो सोचमा अत्यन्त प्रतिभाशाली थिए । त्यसैले जहाँ उनी गलत ठहरिए त्यहाँ समेत उनको गहिरो बुद्धिमत्ता प्रस्ट देखिन्छ। बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?