
१५ वैशाख, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद योगेश भट्टराईले जापान र अष्ट्रेलियामा नेपालको जहाज उड्ने युरोपियन मुलुकमा उड्न नपाउने विषय गम्भीर रहेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभामा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’माथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘जापान र अष्ट्रेलिया जस्तो मुलुकमा हाम्रा जहाज उड्ने र युरोपियन मुलुकमा हाम्रो जहाज नउड्ने कुरा के साच्चै सेफ्टीको मात्रै कुरा छ कि पोलिटिक्स पनि छ ? यो कुरामा ध्यान दिऊँ’ सांसद भट्टराईले भने ।
पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री समेत रहेका भट्टराईले प्रस्तावित विधेयकलाई छिटो पारित गर्नुपर्ने बताए । यो विधेयक पारित भएर ऐन बनेपछि युरोपियन मुलुकमा नेपालमा जहाज उड्न पाउँछन् कि पाउँदैनन् भनेर परीक्षण गरिने बताए ।
यो विधेयक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ल्याएका हुन् ।
१९ माघ २०८१ मा यो विधेयक प्रतिनिधि सभामा दर्ता भएको थियो । सोमबार विधेयकमाथि सैद्धान्तिक छलफल भएको हो । अब यो विधेयकमाथि सांसदहरूले संशोधन हाल्न सक्नेछन् ।
प्रतिक्रिया 4