
१५ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सबै देशभक्त र राष्ट्रवादी समूह एकजुट हुनुको विकल्प नभएको बताएका छन् । साथै, उनले पूर्वाग्रह त्यागेर देशलाई निकास दिन अपिल समेत गरेका छन् ।
सोमबार राप्रपा, नेपालले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको सभालाई सम्बोधन गर्न पुगेका लिङ्देनले यस्तो अपिल गरेका हुन् ।
कमल थापा र लिङ्देन पहिले एउटै पार्टीमा थिए । राप्रपाको अध्यक्ष लिङ्देन निर्वाचित भएपछि कमल थापाले नयाँ पार्टी खोलेका थिए ।
लिङ्देनसँग पराजित भएपछि थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाएका थिए ।
‘राजसंस्था बोकेर हिंडेको पुरस्कार पाइयो, राजाको भलो होस्’ भनेर उनी राप्रपाबाट अलग भएका थिए ।
यो घटनाका कारण केही वर्ष एकअर्काका प्रतिद्वन्द्वी जस्ता देखिएका थापा र लिङ्देन राजासंस्थाको पक्षमा गतिविधि हुन थालेपछि नजिकिएका छन् ।
सोही क्रममा उनीहरु आज एउटै मञ्चमा देखिए ।
उक्त सभालाई सम्बोधन गर्दै लिङ्देनले भनेका छन्, ‘सबै देशभक्त शक्तिहरूलाई सबै प्रकारका आग्रह पूर्वाग्रह त्यागेर देशलाई निकास दिन अघि बढौं । यो कार्यका लागि राप्रपा सधैं तयार छ ।’
उनले सबैसँग मिलेर काम गर्न राप्रपा तयार भएको पनि बताए ।
‘सबै काम गर्न, सबैसँग मिलेर काम गर्न राप्रपा तयार छ । यसमा कुनै द्वीविधा छैन । म यो कुरा मात्रै भन्न चाहन्छु,’ लिङ्देनले भने, ‘अहिले सिंगो दशले हामीलाई आशाको नजरले हेरिरहेको छ । त्यसकारण सबै देशभक्त शक्तिहरूलाई सबै प्रकारका आग्रह पूर्वाग्रह त्यागेर देशलाई निकाश दिन अघि बढौं ।’
लिङ्देनले आफूलाई आमन्त्रण गरेकोमा थापालाई धन्यवाद पनि दिए ।
देश विशिष्ट परिस्थितिबीच अगाडि बढिरहेको उल्लेख गर्दै लिङ्देनले देश सबैभन्दा अप्ठेरो परिस्थितिबाट गुज्रिरहेको बताए ।
‘अहिले हाम्रो आँखाले हेर्दा सबै कुरा ठिकठाक देखिरहेको छ । देश हाम्रो समयकै सबैभन्दा अप्ठेरो अवस्थामा चलिरहेको छ । भ्रष्टाचार र कुशासनले मात्रै आक्रान्त छैन,’ लिङ्देनले भने, ‘हाम्रो भावि सन्ततिको भविष्य समेत अन्यौलग्रस्त बन्दै गइरहेको छ । यस्तो बेलामा सबै देशभक्त र राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउन जरुरी छ ।’
अहिले प्रजातन्त्र र लोकतन्त्रको नाममा देशमा लुटतन्त्र र निरंकुशता भइरहेको उनको भनाइ थियो । ‘त्यसको अन्त्यका लागि हामी बाहेक अर्को कुनै विकल्प र शक्ति छैन । अहिले सिंगो दशले हामीलाई आशाको नजरले हेरिरहेको छ ।’
प्रतिक्रिया 4