
१५ वैशाख, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले राष्ट्रिय टोलीका ६ जना क्रिकेट खेलाडीलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
कम्पनीले हालै १० लाख घरपरिवारमा इन्टरनेट जडान गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको अवसरमा यस्तो घोषणा गरेको हो ।
नयाँ ब्रान्ड एम्बेसडरहरूमा राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अनिलकुमार साह र ललित राजवंशी छन् ।
खेलाडीहरूले वर्ल्डलिंकको डिजिटल सशक्तीकरण अभियान र नेपाली राष्ट्रिय गौरवसँग जोडिएको यात्रामा सँगै अघि बढ्ने प्रतिबद्धता जनाएको कम्पनीले जनाएको छ ।
सम्झौतामा वर्ल्डलिंकका तर्फबाट सहसंस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले हस्ताक्षर गरेका छन् ।
नेपालमा पहिलोपटक एउटै कम्पनीले एकैसाथ ६ जना ब्रान्ड एम्बेसडर अनुबन्धन गर्ने ऐतिहासिक कार्य वर्ल्डलिंकले गरेको हो, जसले कम्पनीको खेलप्रतिको समर्पण, राष्ट्रिय गौरव र सामुदायिक विकासमा रहेको प्रतिबद्धता स्पष्ट रूपमा देखाउने कम्पनीले जनाएको छ ।
समारोहमा कार्यकारी निर्देशक अग्रवालले किक्रेटरलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए । ‘६ जना क्रिकेट खेलाडीहरू प्रतिबद्धता, धैर्य, टिमवर्क र अदम्य राष्ट्रिय भावनाका प्रतीक हुन्, जुन गुण वर्ल्डलिंकको दृष्टिकोण र मूल्यसँग पूर्णरूपमा मेल खान्छ,’ उनले भने, ‘उहाँहरूले लाखौं नेपालीको सपना र आकांक्षाको प्रतिनिधित्व गर्नुहुन्छ र उहाँहरूलाई वर्ल्डलिंक परिवारमा स्वागत गर्न पाउँदा हामी गर्वित छौं ।’
यस सहकार्यले ब्रान्डलाई थप ऊर्जावान बनाउने र देशका विभिन्न भागमा रहेका समुदायसँग सम्बन्ध अझ गाढा बनाउने उनको भनाइ छ ।
यस्तै सीईओ नेपालले वर्ल्डलिंकले खेलकुदलाई समर्थन गर्दै आएको बताए । ‘नेपालमा क्रिकेटप्रतिको माया दिनप्रतिदिन बढ्दो छ । वर्ल्डलिंक सधैं खेलकुदलाई समर्थन गर्दै नयाँ प्रतिभालाई अघि ल्याउन समर्पित रहँदै आएको छ,’ उनले भने, ‘गत वर्ष हामीले ‘िबट द स्पिड अभियान सुरु गर्यौं, जसले नेपालभित्र लुकेका तीव्र गतिका बलरहरूलाई खोज्ने प्रयत्न गर्यो र हामी गर्वका साथ घोषणा गर्छौं कि यसको दोस्रो सिजन चाँडै नै आउने छ ।’
यो सहकार्य केवल ब्रान्ड प्रवर्द्धन नभएर जनताको भावना र गौरवसँग जोडिएको उनी बताउँछन् ।
सन् १९९५ मा स्थापना भएको वर्ल्डलिंक नेपालकै सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक हो । देशभर १० लाखभन्दा बढी घरपरिवारमा इन्टरनेट सेवा पुर्याउँदै आएको यस कम्पनीले उच्च गतिको ब्रोडब्यान्ड र व्यावसायिक सेवा ७७ जिल्लामा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया 4