
१५ वैशाख, काठमाडौं । सगरमाथा क्षेत्रमा तोकिएको सर्तबाहेक अवस्थामा हेलिकप्टर उडान नगर्न खुम्बु पासाङल्हामु गाउँपालिकाले पुनः चेतावनी दिएको छ ।
अहिले सगरमाथा र आसपास रहेका हिमालमा पर्वतारोहणको मुख्य मौसम जारी छ । गाउँपालिकाले सन् २०२५ सुरुवातबाटै हेलिकप्टरको व्यावसायिक उडान उक्त गाउँपालिकाभित्र निषेध गरिएको स्मरण गराउँदै यो नियम संशोधन नभएको स्पष्ट पारेको छ ।
सगरमाथा क्षेत्रमा (लुक्लाभन्दा माथि) हेलिकप्टर उडानका लागि गाउँपालिकाले सर्त राखेको छ । सर्त अनुसार यस क्षेत्रमा उद्धार उडान (रेस्क्यु फ्लाइट) गर्न पाइने छ ।
उडान स्थलमा रहेको स्वास्थ्य संस्थाबाट सिफारिस प्राप्त भई अन्यत्र ‘होल्ड’ नगरी सिधै स्वास्थ्य संस्थामा लैजानुपर्ने वास्तविक रेस्क्यु उडानलाई मात्र यस्तो अनुमति दिइने गाउँपालिकाले स्पष्ट पारेको छ ।
कार्गो फ्लाइट अन्तर्गत पर्वतारोहीका सामान लिएर आएको हेलिकप्टरलाई पाङबोचेसम्म र अनुमति लिएर गरिने अन्य उडान भने गर्न पाइने गाउँपालिकाले स्पष्ट पारेको छ ।
यसबाहेक ४ हजार ३ सय मिटरभन्दा कम उचाइमा ‘वान टच’ मात्र अवतरण गर्ने गरी हुने माउन्टेन फ्लाइटलाई समेत गाउँपालिकाले अनुमति दिएको छ ।
यस अवस्थामा बाहेक सबै व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाइएको छ । नियम उल्लंघन गरी हेलिकप्टर उडान गर्ने र त्यसबाट कुनै परिस्थिति सिर्जना भए हेलिकप्टर व्यवसायी, पर्यटन व्यवसायी र प्याकेज खरिद गर्ने पर्यटक स्वयं जिम्मेवार हुनेसमेत गाउँपालिकाले चेतावनी दिएको छ ।
यस्तो प्याकेज खरिद बिक्री नगर्न समेत गाउँपालिकाले सचेत गराएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाभित्रको वन, वातावरण, जैविक विविधता स्थानीय व्यापार र पर्यटन व्यवसायमा नकारात्मक असर परेको भन्दै स्थानीय सरकारले यहाँ व्यावसायिक हेलिकप्टर उडानमा निषेध गरेको हो ।
प्रतिक्रिया 4